हिउँदमा काठमाडौंको हावा सासै फेर्न नहुने गरी बिखालु हुनथालेको केही वर्ष भइसक्यो । सरकार र सचेत नागरिक सबैलाई यहाँको हावामा सास फेर्दा ज्यानै जानसक्ने रोग लाग्ने जोखिम छ भन्ने पनि थाहा छ । तर, बर्सेनि काठमाडौं उपत्यकाको हावा थप प्रदूषित हुँदैगएको छ । यसरी हावालाई सासै फेर्न नसकिने गरी बिखालु बनाउने भने सरकार र नागरिकहरु नै हुन् । यसैले होला बेलाबखत काठमाडौंको प्रदूषणविरुद्ध जनस्तरमा चेतना जगाउने र दबाब दिने शैलीका कार्यक्रम हुनेगरेका छन् । केही साता यता सचेत नागरिकहरुले जनचेतनाका लागि सञ्चालन गरेको स्वच्छ हावा अभियान यही शृंखलाको एउटा कडी हो । यही क्रममा नेपाली समाजका अग्रज स्वनामधन्य अग्रजहरूसँग गरिएको संवाद कार्यक्रममा उनीहरूले प्रदूषण फैलाउन सरकारी संयन्त्रमा व्याप्त भ्रष्टाचार, नागरिकहरूको गैरजिम्मेवार प्रवृत्ति तथा केह ीगर्न आफू अग्रसर नहुने प्रवृ्िरत्तलाई दोषी ठानेका थिए ।
काठमाडौं उपत्यकामा विकासका नाममा गरिएका भौतिक निर्माणको काममा प्रदूषणको पक्षलाई उपेक्षा गर्दा हावामा धुलो फैलिएको हो । धुलो फैलाउन निजी क्षेत्र पनि उत्तिकै दोषी छ । न निर्माण कम्पनीहरूले सडक वा भवन निर्माण गर्दा हावामा धुलो मिसाउनु हुँदैन भन्ने ठानेका हुन्छन् न निजी घर बनाउनेहरूले नै वास्ता गर्छन् । धुवाँका हकमा पनि यस्तै हो । एकातिर, सवारी साधनले फैलाउने प्रदूषण नियन्त्रण गर्न सरकार गम्भीर छैन भने अर्कातिर व्यक्तिहरू पनि प्रदूषणले सास फेर्ने हावा बिखालु बनाएको जान्दाजान्दै घुस खुवाएर सवारी जाँच पास गराउन धक मान्दैनन् । यस्तै, सडक र घरमा थुपारिएको फोहोर बाल्दा पनि हावा थप बिखालु हुन्छ । तर, कतिपयलाई प्लास्टिक बाल्नु स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ भन्नेसम्म थाहा छैन भने होटल, अस्पताल, ब्यारेकजस्ता ठाउँबाट उत्पन्न हुने फोहोर बाल्दा निस्कने धुवाँले हावामा विष मिसाउँछ भन्ने थाहा पाउँदापाउँदै पनि सस्तो र सजिलो उपायका रूपमा अपनाइँदै आएको छ । अर्थात्, जान्ने र सक्नेहरूले पनि प्रदूषण बढाएर काठमाडौंको हावालाई सासै फेर्न नहुने बनाउँदै आएका छन् ।
हुनत, शासकहरुले पनि सास फेर्ने त यहीँको हावामा हो । ट्राफिक नियम मिचेर सडकमा सर्वसाधारण जाममा पर्दा पनि हुँइकिएर गएजस्तै वा सामान्य रोग लाग्दा पनि राज्यको ढुकुटीबाट करोडौं रुपियाँ ल्टेर विदेशमा उपचार गराउएजस्तै जनताको भागको स्वच्छ हावा खिचेर लिने सामथ्र्य अहिलेसम्म शासकहरूले पनि आर्जेका छैनन् । शासकहरूले सन्तान र बाबुआमालाई अन्यत्रै लगेर राख्न सक्लान् तर उनीहरू त यहीँ बस्नुपर्छ । यति हुँदाहुँदै पनि सरकार चलाउनेहरूले स्वच्छ हावा, पानीजस्ता बाँच्नैका लागि नभइनहुने र सबैलाई चाहिने वस्तु जोगाउनसमेत बेवास्ता गर्नेगरेका छन् । जनस्तरबाट सञ्चालन गर्ने कुनै पनि अभियानलाई आफ्नो कुर्सी हल्लाउँदासम्म शासकहरूले वास्तै गर्दैनन् । यसैले स्वच्छ हावाका लागि चलाइएका अभियानहरू अहिलेसम्म अरण्यरोदन सिद्ध भएका हुन् ।
अब नागरिकस्तरबाट सञ्चालन गरिने अभियानहरूको रणनीति परिवर्तन गरिनु आवश्यक छ । एकातिर, स्थानीय सरकारहरूलाई स्थानीय स्तरबाटै दबाब सिर्जना गर्नुपर्छ । जनस्तर चेतना जगाउने कार्यक्रम पनि उत्तिकै आवश्यक देखिन्छ भने संगठित क्षेत्रबाट निस्कने धुवाँ र धुलो नियन्त्रण गर्न आवश्यक परे दबाबमूलक प्रदर्शन गर्नुपर्ने देखिन्छ । स्वच्छ हावामा सास फेर्ने चाहना छ भने त्यसका लागि संघर्ष गर्ने अठोट पनि गर्नुपर्छ । सरकारी संयन्त्रको भ्रष्टाचारमात्र नियन्त्रण भए पनि हावामा मिसिने धुवाँ र धुलो धेरै कम हुनेछ । यसका लागि आवश्यकता छ जनउत्तरदायी शासन र सचेत नागरिक अभियानको ।