site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुवासको सुवास
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


नदी वेगवान हुन्छ । त्यसैले नदीले सधैं नयाँ गन्तव्य देख्छ । बाटोमा भेटिने कीटपतंगदेखि मूल्यवान धातु लिएर हिँड्छ ।

ताल स्थिर हुन्छ । त्यसैले यो जमिरहन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सुवास ढकाल कहिल्यै तालझैं जमेर बसेनन् । नदीझैं वेगवान भएर आफ्नो सुवास फिँजाउँदै हिँडिरहे ।

नेपाली पत्रकारितामा बेग्लै विषय, बेग्लै सज्जा र बेग्लै आँट बोकेर उदाएको ‘कान्तिपुर साप्ताहिक’को रूपरेखा कोरेदेखि अहिलेसम्म उनी उस्तै नदीझैं नयाँ–नयाँ गन्तव्य पहिल्याउँदै हिँडिरहेका छन् । भर्खर खुल्दै गरेको समाजलाई उनले यस्ता विषयवस्तु दिए, जसको चर्चा अहिलेसम्म कतै न कतै भइरहन्छ ।

Global Ime bank

राजनीतिदेखि मनोरञ्जनसम्म, कवितादेखि विज्ञानसम्म र अन्तर्वार्तादेखि यौन शिक्षासम्म पस्किने पत्रकार हुन् सुवास । गणेशमानदेखि रेखा थापासम्म अन्तर्वार्ता लिएका, मूलधारे राजनीतिक विश्लेषणदेखि सेलिब्रिटी गसिपसम्म लेखेका र कहिले प्रशंसा, कहिले गाली भोगेका पत्रकार हुन् सुवास ।

यी उनै सुवास हुन्, जो ‘साप्ताहिक’ले टिनएज पार गरेर २२ वर्षे लक्का जवान भइसक्दा पनि उत्तिकै तन्नेरी र जोशिला देखिन्छन् । सितिमिति तिथिमिति सम्झिन नसक्ने सुवासको स्मृतिमा त्यस्ता केही घटना छन्, जो कहिल्यै बिर्सन सक्दैनन् । त्यस्तै एउटा स्मृतिबाट उनले कुराकानीको पोयो फुकाए––


बीपीसँगको भेट

भारतबाट बीपी कोइराला फर्किएका थिए । राजासँग पनि टक्कर लिने व्यक्तित्व, सबैले मान्ने भएकाले उनलाई आमनेसामने भएर हेर्ने रहर थियो । बीपी विराटजनगर जाने भएपछि उनलाई हेर्ने सुवासको रहर पूरा हुँदै थियो । सुवासलगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता बीपीलाई स्वागत गर्न विराटनगर विमानस्थलमा पुष्पगुच्छा र कांग्रेसको झन्डा लिएर बसेका थिए । कांग्रेस कार्यकर्तासँगै बीपीका शुभचिन्तक र शुभेच्छुकहरूको बिहानैदेखि ठूलो भीड थियो । पञ्चायती निर्दलीय व्यवस्था थियो । सरकार कांग्रेस र एमालेलाई दबाएर राख्न खोज्थ्यो । तर, उनीहरू विरोध गरिरहेका थिए ।

बीपी चढेको विमान आउने बेला भएको थियो । एकाएक माहोल फेरियो । सरकारले गाडीका गाडी पञ्चायत समर्थकलाई विमानस्थलभित्र ओसा¥यो । विमानस्थलमा कालो झन्डा बोकेका ‘मण्डले’हरू भरिए । विमान त आयो तर हातहातमा कालो झन्डा बोकेर बसेका पञ्चायती समर्थक देखेपछि विमान अवनरण नगरी फर्कियो । समर्थक र शुभेच्छुकका हातहातमा फूल ओइलाए । कांग्रेसको झन्डा फहराउन पाएन । कालो झन्डाधारी ‘मण्डले’कै जित भयो ।

आफ्ना नेतालाई स्वागत गर्न नपाएका कांग्रेस नेता तथा कार्यकर्ता जुलुससहित फर्किए । जुलुसले राजा वीरेन्द्रको विरोध गर्दै ‘वीरे चोर, देश छोड्’ जस्ता आक्रोशित नारा लगाइरहेको थियो । विराटनगरको पानीट्यांकीमा पुगेर कोणसभामा परिणत भएको जुलुसलाई नेविसंघका तत्कालीन नेता प्रदीप खतिवडाले सम्बोधन गर्दै चर्को भाषण गरे । एक प्रहरीले एकपटक तिर्ररर सिठ्ठी बजाएका मात्र के थिए, प्रहरीले एक्कासि लाठीचार्ज शुरु गर्‍यो । जुलुसमा भागदौड मच्चियो । प्रहरीले सुवासलाई लखेटी–लखेटी पाँच लौरो हान्यो । शरीरमा मात्रै लागेकाले २–४ दिनमै घाउ ठीक भयो । “टाउकोमा लागेको भए जे पनि हुन्थ्यो,” ४१ वर्षपछि सम्झिँदै सुवासले भने, “धन्न अञ्चलाधीश नरम भएकाले कम्तीमा त्यो भीडमा गोली चलेन । गोली चलेको भए कैयौंको ज्यान जाने थियो ।” 

सुवाससँगै नेविसंघमा त्यो बेला सक्रिय थिए– विजयकुमार गच्छदार, महेश आचार्यलगायतका नेताहरू । 

बीपीलाई हेर्ने रहर रहरमै सीमित भयो । उनी आकाशबाटै काठमाडौं फर्किए । सुवास शरीरभरि लौरोको डाम बोकेर घर फर्किए ।

पाँच महिनापछि बीपी विराटनगर पुगे । बीपीलाई भेट्न सुवासलगायत नेविसंघका नेताहरू कोइराला निवास पुगे । त्यही समूहमा कांग्रेस नेता अमृत अर्याल पनि थिए ।

बीपी त सुवासलाई ‘अमेजिङ’ लागे । उमेर ढल्किसके पनि अनुहार तेजिलो थियो । गोरो वर्ण, सेता लामा हातगोडा, राजनीतिक लडाइँ जितिन्छ भन्ने दृढ  आत्मविश्वासले भरिपूर्ण । आफूप्रति जोकसैलाई पनि आकर्षित गर्न सक्ने व्यक्तित्व थियो उनको ।

“स्वर भने अलि बिग्रिसकेको थियो । थोरै नबुझिने भइसकेको थियो,” सुवास बीपीलाई सम्झन थाले, “त्यो पहिलो भेटमा हामीलाई उहाँले प्रजातन्त्र प्राप्तिका लागि युवाले खेल्न सक्ने भूमिकाका बारेमा बताउनुभयो । ठ्याक्कै के भन्नुभएको थियो, वाक्य नै त लामो समय भएकाले सम्झिन सक्दिनँ ।” १४ वर्षका सुवास कक्षा ९ मा पढ्थे । प्रहरी दमन र बीपीसँगको भेटले झन् उत्साह थपेको थियो ।

राजाको हुकुमी शासन थियो । मानवअधिकार उल्लंघनका घटना भइरहन्थे । जनताको आवाज दमित थियो । जनता आँखा चिम्लिरहेका थिए । राज्यको ज्याजतीविरुद्ध खबरदारी आवश्यक थियो । ऋषिकेश शाहलगायतको सक्रियता र पहलमा सुवासलगायत १९० जनाले मानवअधिार संगठन गठन गरे । मानवअधिकार आवाज मुखरित गर्ने उक्त संगठनका सुवास संस्थापक हुन् ।

राजनीतिक रूपमा सुवास सचेत थिए । जनताको आवाज बन्दप्रायः रहेका बेला पढेलेखेका व्यक्ति चुप बस्नु हुँदैन भन्ने उनको मान्यता थियो । त्यसैले उनी मानवअधिकार शान्ति समाजको महासचिव भए । अधिकारका लागि निरन्तर लडिरहे । सुवासले आफूलाई यत्तिमै पनि सीमित राख्न चाहेनन् । सुशासन र भ्रष्टाचारविरोधी अभियामा पनि आफूलाई उभ्याए– एमनेस्टी इन्टरनेसनलमा आबद्ध भएर ।


बहुदलको हार र पत्रकारिताको यात्रा 

साहित्यमा रुचि थियो । सुवास कविता कोर्थे । उनका कविताले बहुदलको वकालत गर्थे । ०३६ मा जनमत संग्रह घोषणा भयो । सुवास बहुदलको पक्षमा प्रचार गर्न थाले ।

काठमाडौंबाट अग्रज साहित्यकारहरु अशेष मल्ल, हरिभक्त कटुवाललगायतले बहुदलका पक्षमा ‘सडक कविता क्रान्ति’ नामक अभियान चलाए । पूर्व–पश्चिम राजमार्ग हुँदै त्यो अभियान पूर्वको शहर विराटनगरमा पनि पुग्यो । चोकचोकमा कविता सुनाउँदै हिँड्थे । 

त्यहीँका स्थानीय साहित्यकार मिलेर शनिबार साहित्य समूह गठन गरे । त्यसले पनि साहित्यमार्फत बहुदलको प्रचार गथ्र्यो । यसले उनलाई साहित्यमा थप सक्रिय बनायो । साहित्यप्रति गहिरो रुचि बसाइदियो ।

मोरङ नेविसंघका जिल्ला सचिव भएका सुवास महेन्द्र मोरङ क्याम्पसको एकाइ उपाध्यक्षसमेत भइसकेका थिए । एकातिर पढाइ, अर्कोतिर राजनीति । उनले सँगसँगै अगाडि बढाइरहेका थिए ।

राजनीतिक चेत भएकाले पनि सुवास त्यो बेला स्थानीय पत्रिका ‘कोशेली’ र ‘सन्देश’मा समाचार लेख्न थालेका थिए ।

बहुदल हार्‍यो । पञ्चायत हराउन लागेका युवामा निराशा छायो । राजनीति शून्यजस्तै भएको थियो । राजनीतिक दलका पार्टी कार्यालयमा चरोमुसो हुँदैनथे । राजनीतिमा रहेका युवाहरू विकल्प खोजिरहेका थिए । तत्कालीन सत्ताको विरोध गर्नु चानचुने कुरा थिएन । त्यसैले पनि पलायन हुनेको संख्या बढेको थियो ।

त्यही बेला काठमाडौंबाट किशोर नेपालले ‘देशान्तर’ पत्रिका प्रकाशन गर्ने भए । शैलेश आचार्यले किशोरसँग चिनाइदिए । किशोरले सुवासलाई ‘देशान्तर’को मोरङ संवाददातामा नियुक्त गरे ।

सुवाससँग साइकल थियो । साइकल चढेर महेन्द्र मोरङ क्याम्पस जान्थे । बाटैमा थियो, महेन्द्र चोक । त्यो चोक राजनीतिक व्यक्तिहरू भेटिने र समसामयिक राजनीतिमा छलफल गर्ने मुकाम थियो । मनमोहन अधिकारी विराटनगर गएका बेला सधैं त्यहीँ भेटिन्थे । त्यहीँ चिनेका हुन् उनले मनमोहनलाई पहिलोपटक । कृष्ण पहाडीलगायतका व्यक्तिहरू भेला हुन्थे । राजनीतिक गफ गर्थे । सुवासको एकातिर राजनीतिक चिनजान बढ्दै थियो, अर्कोतर्फ समाचारका लागि स्रोत थियो । त्यो बेलासम्म उनी धेरै पत्रकार, थोरै सामाजिक कार्यकर्ता थिए ।


गृहमन्त्रीको धन्यवाद

झापा र भारतको सीमानजिकै रहेको बागडौरामा सैन्य अभ्यास हुन्थ्यो । अभ्यासका क्रममा भारतीय सेनाका लडाकु विमान नेपाली आकाशमा आउँथे । तर, न प्रशासन बोल्थ्यो न कुनै पत्रिकाले समाचार लेख्थ्यो । सुवासलाई चित्त बुझेन । उनले सैन्य तथा सीमाविज्ञ र अन्तर्राष्ट्रिय सैन्य अभ्यास र त्यसको नियमबारे विज्ञहरूसँग कुरा गरेर समाचार लेखे । ‘देशान्तर’मा पठाए । मुख्य समाचार भएर छापियो । नेपाली भूमिमा भारतीय सेनाको लडाकु विमान निर्विवाद उडिरहेको त्यो पहिलो समाचार थियो ।

सुवास काठमाडौं आएपछि तत्कालीन गृहमन्त्री निरञ्जन थापाले बोलाएर धन्दवाद दिँदै भने, “तपाइँले राष्ट्र र राष्ट्रियताका पक्षमा काम गर्नुभयो ।”

समाचारमा कडा तर व्यक्तिगत रूपमा निकै नरम सुवासलाई समाचार लेखेकै भरमा थुप्रै धम्की आए । तर, यसरी आउने धम्कीलाई उनी सामान्य रूपमा लिन्छन् । पत्रकारको कामै भ्रष्टाचार, कुशासन, अपराधसम्बन्धी समाचार सार्वजनिक गर्ने भएकाले शुरुमै ‘थ्रेट’का लागि तयार भएर बस्नुपर्ने उनको विचार छ । “यसमा रोइकराइ गर्नुभन्दा आफ्नो पेशाको प्रकृति हेर्नु जरुरी छ,” पत्रकार महासंघ मोरङको अध्यक्ष र केन्द्रीय उपाध्यक्ष पनि भएका सुवास भन्छन्, “पहिला आफू सुरक्षित हुनुपर्छ । आफ्नो कामप्रति इमान्दार हुनुपर्छ । कसैसँग डराउनै पर्दैन ।”

विराटनगरबाट समाचार पठाउने सुवास राष्ट्रिय पञ्चात बसेका बेला त्यसको रिपोर्टिङ गर्न काठमाडौं आउँथे । दुई–तीन महिना बस्ने राष्ट्रिय पञ्चायत अवधिभर उनी ढुक्कै काठमाडौं बसेर रिपोर्टिङ गर्थे ।


काठमाडौंको पत्रकारिता 

०४७ सालमा सुवास काठामाडौं छिरे । राजनीतिक दलभित्रको गुटबन्दी अखबारमा देखिन थालेको थियो । ‘देशान्तर’ त्यसको शिकार भयो । ‘देशान्तर’ फुटेर ‘स्वतन्त्रता’ जन्मियो । ‘स्वतन्त्रता’ फुटेर ‘जनस्वतन्त्रता’ निस्कियो ।

किशोर नेपाल ‘कान्तिपुर दैनिक’ पुगेका थिए । उनले नयाँ पुस्तालाई लक्षित गर्दै नयाँ खालको पत्रिका प्रकाशनको प्रस्ताव राखे । ढिलै भए पनि उनको प्रस्ताव व्यवस्थापनले सुनुवाइ गर्‍यो । किशोरले सुवासलाई युवाकेन्द्रित विषय समेटिएको पत्रिका डिजाइन गर्न अह्राए । र, २०५२ वैशाखमा सुवासले ‘साप्ताहिक’को डिजाइन गरे ।

पञ्चायती व्यवस्था अन्त्य भइसकेको थियो । मुलुक खुलाबजारमा प्रवेश गरिसकेको थियो । युवा पाठकले पत्रपत्रिकामा राजनीतिभन्दा फरक विषय खोजिरहेका थिए । सबैजसो सञ्चारमाध्यम राजनीतिक वृत्तवरिपरि मात्रै घुमिरहेका थिए । मनोरञ्जन, शिक्षा, प्रविधि, विज्ञान, रोेजगारी र यौनको ज्ञान दिने पत्रिका थिएनन् । यी सबै विषयलाई समेटेर सुवासले पत्रिकाको खाका तयार पारे । पहिलो नमुना अंक पाठकले रुचाए । “दोस्रो अंकबाट उकालो लागेको साप्ताहिकको सर्कुलेसन आजसम्म उकालो चढिरहेको छ । सर्कुलेसनको ग्राफलाई लिएर मैले दोस्रो अंकदेखि आजसम्म व्यवस्थापकको कम्प्लेन सुन्नु परेको छैन,” सुवास खुले । 

सुरुमा मध्यपृष्ठको ब्लोअप एक पेजमात्रै थियो । मुख्य पृष्ठको रिपोर्ट राजनीति नै हुन्थ्यो । बिस्तारै पाठकलाई नयाँ विषयवस्तु र प्रस्तुतिमा बानी पार्दै सुवासले ब्लोअपलाई दुई पृष्ठमा फैलाए । प्रथम पृष्ठबाट राजनीतिलाई हटाए ।

सुरुमा प्रिन्टलाइनमा नाम नभए पनि सम्पादकीय सबै काम सुवास नै गर्थे पृष्ठभूमिमा बसेर । चार वर्षपछि उनले सम्पादकको नियुक्ति लिए, प्रिन्टलाइनमा नाम लेखाए ।

समय भर्खरै खुल्दै थियो । पाठक युवामात्रै थिएनन् । यौन शिक्षा सबै पचाउन सक्ने थिएनन् । मान्छे पत्रिका सुरुदेखि अन्तिम पृष्ठसम्म आँखा नउठाई पढ्थे । पढिसकेर ‘अश्लील भयो, छोराछोरी बिगार्ने भयो’ भन्थे । फेरि त्यही व्यक्ति अर्को हप्ता पनि ‘साप्ताहिक’ किनेर पढ्थ्यो ।

“प्रतिक्रिया मिश्रित आउँथे । कोही राम्रो छ भन्थे, कोही पत्रिका घर लिएर जान सकिँदैन भन्थे,” सुवास ‘साप्ताहिक’का सुरुका दिनतिर फर्किए, “तर पत्रिकाको बिक्री बढेको बढ्यै थियो, यसले पत्रिका झन् लोकप्रिय भइरहेको जनाउँथ्यो । त्यसले एकाध नकारात्मक प्रतिक्रियालाई नजरअन्दाज गर्न बल नै पुर्‍याउँथ्यो ।”

पत्रिकामा शिक्षाका कुरा आउँथे । कहाँ कुन विषय कतिमा पढ्न पाइन्छ भन्ने समाचार हुन्थे । रोजगारीका लागि कहाँ कसरी जाने भन्ने सामग्री हुन्थे । विज्ञान र प्रविधिका रोचक कुरा छापिन्थे । यौनमनोविज्ञान र स्वास्थ्यका कुरा हुन्थे । त्योभन्दा पनि धेरै इन्टरनेट नभएको र पहुँच नपुगेको समयमा मनोरञ्जनका देशीविदेशी समाचार छापिन्थे । सुवासको शिर्जनशीलता पत्रिकामा देखिरहेको थियो ।

साप्ताहिकमा यौनमनोविश्लेषक अरुणा कुँवरले एउटा लेख लेखिन्, “नेपालीलाई सेक्स गर्न आउँदैन ।”

त्यसको धेरैले विरोध गरे । “तर, यतिका वर्ष बितिसक्दा पनि त्यो लेख अहिलेसम्म थुप्रै अनलाइनहरूले छापिरहेका छन् । त्यो पढिन्छ र न खोजीखोजी अपलोड गरिरहेका छन्,” सुवास भन्छन्, “बाहिर–बाहिर विरोध गर्नुको कुनै अर्थ छैन । हामीले जुन समयमा भेराइटीसहितको फरक कन्सेप्टमा पत्रिका प्रकाशन गर्‍यौं, त्यही खालका पत्रिका अहिले पनि निस्किरहेका छन् । यसको अर्थ हामी गलत थिएनौं र छैनौं ।”


गसिप र सेलिब्रिटी 

समय, शक्ति र पैसा संसारकै सबैभन्दा बलवान चिज हुन् । यसका पछाडि मान्छे हात धोएर लाग्छन् । चाहे लाज पचाएर होस् या जोगाएर । मनोरञ्जनका लागि ‘साप्ताहिक’ हब नै बनेको थियो । दुई लाइन समाचारका लागि कलाकारहरु हप्तौं धाउँथे ।

“कति यस्ता सेलिब्रिटी पनि हुनुहुन्थ्यो, जो प्रत्येक हप्ता आफ्नो समाचार ‘साप्ताहिक’मा छापियोस् भन्ने चाहनाले मसँग सम्पर्कमा बस्न रुचाउनुहुन्थ्यो । उहाँहरूले जसरी भए पनि पत्रकारलाई प्रभावमा पार्न खोज्नुहुन्थ्यो । यसबाट हामी सधैं सचेत रह्यौं,” सुवास भन्छन् ।

कृष्णप्रसाद भट्टराईदेखि मनमोहनसम्म तत्कालीन अधिकांश राजनीतिक हस्तीका एकसेएक अन्तर्वार्ता र समाचार लेखेका सुवासलाई तिनले भन्दा कतिपटक त सेलिब्रिटीका गसिपले टाउको दुखाइदियो । 

मनोरञ्जनप्रधान पत्रिका, गसिप लेख्नै पर्‍यो । छाप्थे सुवास ।

रेखा थापाले एउटा अर्कै सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदा भनेकी थिइन्, “साथीहरुसँग बसेर पोर्न फिल्म हेर्छु ।”

‘साप्ताहिक’का पत्रकारले त्यसलाई गसिप बनाए ।

गसिपको अन्तिम एक लाइन थियो, “... रेखा थापाको साथी हुन मन छ ।”

गसिप छापियो । रेखाले सुवासलाई फोन गरिन् । अफिस आइन् । गसिपप्रति आपत्ति जनाइन् । सुवासले उनलाई सम्झाए । अन्तिममा कुरा मिल्यो । 

गसिपको प्रसंग आयो । रेखा उहाहरण बनिन् । तर उनी एक्लो पात्र होइनन्, जो यस्ता गसिपलाई लिएर आपत्ति जनाउँछन् ।

“थुप्रै सेलिब्रिटी छन्, जो समाचार र गसिप के हो भन्ने छुट्याउन सक्दैनन् । थुप्रैले आपत्ति जनाउँछन् । नाम नलिऊँ, लिए अधिकांशको नाम आउँछ । समाचार र गसिपबारे पनि हामीले उहाँहरूलाई बुझाएका छौं,” सुवास खुल्दै जान्छन्, “यही चलचित्र उद्योग हो, जहाँ ३६४ दिन हराउने हिरो, हिरोइन, निर्देशक र निर्माता आफ्नो चलचित्र लाग्ने एक दिन हात धोएर पत्रकारको पछि लाग्छन् । यस्ता सयौं मसँग संगत गर्न आइपुगेका छन् ।”


अहिलेको पत्रकारिता

गिद्धे प्रेसबाट सुरु भएको नेपाली छापा पत्रकारिताको अनुभव सुवासले पनि लिए । उनका सुरुवात यस्तै लेटर प्रेसबाट भयो । हातले अक्षर–अक्षर मिलाएर छाप्नु पथ्र्यो । अहिलेको पुस्तालाई पो त्यो एकादेशको कथा भयो ।

समय एकनास हुँदैन । पत्रकारितामा प्रविधिले क्रान्ति ल्याइदियो । पत्रकारिताले संख्यात्मक फड्को मार्‍यो । तर, सुवासको नजरमा यसले गुणात्मकता भने बढाउन सकेन ।

“कमै पत्रकार क्रिएटिभ भए । एकले अर्कोलाई पछ्याउने चलन बढ्यो । अस्वस्थ प्रतिस्पर्धा भयो । यसले हाम्रो पत्रकारितालाई अगाडि बढाउन सकेन,” यस्तो असन्तुष्टि राख्दै उनी फेरि आफ्नै कालखण्डतिर फर्किए, “अहिले ग्य्राजुएट नभएको पत्रकारलाई मिडिया हाउसले राख्नै छोडे तर हाम्रो पालामा पढेका पत्रकार कमै थिए । नपढेका व्यक्तिको बोलावाला थियो । अन्त कहीँ काम गर्न नसक्ने व्यक्ति मात्रै पत्रकार हुन्छन् भन्ने थियो तर यो बिस्तारै चिरिँदैछ । यो भने सकारात्मक पक्ष हो ।”

सञ्चारमाध्यममै लगानी गर्ने भन्दा पनि अन्य व्यवसायलाई प्राथमिकतामा राखेर सञ्चारमा ‘पनि’ लगानी गर्नेहरूका कारण पत्रकारिताले सोचजस्तो फड्को मार्न नसकेको उनी बताउँछन् । “पत्रकारमै पनि केही समस्या छन्,” उनी थप्छन्, “पत्रकारहरू भ्रष्टाचार र अपराधमा मुछिँदा पनि विश्वसनीयतामा प्रश्न चिन्ह उठिरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १, २०७४  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC