site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लेसिङको लिगेसी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
नारीवादी आन्दोलनको विश्व इतिहासलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ । राजनीतिक, सांस्कृतिक तथा आर्थिक रूपमा पुरुषसरहको अधिकार प्राप्तिका लागि विभिन्न चरणमा महिलाहरू पितृसत्तात्मक समाजसँग लड्दै आए । उन्नाइसौं शताब्दीको अन्तिम र बीसौँ शताब्दीको सुरुवाततिर नारीवादी आन्दोलन सुरु भएको थियो । युरोप–अमेरिकामा पनि महिलाहरूले समाजका विभिन्न संरचनामा पुरुषसरह अधिकार पाएका थिएनन् । बेलायतमा नै सन् १९१८ भन्दा अगाडि महिलाहरूलाई मताधिकारको व्यवस्था थिएन । बेलायतमा महिलाहरूको ‘सफ्राजेट’ आन्दोलनमार्फत् सन् १९१८ मा महिलाहरूका लागि पनि मताधिकारको व्यवस्थाका लागि ऐन बनेको थियो । आफ्नै नाममा घर भएका ३० वर्षभन्दा माथिका महिलाहरूलाई त्यस ऐनमार्फत् मताधिकारको व्यवस्था गरिएको थियो । त्यस्तै, सन् १९२८ पछि भने २१ वर्षभन्दा माथिका सबै महिलाहरूले मत हाल्न पाउने व्यवस्था गरियो । अमेरिकामा पनि सन् १९१९ पछिमात्रै सबै राज्यका महिलाहरूलाई मताधिकारको प्रत्याभूति गरिएको थियो ।
पहिलो चरणको नारी आन्दोलनले राजनीतिक अधिकारका लागि संघर्ष ग¥यो । १९२० को दशकमै भर्जिनिया उल्फलगायत लेखकहरूले महिला अधिकारका पक्षमा लेखे । उल्फको सन् १९२९मा प्रकाशित ‘अ रुम अफ ओन्स ओन’ले नारी स्वतन्त्रताका पक्षमा नै आवाज उठाएको थियो । त्यस्तै, सन् १९६० को दशकमा सुरु भएको दोस्रो चरणको आन्दोलनले समाजमा रहेको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक असमानताविरुद्ध संघर्ष गरे । यस क्रममा थुप्रै महिला अधिकारकर्मी तथा महिला लेखकहरूले यस आन्दोलनलाई समर्थन गरे । मेरी वुल्स्टनक्राफ्टद्वारा सन् १७९२ मा लिखित ‘भिन्डिकेसन अफ द राइट्स अफ विमेन’ महिला आन्दोलनको पहिलो दर्शन थियो । त्यसपछि सीमोन द बोउवारको सन् १९४९ मा प्रकाशित ‘द सेकेन्ड सेक्स’ले महिला आन्दोलनलाई उचाइमा पु¥याउन सहयोग पुग्यो । उनले यस कृतिमार्फत् नारीहरूले समाजमा दाससरह जीवन बिताउनुपरेको र धनी–गरिब, हर जाति र हर देशका महिलाले विभेदको सिकार हुनुपरेको बताइन् । त्यतिमात्रै होइन, साम्यवादी विचारधाराकी बोउवारले साम्यवादबाट समेत यो समस्या सुल्झिन नसक्ने बताएकी थिइन् । त्यति नै बेला सोभियत लेबर क्याम्पमा महिलाहरूमाथि भएको अत्याचारले संसारको ध्यान आकर्षित गरेको थियो ।
महिला आन्दोलनको इतिहासलाई हेर्ने हो भने सन् १९६० र १९७० को दशक महत्वपूर्ण मानिन्छ । यस क्रममा हेलेन सिक्सू, एलेन सोवाल्टर, ग्लोरिया स्टेनिम, सिल्भिया प्लाथलगायत लेखकहरूले नारी अधिकार र स्वतन्त्रताका पक्षमा कलम चलाए । सिक्सूको ‘द न्यूली बर्न वुमेन’ र ‘द लाफ अफ द मेडुसा’ नारी आन्दोलनका पक्षमा लेखिएका महत्वपूर्ण कृति हुन् । आख्यान तथा कवितामार्फत् नारी स्वतन्त्रताका पक्षमा धेरै लेखकहरूले कलम चलाए । सिल्भिया प्लाथको एकमात्र उपन्यास ‘द बेल जार’मा महिलाहरू पुरुषको दाँजोमा कमजोर छन् र उनीहरू हरेक कुरामा पुरुषमाथि निर्भर छन् भन्ने कुरालाई प्रहार गरिएको छ । त्यस्तै, अर्की चर्चित लेखक हुन् डोरिस लेसिङ । सन् १९६२मा प्रकाशित उनको बहुचर्चित उपन्यास ‘द गोल्डेन नोटबुक’लाई महिलाहरूको नोटबुकको संज्ञा दिइएको छ । 
सन् १९१९मा तत्कालिन पर्सिया (हालको इरान) मा जन्मेकी डोरिस लेसिङका आमाबुबा बेलायती थिए । उनका बुबा बैंकका कर्मचारी थिए भने आमा नर्स । सन् १९२५ मा उनका आमाबुवा मकै फार्म हाउस सञ्चालनका लागि दक्षिणी रोडेसिया (हालको जिम्बाब्बे) गए । त्यसै कारणले गर्दा पनि लेसिङले अफ्रिकी समाजलाई नजिकबाट नियाल्ने मौका पाइन् । उनका कृतिहरूमा अफ्रिकी माटोको गन्ध र अफ्रिकी संस्कृतिको झलक पाउन सकिन्छ । ढिलै उमेरमा विद्यालय जान सुरु गरेकी उनको औपचारिक शिक्षा १३ वर्षकै उमेरमा टुंगिएको थियो । उनले स्वअध्ययनमार्फत् नै आफ्नो बौद्धिकताको विकास गरेकी थिइन् । उनको बाल्यकाल सुखद् र दुखद् क्षणको मिश्रण थियो । उनको बाल्यकाल उनका बुबाले विश्वयुद्धमा भोगेका तीता अनुभवहरू सुनेर बितेको थियो । उनका बुबाले युद्धका क्रममा आफ्नो खुट्टा गुमाउन पुगेका थिए भने आमा युद्धमा घाइतेहरूको उपचार गर्दागर्दा मानसिक रूपमा नै दिक्क भइसकेकी थिइन् । उनकी आमामात्रै होइन, लेसिङ आफैं पनि आमाको नर्सिङ पेसाबाट सन्तुष्ट थिइनन् । उनले भनेकी छन्, “घाइतेहरूलाई उपचार गर्नु भनेको नर्कमा काम गर्नुजत्तिकै हो । घाइतेहरू ट्रकमा लोड भएर ल्याइन्थे, केही मरिसकेका हुन्थे । यसले आमालाई तहसनहस बनाएको हुनसक्छ ।” 
उनले आफ्नो अन्तिम पुस्तक ‘अल्फ्रेड एन्ड एमिली’को पहिलो खण्डमा प्रथम विश्वयुद्ध नभएको भए उनका आमाबुबाको जीवन कस्तो हुनसक्थ्यो भन्ने कुरा बताएकी छन्, जुन ‘नोभेला’को रूपमा प्रस्तुत छ । दोस्रो खण्डमा भने उनले आफ्नो आमाबुवाका जीवनीे प्रस्तुत गरेकी छन् ।
अफ्रिका बसाइका क्रममा नै डोरिस लेसिङले आफूलाई एउटा राम्रो पाठकका रूपमा विकास गर्दै थिइन् । त्यस क्रममा उनले चाल्र्स डिकेन्स, वाल्टर स्कट, रुडयार्ड किप्लिङलगायत लेखकहरूका क्लासिकल कृतिहरू पढ्न थालेकी थिइन् । पछि उनले डिएच लरेन्स, लियो टोल्सटोय र दोस्तोएभ्स्कीहरू पनि पढिन् । हरारेमा टेलिफोन अपरेटरको रूपमा काम गरेकी लेसिङले १९ वर्षको उमेरमा रूफ्रयांक विजडमसँग बिहे गरेकी थिइन् । विजडमसँग उनका दुई छोराछोरी छन् । सन् १९३९मा बिहे गरेकी उनले चार वर्षमै विजडमसँग डिभोर्स गरेकी थिइन् । 
त्यसबेलाको समयलाई सम्झँदै उनले आफ्नो आत्मकथामा एउटी बौद्धिक महिलाले सानो बच्चाको हेरचाहमा पूरा दिन बिताउनुभन्दा दिक्दारलाग्दो काम अरु केही नभएको अभिव्यक्ति दिएकी छन् । उनले त्यसपछि सन् १९४५मा गटफ्राइड लेसिङसँग बिहे गरिन् । गटफ्राइड कम्युनिस्ट पार्टीका सदस्य तथा जर्मन शरणार्थी थिए । सन् १९४७ मा उनले आफ्नो पहिलो उपन्यासको पाण्डुलिपि तयार गरिन् । तर, सुरुमा धेरै प्रकाशकले उनको उपन्यास प्रकाशन गर्न अस्वीकार गरेका थिए । सन् १९४९मा गटफ्राइडसँग पनि उनले सम्बन्धबिच्छेद गरी उनी छोरा पिटरसँग लन्डन फर्किन् । सन् १९५० मा उनको पहिलो उपन्यास ‘द ग्रास इज सिंगिङ’ प्रकाशित भएको थियो । यो उपन्यासको प्रकाशनसँगै लेसिङ लेखेरै जीवन निर्वाह गर्न सक्ने स्थितिमा पुगिन् । त्यतिमात्रै होइन, ‘द गोल्डेन नोटबुक’को प्रकाशनपछि त उनी ब्रिटिस लेखकका रूपमा स्थापित नै भइन् ।
‘द ग्रास इज सिंगिङ’मा रंगभेदी समाजको आलोचना गरिएकोले यो उपन्यासले पाठकलाई नै झकझयाएको थियो । यसले उत्तिकै व्यावसायिक सफलता पनि हात पा¥यो । प्रकाशित भएको पाँच महिनामा नै यसको सातौँ संस्करण निकाल्नुपरेको थियो । उपन्यासमा उनले आफ्नो व्यक्तिगत अनुभव, अनुभूति र औपनिवेशिक शक्तिले गरेको अन्याय र अत्याचारको आलोचना गरेकी छन् ।
जोन बर्गर, जोन वसर्बन, बर्टान्ड रसेललगायत वामपन्थी लेखकहरूसँग मिलेर डोरिस लेसिङ आणविक निशस्त्रीकरण अभियानमा संलग्न भइन् । उनले दक्षिण अफ्रिकी सरकारको रंगभेदी नीतिको कडा आलोचना गरेकै कारण उनलाई धेरै वर्षसम्म दक्षिण अफ्रिका प्रवेशमा रोक लगाइएको थियो । सन् १९६२ मा उनको ‘द गोल्डेन नोटबुक’ प्रकाशित भएपछि उनी एकाएक चर्चाको शिखर चुम्न सफल भइन् । यो उपन्यासमा समेटिएका विषयवस्तुका कारण लेसिङलाई नारीवादी मात्रै होइन, साम्यवादी लेखकका रूपमा समेत चित्रण गर्न थालियो । प्रयोगवादी धारको यस उपन्यासले महिलाको जीवनको विभिन्न पक्षलाई समेटेको छ । महिनावारी, यौन सुख, मातृत्व र यौनिक जीवनको बीचमा हुने द्वन्द्वलाई उपन्यासले समेटेको छ ।
‘द गोल्डेन नोटबुक’ले धेरै महिला लेखक तथा पाठकहरूलाई प्रभावित बनाएको थियो । नारी आन्दोलन भर्खर बामे सर्दै गरेको १९६० को दशकमा यस उपन्यासले आन्दोलनलाई मलजल पु¥याउने काम गरेको थियो । यो उपन्यासमा लेसिङले महिलाले भोगेका सांस्कृतिक, सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक अन्तद्र्वन्द्वलाई प्रस्तुत गरेकी छन् । यो उपन्यासले उपन्यासकी मुख्य पात्र अन्ना उल्फले संकलन गरेको विभिन्न रंगका डायरी र ती रंगजस्तै उनको जीवनका विविध आयामलाई उजागर गरेको छ । उपन्यास लेखकको आत्मकथाजस्तो लाग्छ किनकि अन्नाले भोगेका घटनाहरू र लेसिङले उनको जीवनमा भोगेका घटनाहरू उस्तैउस्तै लाग्छन् ।
उपन्यास अन्ना र उसको साथी मोल्ली ज्याकोब्ससँगको भेटघाटबाट सुरु हुन्छ । दुवैजना लन्डनमा बसेका हुन्छन् । दुवैले आपूmलाई ‘फ्री वुमन’ (स्वतन्त्र महिला)को रूपमा प्रस्तुत गर्छन्, किनकि उनीहरू कुनै पनि सामाजिक बन्धनद्वारा बाँधिएका हुँदैनन् । उपन्यास मोल्ली र उसको श्रीमान्बीचको सम्बन्धलगायत कुराहरूमा केन्द्रित छ । अन्ना र मोल्ली पुरुषसरहको स्वतन्त्र जीवन बाँचिरहेका हुन्छन् ।
उपन्यास पढ्दै गर्दा अन्ना वुल्फ डोरिस लेसिङ नै हुन् कि जस्तो लाग्छ । उपन्यासकी पात्र अन्नाले आत्मपरक उपन्यास लेखिरहेकी हुन्छिन्, जसको उपन्यास ‘फ्रन्टियर्स अफ वार’ प्रकाशित भइसकेको हुन्छ । उसले अब नोटबुकमा मात्रै लेख्न थालेकी हुन्छे । उसले त्यो कसैलाई देखाउन चाहँदिन । अन्नाले चारवटा नोटबुकमा आफ्नो जीवनको विभिन्न पक्षहरूलाई समेटेकी हुन्छे । यसमध्ये कालो कभर भएको नोटबुकमा उसले आफ्नो बाल्यकालका अनुभवहरूलाई सँगालेकी हुन्छे । रातो नोटबुकमा उसले आफ्नो राजनीतिक जीवन र साम्यवादी विचारधाराबाट आफ्नो मोहभंग भएको कुरा बताएकी छ । पहेँलो नोटबुकमा उसले एउटा उपन्यास लेखिरहेको र त्यसको मूल पात्र आफ्नो जीवनको नजिक रहेको बताउँछे र नीलो नोटबुकमा ऊ आफ्नो निजी डायरी लेखिरहेकी हुन्छे । अन्नाले यिनै चारवटा नोटबुकहरू मिलाएर पाँचौं नोटबुक ‘द गोल्डेन नोटबुक’ तयार गर्छे । लेसिङले परम्परागत काल्पनिक घटनामा मात्रै आधारित उपन्यासहरूबाट निरास भएर प्रयोगवादी शैलीको उपन्यास लेख्न चाहेकी थिइन् । त्यो इच्छा यस उपन्यासमा पूरा भएको देखिन्छ । उनले अन्नामार्फत् डायरी लेखाएर केही मात्रामा भए पनि सत्यपरक घटनाहरू सुनाएकी छन्, जुन उनकै जीवनका घटनाहरूसँग मेल खान्छन् । उनले यस उपन्यासमार्फत् साम्यवादी विचारधारा सिद्धान्त र व्यवहारमा निकै फरक रहेको र आफूले साम्यवादी विचार बोकेर हिँड्नु गल्ती भएको कुरा खुलाएकी छन् ।
त्यस्तै, उनको सन् २००७ मा प्रकाशित उपन्यास ‘द क्लेफ्ट’ले महिलाका विषयलाई नै समेटेको देखिन्छ । यसमा रोमन सम्राट निरोको पालाको परिवेशलाई समेट्न खोजिएको छ, जसमा एक रोमन सिनेटरले आफ्नो जीवनको अन्तिममा मानव सृष्टिको कथा भन्ने अभिभारा लिएको हुन्छ । उसले समुद्री किनारमा बस्ने महिलाहरूको प्राचीन समुदाय ‘क्लेफ्ट’को वास्तविक कहानी खोतल्ने प्रयास गर्छ । ती महिलाहरूलाई पुरुषहरूको जरुरी नै पर्दैन । उनीहरूलाई यो संसारमा पुरुषहरू पनि छन् भन्ने कुरा पनि थाहा हुँदैन । यहाँ प्रजनन् प्रक्रियामा पनि पुरुषको आवश्यकता पर्दैन । यी महिलाहरू चन्द्रमा प्रकाशको सहायता बच्चालाई जन्म दिन्छन् र यहाँ छोरीहरू मात्रै जन्मन्थे । तर, अचानक एक महिलाले विचित्र बच्चाको जन्म दिइन्, जो केटा हुन्छ । यसपछि त्यो समुदायको पूरा तालमेल नै भंग हुन पुग्छ र समुदायमा आपत् आइलाग्छ । यस उपन्यासमा लेसिङले एउटा सुन्दर र सन्तुलित समाज निर्माणका लागि पुरुष र महिलाको समान भूमिका रहने अभिव्यक्ति दिएकी छन् ।
सन् २००७ का साहित्यको नोबेल पुरस्कारलगायत विभिन्न दर्जनौं पुरस्कार विजेता डोरिस लेसिङ आफ्नो राजनीतिक टिप्पणीका कारण बारम्बार चर्चा र विवादको विषय बन्न पुग्थिन् । उनले सेप्टेम्बर ११ को घटनालाई सामान्य बताएकी थिइन् । अलकायदाद्वारा गराइएको सो आक्रमणमा २,९९६ को ज्यान गएको थियो भने ६ हजारभन्दा बढी घाइते भएका थिए । उनले सो आक्रमण त्यति डरलाग्दो नभएको भनेकी थिइन् । उनले भनेकी छन्, “केही अमेरिकीहरू मलाई पागल भन्लान्, तर यो न त उनीहरूले सोचेजस्तो डरलाग्दो थियो, न त उनीहरूले सोचेजस्तो असाधारण नै ।”
उनले स्पेनी पत्रिका एल पाइसलाई अन्तर्वार्ता दिदैँ भनेकी थिइन्, “मानिसहरूले आइरिस रिपब्लिक आर्मीले मार्गरेट थ्याचरमाथि गरेको आक्रमण बिर्सेजस्तो लाग्छ । सेप्टेम्बर ११ डरलाग्दो होइन, तर आइरिस रिपब्लिक आर्मीको इतिहासलाई हेर्ने हो भने अमेरिकीहरूले भोगेका घटनाहरू त्यति डरलाग्दा होइनन् । धेरै मान्छे मरे, दुइटा महत्वपूर्ण भवनहरू ढले तर पनि उनीहरूले सोचेजस्तो डरलाग्दो घटना होइन ।”
त्यसो त उनको तत्कालीन अमेरिकी राष्ट्रपति बुशमाथिको टिप्पणी पनि विवादित बन्न पुगेको थियो । उनले भनेकी छन्, “सबै जना यिनीसँग आजित भएका छन् । बुश कि त मुर्ख छन् कि त एकदमै चतुर । वास्तवमा उनी युद्धबाट लाभ लिन पल्केका वर्गसमुदायको प्रतिनिधित्व गर्छन् ।”
लेसिङले उठाएका विभिन्न मुद्दाहरूले उनलाई भिन्न आन्दोलनको अभियन्ताका रूपमा उभ्याएको छ । उनी महिलावादी आन्दोलन, समाजवादी आन्दोलन, साम्यवादी तथा सुफी आन्दोलनसँग जोडिएकी छन् । उनको आत्मकथा दुइटा भोल्युममा प्रकाशित भएको छ । सन् १९४९ सम्मको घटनाक्रमलाई समेटेर उनको आत्मकथा ‘अन्डर माइ स्किन’ र १९४९ देखि १९६२ को घटनाक्रमलाई समेटेर ‘वाकिङ इन द शेड’ प्रकाशित छ । उनले त्यसपछिको जीवनलाई समेटेर आत्मकथा नलेख्नुको पछाडि आफूले जीवनमा धेरै खराब मानिसहरू भेटेको बताएकी छन् । ती कुराहरू उजागर गर्दा उनीहरू रिसाउन सक्ने भएर अर्काे आत्मकथा नलेखेको उनले बताइन् । उनले आफूलाई कुनै पनि वादको कित्तामा नउभ्याए पनि उनका विषयवस्तुले उनलाई पाठक तथा समीक्षकले नै कुनै पनि कित्तामा लगेर उभ्याइदिन सक्छन् । उनले महिलाहरूलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिएकोले आफूलाई नारीवादी भन्न मिल्ने बताएकी थिइन् । दर्जनौं कृतिकी सर्जक लेसिङका अन्य चर्चित कृतिहरूमध्ये ‘द गुड टेरोरिस्ट’, ‘द फिफ्थ चाइल्ड’, ‘सिकास्ता’ केही प्रतिनिधि कृति हुन् । उनको सन् २०१३ नोभेम्बर १८ का दिन ९४ वर्षको उमेरमा निधन भएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  १०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC