ad

साहित्य र कला

‘प्लेब्वाइ’ नवाजुद्दिन

बलिउडमा नवाजुद्दिन सिद्धिकीको प्रवेश कथा संघर्षै संघर्षले भरिएको छ । उनको शुरुवात ठ्याक्कै चल्तीको बलिउड फिल्मजस्तै छ । राष्ट्रिय स्तरको पुरस्कार हासिल गरेका नायक नवाज सधैंजसो चर्चामा रहन्छन् । संवाद र अभिनयकलामा आफ्नै विशिष्ट शैली निर्माण गरेका नवाज अहिलेका बिकाउ कलाकारको सूचीमा अग्रणी मानिन्छन् । सेतो पर्दामा जस्तासुकै अश्लील संवाद पनि नहच्किई बोल्नसक्ने नवाज वास्तविक जीवनमा भने उत्तिकै लजालु र संकुचित व्यक्ति हुन् ।

यिनै नवाजुद्दिनले लेखेको आत्मकथा ‘एन अर्डिनरी लाइफ’ अहिले बलिउडमा ‘हटकेक’ बनेको छ । यसमा उनले त्यस्ता रहस्य खोलेका छन्, जसले उनीप्रतिको आमदृष्टिकोणमै प्रश्न उब्जाइदिएका छन् । ‘मिस लभ्ली’की नायिका निहारिका सिंह र न्युयोर्की यहुदी सुजेनसँगको विवाहेत्तर सम्बन्धबारे उनी पुस्तकमा खुलेका छन् । त्यसबाहेक उनको जीवनमा आएका महिलाबारे पनि प्रष्ट लेखिएको छ । अञ्जली सिद्दिकीसँग उनका दुई सन्तान छन्– एक छोरा, एक छोरी ।

सोही पुस्तकबाट यहाँ छोटो अंश प्रस्तुत गरिएको छ ः

० ० ०

मेरो काम र प्रेमका लागि पश्चिम मप्रति अचम्मले दयालु थियो । विभिन्न फिल्म फेस्टिबलमा प्रदर्शन भएका मेरा फिल्मबाट थुप्रै सम्मान र माया पाएँ ।

एकपटक म न्युयोर्क शहरको शोहो भन्ने ठाउँको क्याफेमा साथीसँग बसिरहेको थिएँ । हामी आफ्नै सुरमा कुरा गरिरहेका थियौं । त्यत्तिकैमा न्युजर्सीबाट यहुदी युवती सुजेन आइन्, जो न्युयोर्कमा बस्थिन् । उनी साह्रै सुन्दर थिइन् । त्यो दिनको भेटपछि हाम्रो मित्रता बाक्लो भयो । त्यसको केही समयपछि उनी मुम्बई आइन् र मसँगै बस्न थालिन् । त्यतिबेलासम्म भाइ शमाज र म यारी रोडमा सरिसकेका थियौं । केही महिनाको अन्तरालमा सुजेनले भिसाको म्याद थप गरिरहन्थिन् । हाम्रो सम्बन्धमा मीठास भरिएको थियो ।

“एक वर्षसम्म पर्खेर हेरौं, हामी एकअर्कासँग मिलेर बस्न सक्छौं कि सक्दैनौं । हुन सक्छ हाम्रो मन एक वर्षमा फेरिन पनि सक्छ,” एकदिन सुजेनले भनिन् । उनको कुराले म चकित परें । उनलाई केही भन्नुभन्दा पहिले नै दिमागबाट विवाह कुरा हटाइदिएँ ।

यसैबीच ‘मिस लभ्ली’को सुटिङ सुरु भयो । सुटिङमा आएर सुजेनले साथ दिइरहिन्थन् । र, त्यो एकदिन पायो, जुन दिन सुजेनको भिसा रद्द भयो । उनलाई भिसाको काम मिलाउन तत्काल न्युयोर्क जानुपर्ने भयो । उनी गएको धेरै महिनासम्म आइनन् ।

एकदिन निहारिका र म एउटा नृत्यको सुटिङ गर्दै थियौं । निर्देशकले ‘कट’ भन्नासाथ निहारिका चुपचाप भ्यानतिर दौडिँदै गइन् । उनलाई पक्कै केही भयो । उनी एक्कासि चिसिँदै गइन् र मौन भइन् । मलाई अचम्म लाग्यो । उनलाई एक्कासि के भयो ? यो प्रश्नले मलाई तनाव दियो । उनी मसँग साह्रै मिल्ने घनिष्ठ थिइन्, मजाले बोल्थिन् । एकपटक खुलेर कुरा गर्दा नै राम्रो होला भनेर बोल्ने कोसिस गरें । एकपटक होइनन, दुईपटक होइन, कैयौं पटक, कैयौं दिनसम्म । तर, उनले केही नभएजस्तो गरिरहिन् । केही उपाय नलागेपछि मैले सोध्न छाडें । मैले उनलाई आफ्नो मौनता तोड्न र सामाजिक हुन आग्रह गरें । यसरी मौन बस्नु उचित हुँदैन भनेर सम्झाएँ ।

त्यसको केही दिनपछि उनी मसँग कुरा गर्न थालिन् । मैले उनलाई आफ्नो घरमा खाना खान बोलाएँ । मैले खसीको मासु बनाएको थिएँ, जुन मेरो विशेषता थियो । उनले सहजै मेरो निमन्त्रणा स्वीकारिन् र मेरो घरमा आइन् । मैले उनका लागि बनाएको खाना साह्रै बेस्वादको भयो । तर, पनि उनले प्लेटमा राखिएका सबै खाना खाइन् र खानाको प्रशंसा पनि गरिन् । त्यो उनको महानता थियो ।

“अब तिमी मेरो घरमा आऊ नवाज, म तिम्रो लागि खसीको मासु बनाउँछु,” उनले न्यानोपन देखाउँदै भनिन् ।

पहिलोपटक म निहारिकाको घरमा गएँ । ढोकामा पुगेर घण्टी बजाएँ । उनले बिस्तारै ढोका खोलिन् । म एकदमै लजालु भएर उनको अगाडि उभिएको थिएँ । घरभित्र छिरेपछि अचम्ममा परें– त्यहाँ कैयौं स–साना मैनबत्ती झिलमिलाइरहेका थिए । उनले नरम भुवादार लुगा लगाएकी थिईन् । त्यो पहिरनमा उनी निकै आकर्षक देखिएकी थिइन् । मैनबत्तीको प्रकाशले उनको सौन्दर्य झनै बलेको थियो । मैले कामुक भएर उनलाई आफ्नो काँधमा चढाएँ र सिधै बेडरुमतिर लिएर गएँ । हामी उत्साहित भएर एकअर्काको मायामा हराउँदै गयौं ।

त्यसपछि निहारिकासँग मेरो सम्बन्ध बाक्लिँदै गयो । मलाई त्यो सम्बन्ध डेढ वर्षसम्म चल्छ जस्तो लागेकै थिएन ।

सुरुवाती दिनहरूमा म उनलाई प्रभाव पार्न चाहन्थें । म त्यतिखेर संघर्षशील जीवन बिताउँदै थिएँ । त्यसैले एउटा पुरानो कार किनें । पुरानै भए पनि कार त कारै हो । 

उनी मलादमा बस्थिन्, म यारी रोडमा । एकपटक उनलाई केही कामविशेषले यारी रोड पुग्नुपर्ने थियो । मैले उनलाई आफ्नो कारमा छोडिदिने बताएँ । उनले ‘हुन्छ’ भनेपछि म आफ्नो मनपर्ने लुगामा सजिएँ । केही बासनादार अत्तर छर्किएँ । अनि मनमनै गीत गुन्गुनाउँदै उनलाई छोड्न निस्किएँ ।

उनी कारभित्र बसिन्, हामी अगाडि बढ्यौं । बीच बाटोमा मेरो कार बिग्रियो । उनलाई यो कुराले खै कस्तो प्रभाव प¥यो, भनिन्, “म अबदेखि यो कारमा बस्दिनँ । चल्ने÷नचल्ने टुंगै हुन्न । म आफ्नै कारमा हिँड्छु ।”

यस्तै स–साना कुराले मेरो जीवनमा सधैं केही न केही बाधा पारिरहेका हुन्छन् । यसपटक पनि त्यस्तै भइदियो । 

मैले मरिमेटेर काम गर्छु– एउटा फिल्म पाउन, अर्को केटी पाउन । मेरो प्रेम र व्यावसायिक जीवन दुई शरीर जोडिएको जुम्ल्याहाजस्तै थियो । म कर्तव्यनिष्ठ भएर केटी र कामप्रति लगाव दिन्थें । दुवै केही समयका लागि उच्च गतिमा अगाडि बढ्थे अनि एउटा बिन्दु आउँथ्यो, दुवैतिरबाट असफलता प्राप्त हुन्थ्यो । म कुनै भूमिकाका लागि छनोट हुन्थें, मैले लगाउने लुगा तयार हुन्थे । म कल्पनाको आकाशमा उड्थें । अनि अन्तिम घडीमा फोन आउँथ्यो– 

“तपाईंको रोल काटिएको छ ।”

“तपाईंको रोलमा अरुलाई राखिएको छ ।”

सोच्थें– मसँग मात्रै किन यस्तो हुन्छ ? अझै पनि विगततिर फर्केर हेर्दा मलाई यही कुराले गलाउँछ ।

अँ साँच्ची, निहारिकाले त्यसो भनेको केही सममै सुजेनको इमेल आउन सुरु भयो । लेख्थिन्, “तिमी मलाई किन इमेल गर्दैनौ नवाज ?”

साँच्चै मलाई के भयो ? किन मैले उनको इमेल उत्तर दिइनँ ? वास्तवमा भन्नुपर्दा मसँग उनको इमेल उत्तर दिने हिम्मतै थिएन । मलाई लाग्यो– मेरो मौनताले नै उनीसामु सबै उत्तर पु¥याउँछ ।

एकदिन इमेल पढ्दै थिएँ । सुजेनले पठाएको एउटा इमेलमा निहारिकाको आँखा पुग्यो ।

“को हो त्यो ?” निहारिकाले सोधपुछ गरिन् ।

“तिमीलाई राम्रोसँग थाहा छ ऊ को हो,” मैले भनें, “सुजेन हो ।”

“ओहो ! भनेपछि तिमीहरू दुईबीच अझै सम्बन्ध छ ? गज्जब !” निहारिका रिसले चुर भईन् ।

“यो गलत हो, तिमीलाई पक्कै थाहा होला,” उनले उदास स्वरमा भनिन् ।

“हैन निहारिका, हामीबीच त्यस्तो केही छैन । कहिलेकाहीँ उनको इमेल आउँछ, त्यति हो । मैले बेवास्ता गरेको कुरा बिस्तारै सुजेनले थाहा पाउँछिन् अनि इमेल आउन पनि बन्द हुन्छ,” मैले नम्र हुँदै भनें ।

“हैन नवाज ! तिमीले यो कुरा स्पष्ट पार्नैपर्छ,” निहारिकाले कठोर शब्दमा भनिन्, “ठीकै छ, म आफैं सबै कुरा स्पष्ट पारेर सुजेनलाई उनलाई इमेल गरिदिन्छु ।”

त्यस दिनदेखि निहारिकाले मेरो इमेलबाट सुजेनलाई इमेल पठाउन थालिन् । उनी लेख्थिन्, “म अब तिमीसँग सम्बन्ध गाँस्न चाहन्नँ...।” अनि मैले नै पठाएझैं भान पार्थिन् । सुजेनलाई कस्तो महसुस होला, त्यो म कल्पनै गर्न सक्दिनथें ।

उनी मुटु बिझ्ने गरी उत्तर पठाउँथिन्, “के भयो नवाज ? बिन्ती मलाई भन । नवाज !...  म रुँदै छु । बिन्ती छ, भन ... ।”

त्यो क्षण एकदम दर्दनाक थियो । मलाई सहन गाह्रो भइरहेको थियो । 

मैले लेख्ने भाषा र निहारिकाले लेख्ने भाषा फरक थियो । केही इमेल आदानप्रदानपछि सुजेनलाई प्रष्ट भयो– यो नवाजले लेखेको पक्का होइन । र, लेखिन्, “यो इमेल पठाउने को हो नवाज ? मलाई थाहा छ त्यो पक्कै तिमी हैनौ । तिमीसँग त्यहाँ अरु कोही छ ।”

उनको अवस्था कल्पना गर्दा पनि मेरो मन बटारिन्थ्यो । सात समुद्रपारिबाट एकजना प्रेमीले व्याकुल भएर इमेलको रहस्य पत्ता लगाउँदै थिइन् । अर्को इमेलमा लेखिन्, “मलाई भन को हौ तिमी ? को हो ? को हो यो कुकुर्नी ?”

‘कुकुर्नी’ शब्दले निहारिकालाई साह्रै क्रोधित बनायो । उनले सुजेनसँग सम्पूर्ण रूपमा सम्बन्ध तोड्न लगाइन् । म धेरै दुःखी भएँ । त्यसपछि मैले सोचें– ठीकै छ, म निहारिकासँग त छु । त्यसपछि मेरो उदासीनता छिनभरमै विलीन भयो ।”


निहारिकाको प्रतिवाद

यो अंश सार्वजनिक भएपछि नवाज र निहारिका ‘हटकेक’ बने । आफूलाई जोडेर जताततै चर्चा चलेपछि निहारिकाले पनि मौनता तोडिन् । ‘इन्डियन एक्सप्रेस’को अनलाइनसँग कुरा गर्दै उनले नवाजुद्दिनले आफ्नो आत्मकथामा लेखेका कुनै पनि कुरा आफूलाई थाहा नभएको बताइन् ।

“सन् २००९ मा ‘मिस लभ्ली’ बनिरहँदा नवाज र म छोटो समयका लागि एकअर्कासँग सम्बन्धमा थियौं । त्यो केही महिनासम्म चल्यो । तर, उनले मलाई मैनबत्तीले सजिएको बेडरुममा लगेको, अनि मैले उनको पक्षबाट अन्य महिलाहरूलाई इमेल गरें भन्ने जस्ता कुरा सबै मिथ्या हुन् । यी सबै कुरा सुन्दा मलाई हाँसो मात्र उठ्छ । उनले पुस्तकमा जति पनि कुरा लेखे, त्यसको मलाई कुनै ज्ञान छैन । यी नै मुख्य कारण हुन्, जसले गर्दा म नवाजसँग सम्बन्ध तोड्न बाध्य भएँ । आफ्नो पुस्तक बिकाउन उनले अनेक झुटा कुरा लेखेका छन् । उनी एक कुशल नायक हुन् भन्ने मलाई पूरा विश्वास छ । तर यस्ता नाटकहरूले टेलिभिजन स्क्रिनमा मात्रै शोभा दिन्छ । अझै पनि म उनको भलो चिताउँछु ।” 

(‘इन्डियन एक्सप्रेस’बाट रुमु न्यौपानेको अनुवाद)
 

तपाईंको मत