ad

साहित्य र कला

प्रकाश झैं तेजिला

– नरेश फुयाँल


विसं. ०३९ सालको एक बिहान । प्रकाश (रिमाल) आरआर क्याम्पसको प्रशासन झ्यालमा बसेर कुन–कुन विषय पढ्ने भनेर छनोट गरिरहेका थिए । आईएमा नेपाली र अंग्रेजी अनिवार्य पढ्नै पथ्र्यो । बाँकी तीनवटा विषय ऐच्छिक हुन्थे । तीनवटामा अंग्रेजी सजिलै लाग्थ्यो उनलाई– चिनो लगाए । इतिहास पास गर्न सजिलो हुन्छ भन्ने लाग्यो– चिनो लगाए । बाँकी रहेको तेस्रो ‘रो’ थियो, त्यसमा अर्थशास्त्र, भूगोल र पत्रकारितामध्ये एउटा रोज्नुपर्ने थियो । उनका औंलाले च्यापेको सिसाकलम घरि अर्थशास्थ, घरि भूगोल त घरि पत्रकारिताको छेउमा पुगेर अडिन्थ्यो । कुन पढ्ने ? उनलाई छान्न गाह्रो भयो । त्यही बेला उनलाई छेउमा रहेको कसैले भन्यो, “भाइलाई अन्योल भए जस्तो छ । पत्रकारिता पढ्नुस्, यसको स्कोप राम्रो छ ।”

यसो आँखा उठाएर हेरे, आफूलाई पत्रकारिता पढ्न सुझाइरहेका ती व्यक्तिसामु प्रकाशको मुखबाट अनायसै प्रश्न खुस्कियो, “तपाईंले पनि पत्रकारिता पढ्नुभएको हो ?”

ती व्यक्तिले भने, “हो मैले पत्रकारिता नै पढेको हो ।”

प्रकाशको कलमले पत्रकारितामा चिनो लगायो ।

“अहिले पनि म त्यो व्यक्ति सम्झन्छु र थ्याङ्क्स भन्छु उसलाई । त्यो व्यक्ति को थियो, मैले कहिल्यै पनि चिनिनँ । उसको आकृति म खिच्न खोज्छु । धमिलो तस्बिर आउन खोज्छ दिमागमा तर पूरा तस्बिर आउँदैन,” प्रकाश भन्छन्, “म त्यो अञ्जान व्यक्तिलाई मनैदेखि धन्यवाद दिन्छु, जसले मलाई पत्रकारिताको बाटो देखाइदियो । त्यो व्यक्तिले मलाई जिन्दगीमा ट्रनिङ पोइन्ट नै ल्याइदियो ।” 

त्यो दिन आरआर क्याम्पसको झ्यालमा ती व्यक्ति नआउँथे भने प्रकाश आज कहाँ हुन्थे ? उनी पत्रकारितामा हुन्थे कि भूगोल वा अर्थशास्थ पढेर कतै हराइरहेका हुन्थे ? यसको उत्तर उनैसँग पनि छैन ।

ती व्यक्तिले ‘मैले पत्रकारिता पढेको होइन’ भनेको भए शायद प्रकाश पनि त्यो बाटो हिँड्दैनथे । प्रकाश आज तिनै व्यक्तिले देखाएको प्रकाशको उज्यालो बाटोमा हिँडिरहेका छन् ।


बुवाआमाको चाह

०३८ साल । एसएलसीको नतिजा प्रकाशकै पक्षमा आयो । मार्कसिटले दोस्रो श्रेणी देखायो । त्यो बेला दोस्रो श्रेणीमा पास हुनु पनि आकाशको तारा खसाल्नुसरह थियो ।

बुढेसकालको सहारा भने पनि मरेपछिको पिण्डपानी गर्ने छोरो प्रकाशसँग बुवाआमाको ठूलै आश थियो । भने, “छोरा ! डाक्टर बन्नुपर्छ ।”

उमेर बढाएर एसएलसी दिने चाँजोपाँजो मिलाएका प्रकाशको बालपन सकिएकै थिएन । लाग्यो– ठीकै त होला ।

चढे झापाको गौरीगन्जबाट काठमाडौंको गाडी । झोलामा आमाले हालिदिएका मीठामीठा परिकार थिए । त्यही झोलामा बुवाले दिएको खर्च पनि थियो । त्योभन्दा पनि महत्पपूर्ण कुरा त उनको मनको झोलामा बुवाआमाले खुत्रुक्क छिराइदिएको डक्टरको पोको थियो ।

शरीरमा सेतो एप्रोन, कानमा स्टेथेस्कोप लगाएर बिरामीको धड्कन नापिरहेको छोरो हेर्ने बाबुआमाको चाह पूरा हुन्छ या हुँदैन– त्यो स्वयं प्रकाशलाई पनि थाहा थिएन ।


हरिशरण, ब्रजेश र अजय

त्रिचन्द्र कलेज र आरआर दुवैमा प्रवेश परीक्षा दिए । पहिले त्रिचन्द्रमा नाम निस्कियो । भर्ना भए । केही दिनपछि आरआरमा पनि नाम निस्कियो, त्यहाँ पनि भर्ना भए । उनले दुवै ठाउँमा किन भर्ना गरे ? उनलाई पनि थाहा थिएन । त्रिचन्द्रमा कक्षा सुरु भइसके पनि विज्ञान पढ्न सक्दिनँ भनेर उनले आरआरमा भर्ना गरेका भने थिएनन् ! उनको आत्माले आरआरमा पनि भर्ना हुनुपर्छ भन्यो । प्रकाशले आत्माको बोली नकार्न सकेनन् ।

पढाइ सुरु भएको ५ महिना भइसकेको थियो तर उनले केही बुझेनन् । गणित, रसायन, अणु, ल्याबमा लेक्चरहरू के–के भट्याउँथे, उनको दिमागमा केही घुस्दैनथ्यो । कक्षामा जस्तो छिर्‍यो, उस्तै शून्य दिमाग लिएर बाहिरिन्थे ।

“म साइन्सका लागि जन्मिएकै होइन रहेछु,” उनले निक्र्योल निकाले । 

सँगैका साथी थिए– हरिशरण लामिछाने (रेडियो नेपालका समाचार वाचक) । प्रकाशले उनलाई आफ्नो वृतान्त सुनाए । ‘आरआरमा पढ्न जान्छु’ भने ।

कक्षा सुरु भएको ५ महिना बितिसकेको थियो । आरआरमा न पढेको छ, न कुनै साथी नै चिनेको छ । बिलखबन्दमा परे । हरिशरणले भने, “त्यहाँ मेरा दुई जना मिल्ने साथी छन्, गएर मेरो नाम लिई भेट्नू, उनीहरूलाई साथी बनाउनू । सहयोग गर्छन् ।”

५ महिना धाएको त्रिचन्द्र छोडेर उनी आरआर पुगे । हरिशरणले भनेका साथीलाई भेटे । उनले भनेका साथीहरूको नाम थियो– ब्रजेश खनाल र अजय नेपाल ।

“अजय नेपाल पत्रकारितामा थियो । केही वर्ष अगाडि बित्यो । ऊसँग मेरो सम्बन्ध त्यत्तिकै राम्रो थियो– जस्तो आईए पढ्दा थियो । ब्रजेशसँग पनि त्यो बेलाको घनिष्टता अझै कम भएको छैन । शायद हरिशरणको नाम लिएर मैले उसलाई भटेको त्यो क्षण ब्रजेशलाई पनि याद होला ।”

लालदेउजा राई, पी खरेल, गोपाल चित्रकारलगायत लेक्चररको विद्यार्थी भए प्रकाश । पत्रकारिताको सैद्धान्तिक अध्ययन सुरु भयो ।

 

परीक्षा छोडेर क्यासिनो 

राजनीतिक माहोल थियो । पञ्चहरुको उस्तै जगजगी । प्रतिबन्धित दलहरू प्रजातन्त्र पुनर्बहालीको लडाइँमा थिए । विद्यार्थीहरू खुलेर राज्यसत्ताको विरोध गर्थे । आन्दोलनको केन्द्र कलेज थिए । त्यसको प्रत्यक्ष प्रभाव त्रिभुवन विश्वविद्यालयको क्यालेन्डरमा पर्ने नै भयो । ०४२ सालसम्म कुर्नुपर्‍यो दुई वर्षको आईए सक्न ।

पत्रकारिताको केन्द्रीय विभाग आरआर कलेज नै थियो । प्रकाश बीएमा पनि त्यहीँ पढ्न थाले । एक समय पढ्ने उनी अर्को समय अमर आदर्श विद्यालय बानेश्वरमा पढाउँथे । उनको काठमाडौं बसाइको खर्च त्यसैले धान्थ्यो ।

पैसा नहुनेलाई कसैले गन्दैन भन्ने थाहा थियो उनलाई । जसरी हुन्छ– पैसा कमाउनु थियो । क्यासिनोले मान्छे माग्यो । बीए प्रथम वर्षको परीक्षा चलिरहेको थियो । क्यासिनोको अन्तर्वार्ता र नेपालीको परीक्षा एकैदिन पर्‍यो । धर्मसंकटमा परे प्रकाश ।

नेपालीको परीक्षा त अर्को वर्ष दिन पाइन्छ, क्यासिनोमा जागिर खाने यो अवसर छुटाउनु हुन्न भन्ने लाग्यो । मनले जे भन्यो, त्यही गर्ने लहडी स्वाभावका प्रकाश क्यासिनोको अन्तर्वार्ता दिन हिँडे । ‘दैव दाहिना’ नै रहे । उनलाई क्यासिनोले पत्यायो । ट्रेनिङ सुरु गरेको सात दिनपछि उनलाई जानै मन लागेन । छोडे क्यासिनोको जागिर । न क्यासिनो, न परीक्षा ! दुबै बिग्रिए । लहडी स्वाभावले प्रकाशलाई यहाँ भने धोका दियो ।

क्यासिनो छोडेको करिब २ दशकपछि होटल सोल्टीमा कसैले उनलाई सोध्यो, –“तपाईँ प्रकाश रिमाल हैन ? 

“हो”, प्रकाशले भने । 

प्रकाशले किन सोध्नु भयो भनेर जिज्ञासा राखे । 

ती व्यक्तिले भने, “तपाइँ क्यासिनो नेपालमा ट्रेनिङ गर्दागर्दै छोड्ने प्रकाश रिमाल हैन ? ।”

यतिका वर्षपछि पनि कसरी सम्झिनु भयो भन्ने प्रकाशको जिज्ञासामा उनले हास्दै भने, “तपाइँले क्यासिनोमा काम गर्नु हुन्न भन्ने मैले त्यही बेला ठम्याएको थिएँ ।”  

त्यो समय अहिलेजस्तो तीन वर्षे कोर्स थिएन । त्रिवि सेमेस्टर प्रणालीमा पनि थिएन । दुई वर्षको कोर्स हुन्थ्यो बीएको । दोस्रो वर्षमा उनी इन्टर्नसिप गर्न ‘राइजिङ नेपाल’ गए । खै किन हो– उनलाई त्यहाँ खासै रस पसेन । एकछिन गयो, फर्कियो । 

बीए सकिँदासम्म उनको बिहे भएर छोरी पनि जन्मिसकेकी थिइन् । “बिहे भइसकेको थियो, परीक्षामा फेल भइयो भने ससुरालीमा बेइजत हुन्छ भन्ने मानसिक प्रेसर हुन्थ्यो,” प्रकाश हाँसे ।


विज्ञापन बदर र ‘इगो हर्ट’

प्रकाश बीए पास भइसकेका थिए । भनेजस्तो जागिर खानु थियो । ‘राइजिङ नेपाल’ले मान्छे माग्यो । प्रकाशले संवाददातामा निवदेन हाले । लिखित परीक्षा भयो, उनी पास भए । बाँकी थियो अन्तर्वार्ता । त्यो दिन पनि आयो । नयाँ सडकमा अफिस थियो । प्रजातन्त्र पक्षधरले आन्दोलन चर्काइरहेकै थिए । सडकमा गाडी थिएनन् । उनी भीमसेनगोलाबाट हिँडेरै नयाँ सडक पुगे । बाटोभरि उनको मनमा एउटा कुराले डेरा जमायो– अन्तर्वार्तामा अहिले चलिरहेको आन्दोदलनलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नचाहिँ नसोधे हुन्थ्यो ।

नहुनु भयो । अन्तर्वार्तामा त्यही प्रश्न नै सोधियो । “आन्दोलनका पक्षमा बोलौं भने आन्दोलनकारी रहेछ भन्लान्, विपक्षमा जवाफ दिऊँ भने उचित विश्लेषणै गर्न सक्दोरहेनछ, यस्ताले के पत्रकारिता गर्छ भन्लान् ।” 

त्यही डरैडरबीच उनले ठोस जवाफ दिएनन् ।

केही दिनपछि ‘गोरखापत्र दैनिक’मा एउटा सूचना निस्कियो । त्यहाँ लेखिएको थियो, “... विज्ञापनमा मागे अनुसार योग्य उमेदवार नआएकाले विज्ञापन बदर गरिएको छ ।”

प्रकाशसँगै पढ्ने केही साथीहरू ‘राइजिङ नेपाल’मा काम गरिरहेका थिए । तर, उनले दिएको परीक्षामा योग्य उमेदवार नै फेला नपरेको सूचना निकाल्दै विज्ञापनै बदर भएको थियो । उनको ‘इगो हर्ट’ भयो ।

प्रकाशले काठमाडौं नै नबस्ने निर्णय गरे । झिटीगुन्टा कसे । श्रीमती र छोराे लिएर झापा फर्किए । उनलाई बसपार्कसम्म पुर्‍याउन  अजय, गितेश प्याकुरेल र रवीन पोखरेल  पुगे । मुुटु जोडिएको साथी घर फर्किंदा उनीहरूको अनुहार सोहोरिएको थियो । अनुहारबाट लाली हराएको थियो ।

प्रकाशले काठमाडौं छोड्दा एउटा वाक्य भनेका थिए, “बहुदल फर्कियो भने म काठमाडौं फर्किन्छु ।” 

झापा पुगेर उनले पढाउन थाले । एक वर्ष नबित्दै आन्दोलनरत भूमिगत दलहरू सफल भए । ३० वर्ष लामो निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भयो । प्रकाशलाई काठमाडौंको ढोका खुल्यो ।

फेरि चढे काठमाडौंको बस । उनको नाम कोही व्यक्तिमार्फत ‘राइजिङ नेपाल’सम्म पुग्यो । सम्पादक थिए– डा. ताना शर्मा । उनले अस्थायी नियुक्तिका लागि निवेदन दिन आग्रह गरे । अस्थायी जागिरेका रूपमा प्रकाशले ‘राइजिङ नेपाल’मा काम सुरु गरे । त्यहाँ उनलाई डेस्क र रिपोर्टिङको एउटा विकल्प छान्न शर्माले सुझाए । ‘स्पार्क’ म्योजिनबाट सुरु गरेको रिर्पोटिङलाई चुक लगाएर मस्काइएको ताबो बनाउनु थियो, त्यसैले रिपोर्टिङ नै रोजे ।

सन् १९९२ बाट सुरु गरेको ‘राइजिङ नेपाल’को जागिर उनले २००२ सम्म खाए । बिट रिपोर्टिङभन्दा पनि सबै विधामा कलम चलाए चलाख रिपोर्टर भइन्छ भन्ने थियो, उनले त्यसै गरे । खेलकुददेखि राजनीतिसम्म उनको कलम चल्यो । 

उनी फुटबलका क्रेजी फ्यान हुन् । मेसी उनका प्रिय खेलाडी । अर्जेन्टिनाको खेल हेर्न उनी छुटाउँदैनन् । मध्यरात मात्रै होइन अर्जेन्टिनाको खेल बिहान पख छ भने पनि उनको मोबाइलमा अलाराम बज्छ । अहिले अर्जेन्टिना विश्वकपमा पुग्छ छ कि पुग्दैन ? भन्ने चिन्ता शुक्रबार रेडमग क्याफेमा भेटिएका प्रकाशको चेहरामा झल्किरहेको थियो । मेसीको खेल उनलाई प्राकृतिक लाग्छ रे ! “रोनाल्डोको खेल अभ्यासले पूर्ण भएको हो । मेसीलाई प्रकृतिले नै फुटबल खेल्न जन्माएको हो,” उनले आफ्नो विश्लेषण सुनाए ।

 

सरकारी सीमितता

‘राइजिङ नेपाल’ सरकारी लगानीको पत्रिका, केही सीमितता थिए । निश्चित परिधिभित्र बसेर समाचार लेख्नुपथ्र्यो । ‘राइजिङ नेपाल’ पत्रकारिता सिक्ने स्कुल त थियो तर त्यहाँ खेल्ने ठूलो मैदान भने थिएन । त्यो मैदान खोजिरहेका थिए प्रकाश । निजी क्षेत्रबाट बृहत् रूपमा ‘कान्तिपुर एफएम’ आउने भयो । १९९८ मा ‘कान्तिपुर’ले उनलाई बोलायो । जागिर नछोडी ‘कान्तिपुर’ पुगे । त्यहाँ उनको भूमिका थियो– समाचार कक्षमा जनशक्ति खोज्नेदेखि समाचारको फरम्याट तयार पार्नेसम्म ।

पत्रकार खोज्नु थियो, उनी आरआर क्याम्पस पुगे । पत्रकारिताका गुरु चिरञ्जीवी खनाललाई राम्रो विद्यार्थी सिफारिस गर्न आग्रह गरे । उनले श्रीराम पौडेल र अदिती बुढाथोकीलाई सिफारिस गरे । प्रवीण अधिकारीलाई अरु कसैले राम्रो छ भने । प्रकाशले हायर गरे । यसरी उनले ‘कान्तिपुर डायरी’का लागि टिम तयार पारे ।

संविधानतः एफएम रेडियोले समाचार बजाउन पाउँदैनथ्यो । तर, समाचार जसरी पनि बजाउनु नै थियो । उनले सोचे– ‘कान्तिपुर डायरी’ ।

उनले अधिकांश दैनिक पत्रिकाका मुख्यमुख्य समाचार पढ्ने अवधारणा तयार पारे । पत्रिकाको समाचार टिपोट गरेर बजाउने भएकाले त्यसलाई समाचार भन्न नमिल्ने तर्क गर्न सकिने ठहर गर्दै उनले पेलेरै जाने सोची ‘कान्तिपुर डायरी’ नाम राखे । बिहान साढे ६ बजेको ‘कान्तिपुर डायारी’का लागि उनीहरू बिहान साढे ४ बजे एफएम पुगिसक्थे ।

“साढे ४ बजे पुगेर हामी पत्रिका पढ्थ्यौं । पढ्ने समाचार फोल्ड गर्थ्याै आवश्यकता अनुसार च्यात्थ्यौं । कडा मेहनत गरेर डायरी प्रसारण गथ्र्यौं । अहिले त्यसैगरी ‘कान्तिपुर डायरी’ पढिन्छ कि पढिँदैन थाहा छैन,” प्रकाश भन्छन् ।

आठ महिना कम गरेपछि न्युजरुमको वातावरण प्रतिकूल बन्दै गयो । उनलाई त्यहाँ बस्नै मन लागेन । राजीनामा दिए ।

सन् २००१ मा अंग्रेजी दैनिक ‘हिमालयन टाइम्स (टीएचटी)’ खुल्ने भयो । उनले त्यहाँ दर्खास्त दिए । विभिन्न पदका लागि आह्वान गरे पनि उनले समाचार शाखाका लागि आवेदन दिए । अन्नपूर्ण होटलमा लिइएको अन्तर्वार्तामा उनलाई ब्युरो चिफका लागि अफर गरियो । त्यो जिम्मेवारी उनले बहन गरे । त्यहाँ पनि लामो समय बसेनन् । ५ महिना काम गेरर फेरि उनी पुरानै थातथलो ‘राइजिङ नेपाल’ फर्किए ।

२००३ मा स्पेसटाइम नेटवर्क पुगेका प्रकाशले २००४ मा छोडे । यो बीचमा उनले जीटीजेडमा काम गरे । २००७ मा फेरि ‘च्यानल नेपाल’ पुगेका उनी त्यही वर्षको अन्त्यमा ‘टीएचटी’ फर्किए । 

एउटाबाट अर्कोमा जाने, फर्किने यो क्रम चक्रझैं घुमिरह्यो प्रकाशको जीवनमा । २००९ मा उनी समाचार सम्पादक बनेर ‘काठमान्डू पोस्ट’ पुगे । त्यहाँ पनि उनले लामो समय बिताएनन् । २०१० मै उनका पाइला फेरि ‘टीएचटी’ तिरै मोडिए । त्यसयता भने प्रकाश ‘टीएचटी’मै छन् । २०१४ देखि उनी ‘टीएचटी’को सम्पादकका रूपमा कार्यरत छन् ।

एउटा सञ्चारगृह छोड्दै फर्किंदै गर्नु उनका लागि सामान्यसरह भयो । प्रकाशलाई अस्थिर पत्रकार भन्ने आरोप पनि लाग्यो । उनले किन त्यसरी पटक–पटक सञ्चारगृह परिवर्तन गरे ? प्रकाश भन्छन्, “कारण धेरै हुन सक्छन् । त्यसका पछाडि विभिन्न पक्षको हात हुन सक्छ । कति कुरा कतिलाई थाहा होला । कति समय आएपछि बाहिर आउला । तर ठूलै कारण भने छैन ।”

उनी सन्की थिए वा सञ्चारगृह खराब ? प्रकाश र उनी जोडिएका संस्थालाई थाहा होला तर उनले छोडेका संस्थाले नै पटक–पटक बोलाए । उनी भन्छन्, “यसमा मैले जवाफ दिइरहनु पर्दैन । दोहोर्‍याएर बोलाउनुमै जवाफ लुकेको छ ।” उनी सम्पादक हुन् । जस समाचारको अपजस उनकै टाउकोमा पुग्छ । त्यसैले उनी हरेक दिन रिपोर्टर कै स्क्रिनमा पुगेर समाचार हेर्छन् । बीचमा बसेर समाचार र विचारको विश्लेषण गर्छन् ताकी निष्पक्ष बन्न सकियोस् । 


‘गोरखापत्रमा सरुवा मागें’

नेपालमा अंग्रेजी पत्रिकाको सर्कुलेसन निकै कम छ । प्रकाशकलाई पनि यो कुरा थाहा छ । वितरण भएका पत्रिका कतिले पढ्छन्, यो प्रश्नले सधैं प्रकाशलाई ठुँगिरह्यो । अंग्रेजी पत्रिकामा लेखिएका समाचारले नीति निर्माण तहमा कति प्रभाव पार्छन् ? यो कुराले पनि उनलाई लपेट्यो । प्रकाशले ‘राइजिङ नेपाल’बाट ‘गोरखापत्र’मा सरुवा मागे तर सुनुवाइ भएन ।

उनलाई नेपाली पत्रकारिता गर्ने ऊ बेला पलाएको रहर अझै मेटिएको छैन । थाहा छैन अब उनी नेपाली पत्रकारिता गर्छन् या गर्दैनन् । तर, मनको एउटा कुनामा त्यो पुरानो रहर अझै छँदैछ ।   

 

कठोर ह्रदय कि सन्तुलन ?

‘कान्तिपुर एफएम’मा काम गरिरहेका थिए । पुराना पत्रकार गोपाल दासको मृत्यु भयो । पत्रकार श्रीराम पौडेलले भने, “दाइ ! यसलाई मुख्य समाचार बनाएर पढौं ।”

प्रकाशले भने, “हुँदैन ।” 

समाचार ‘कान्तिपुर डायरी’को बीचतिर पढियो ।

“दाइ ! मलाई त्यो बेला यो मान्छे कति कठोर रहेछ भन्ने लागेको थियो । ह्रदय र भावना नभएको मान्छे रहेछ भन्ने लागेको थियो । तर, अहिले सम्झँदा मलाई लाग्छ, त्यो बेला म होइन, तपाईं नै जायज हुनुहुन्थ्यो । अहिले पनि भेट हुँदा कहिलेकाहीँ श्रीराम भन्छन्,” प्रकाशले सुनाए, “हामी पत्रकार अलि भावुक हुन्छौं । हतारमा निर्णय लिन्छौं । कुन समाचार र सूचनाले कति सन्देश र अर्थ बोक्छ भन्ने बिर्सिन्छौं ।” 

 

होटल सोल्टीमा...

१९९६ सालको एक दिन होटल सोल्टीमा कार्यक्रम थियो । कार्यक्रम सकेर सहभागीहरु ड्रिंक्सका साथमा अनौपचारिक कुराहरु गरिरहेका थिए । इजरायली राजदूत जेएस मिलसँग प्रकाश गफिरहेका थिए । उनले सोधिन्, “तपाइँले अमेरिकामा पढ्नु भएको हो ?”
प्रकाशको जवाफ थियो,–“म अमेरिका जान सकिन ।”

“तपाइँले कति पटक प्रयाश गर्नु भयो ?” उनको अर्को प्रश्न थियो । 

प्रकाशले जवाफ दिए, “प्रयास त गरिन ।”

आश्चर्य मिश्रित भावमा उनले भनिन्, “प्रयाश नगरी तपाइँ कसरी भन्दैहुनुहुन्छ अमेरिका जान सकिन भनेर ?”

राजदूतको यो प्रश्नले उनी खङरङ्ग भए । ओठ मुख सुके । नशा उत्रियो । लाग्यो, ‘म कति चाँडै निष्कर्षमा पुग्दोरहेछु ।” 

प्रकाशका लागि यो सँधै जीवनदर्शन बन्यो ।   


दोस्रो पुस्ता 

विज्ञान पढ्दापढ्दै छोडेर आफैं पत्रकारिता पढ्न सुरु गरेका प्रकाशले आईए सुरु गर्दासम्म पनि घरमा भनेका थिएनन् । यसको लुप्त अर्थ हो– अरुले लादेको भन्दा आफैंले देखेको बाटो हिँड्न सजिलो हुन्छ । उनका छोरा प्रतीकले पनि पत्रकारिता पढ्छु भने, प्रकाशले रोकेनन् । प्रतीकले पत्रकारितामै स्नातकोत्तर गरेका छन् । 

पत्रकारितामा उनले रिपोर्टिङ धेरै वर्ष गरेनन् । कहिले ब्युरो चिफ, कहिले समाचार सम्पादक त कहिले सम्पादक– अह्राई–खटाई गर्ने पदमा रहे । तर, उनले जति गरे, एउटा बिटमा मात्रै सीमित रहेनन् । यसको फाइदा उनी अहिले केलाउँदैछन् । फिल्मीदेखि संसदसम्म रिपोर्टिङ गरेका कारण अहिले सबै क्षेत्रका समाचारको ‘जजमेन्ट’ गर्न प्रकाश सक्षम भए । सूचना, स्रोत र ज्ञानका कारण नेतृत्वमा जान उनलाई कसैले रोकेन ।

उनी अहिले भन्छन्, “पत्रकारिता सुरु गर्दा म सबै बिटका समाचार लेख्न आग्रह गर्छु । पछि त्यसलाई बिस्तारै घटाउँदै लैजानू भन्छु । पत्रकारको ज्ञान र स्रोत कुनै एउटा विषयमा मात्रै सीमित भएर हुँदैन । दायरा फराकिलो बनाउनुपर्छ । फाइदा आफैंलाई हुन्छ ।”

 

अहिलेको पत्रकारिता 

नेपाली सञ्चारकर्मी सतही सूचनामै रमाइरहेका छन् । फलतः समग्र पत्रकारिता नै सतही सूचनाको वरिपरि रुमलिरहेको प्रकाशको निष्कर्ष छ । 

नेपाली सञ्चार माध्यममा आएका ब्रेिकङ समाचारहरू स्रोतले ब्रेक गरेका हुन् कि पत्रकारले ? उनको यो गम्भीर प्रश्नले समग्र पत्रकारितालाई खबरदारी गरेजस्तो लाग्छ ।

“ब्रेक गरिएको त्यो इस्युले अन्ततः कसलाई फाइदा गरेको छ, त्यसलाई कसैले ‘फलोअप’ गरेको छ ?” उनले थपे, “अधिकांश समाचार स्रोतले ब्रेक गरिरहेका छन् । पत्रकारलाई कसरी प्रयोग गर्नुपर्छ र प्रयोग भइरहेका छन् भन्ने भलिभाँती थाहा छ स्रोतलाई । हामी योबाट टाढा रहन सक्नुपर्छ । यो नै अहिलेको चुनौती हो ।”

नेपाली पत्रकारिता गुणात्मकभन्दा संख्यात्मक रूपमा अगाडि बढेको छ । यसमा पनि प्रकाशकको ‘इन्ट्रेस्ट’ नबाजिएको हदसम्म मात्रै स्वतन्त्र छ । प्रसारणमा आएका र इजाजत लिएका एफएम रेडियो तथा साप्ताहिक पत्रिकाको मालिक खोज्दै जाने हो भने यो तथ्य स्थापित हुने उनी बताउँछन् । 

अहिले इजाजत लिइएका एफएम रेडियोका ४० प्रतिशत मालिक कुनै न कुुनै राजनीतिक दलका कार्यकर्ता छन् । “जबसम्म नेपाली पत्रकारितामा राज्यले जस्तै प्रकाशकले सम्पादकलाई स्वतन्त्रता दिँदैनन्, त्यो दिनसम्म नेपाली पत्रकारिताले सिँढी उक्लिँदैन । यसका लागि अझै हामीले ३० वर्ष कुर्नुपर्छ,” प्रकाश वर्तमानको जगतमा टेकेर भविष्यको अड्कल काट्छन् । उनी व्यङ्ग्य गर्दै भन्छन्, “प्रेस फ्रिडम अन्ली टु द इक्टेन्ट इट डजनट हर्ट द पब्लिसर/ओनर इन्ट्रेस्ट ।” 

“विज्ञापनले नढाकेको ठाउँमा समाचार छाप्ने हो,” यथार्थतको धरातलमा टेकेर उनी राम्रै व्यङग्य कस्छन् । 

समाचारको विषयस्तुमाथि सञ्चार गृहको लगानीलाई लिएर पनि उनको टिप्पणी छ । सम्पादकीय मिटिङमा समाचार भएन भनेर रिपोर्टरको आलोचना गर्ने बाहेक उसको क्षमता अभिवृद्धिमा लगानी नगरेको उनको गुनासो छ ।

फुटबल खेलको विकासका लागि फुटबल एकेडेमी, क्रिकेटका लागि क्रिकेट एकेडेमी चाहिने तर दक्ष पत्रकारका लागि यस्तै खालको एकेडेमीको विकास किन नहुने ? उनी सँगै अर्को प्रश्न गर्छन्, “पत्रकारलाई इन हाउस ट्रेनिङ कति मिडिया हाउसले सुरु गरेका छन् ?”

यो प्रश्नको जवाफ सम्भवतः कुनै सञ्चार गृहसँग छैन ।    

नेपाली पत्रकारिता नकारात्मक टिप्पणी गर्नमै रमाइहरेको उनको ठम्याइछ । बस्तुगत धरातलमा टेकेर त्यसको यथार्थ पस्किनुभन्दा पनि नकारात्मक पक्षलाई मात्रै जोड दिएको उनको आँखाले देख्छ । 

तपाईंको मत