लक्ष्मीप्रसाद खतिवडा
आमा ह्योल्मो यातायातको बस होटलअगाडि घ्याच्च रोकियो ।
साउन अन्तिम साता इन्द्रावती किनारको मेलम्ची बजार गर्मीले बाफिएको थियो । साउने भेलले उर्लिएको इन्द्रावती पसिसक्नु थिएन । मेलम्ची खोलो मिसिएपछि इन्द्रावतीको वेग अझ तीव्र भएको थियो । पारि ‘बाँदर लड्ने भीर’मा केही बाख्राहरु बुट्यान चाहारिरहेका थिए । गोठालाहरु तल इन्द्रावतीको भेल हेर्दै टोलाइरहेका थिए ।
सिन्धुपाल्चोकको पाँचपोखरीमा हुन लागेको टे«ल रेसका सहभागी, आयोजक र केही मिडियाकर्मीको टोली होटलभित्र ह्वार्र पस्यो । टेबुलहरु भरिए र काँटा चम्चा बज्न थाले । सीमित ग्राहकका लागि तयार मेलम्चीको माछाको स्वाद सबैले चाख्नसमेत पाएनन् । जोरपाटीबाट छुटेको बसलाई साँखु, जरसिंहपौवा हुँदै करिब ४० किलोमिटर छिचोलेर मेलम्ची पुग्न झण्डै चार घण्टा लागेको थियो र यात्रुहरु भोकले लखतरान थिए ।
वजन बढेका यात्रु बोकेर बस तेर्सो लाग्यो । अबको गन्तव्य हो तिपेनी । बाटोमा धेरैपटक उत्रिँदै, बस ठेल्दै गर्नुपर्छ । सिटमुनिबाट बेल्चा निकालेर कन्डक्टर फुत्त ओर्लिन्छन् र हिलो पन्छाउन थाल्छन् । तल इन्द्रावतीको सुसाहट चर्को छ । खहरे र छहराहरु थपिइरहेका छन् । झण्डै डेढ घण्टामा ९ किलोमिटर पार गरेर बस बल्ल तिपेनी पुग्यो ।
बसको छतबाट गह्रुँगा झोलाहरु ओरालिए । लठ्ठीहरु झिकिए । बाटो तेर्सो र सजिलो छ, मोटरबाटो । लहलह धान गोड्ने बेला भएको छ । जताततै हरियाली ।
भूकम्पको अवशेषहरु बाँकी नै छन् । साढे दुई वर्ष बित्न लाग्दासमेत प्रहरी चौकी पालमै बसिरहेको छ । निलो पालमा दाताको ठूलो लोगो छ । व्यक्तिगत घरहरु पनि अधिकांश पुनर्निर्माण भएको छैन ।
०००
करिब एक घण्टा हिँडेपछि ढापमा सेतो टोयोटा ल्याण्डक्रुजर देखा पर्यो । तिपेनी र धापको बीचमा पर्ने खोलामा पुल निर्माण भइनसकेकाले बीचमा एक घण्टा हिँड्नुपरेको हो । नत्र भने धापभन्दा १७ किलोमिटर माथि भोताङसम्मै गाडी पुग्छ ।
ल्याण्डक्रुजर चालक केताङ तामाङ मिजासिला, सरल र सहयोगी छन् । एक हातले स्टेरिङ समातेर अर्को हात अभिवादनमा हल्लाइरहेका हुन्छन् । ढाप–भोताङ ओहोरदोहोर गर्ने यो एकमात्र गाडी हो । “यहाँको ट्रक, बस, कार, एम्बुलेन्स, हेलिकोप्टर जे भनेपनि यही हो,” तामाङले सुनाए । उनी गाडीका चालकमात्रै होइनन्, मेकानिकसमेत भइसके । त्यहाँ न कुनै वर्कशप छ न मेकानिक ।
त्यसो त यो बाटोमा पल्सर मोटरसाइकल पनि उत्तिकै हुइँकिन्छन् । गाउँमा युवा कम छन् र जो छन् ती अधिकांशसँग पल्सर मोटरसाइकल छ । गाउँको समृद्धिबारे एक स्थानीयले चाखलाग्दो कुरा सुनाए, “यहाँका कामदारले दैनिक ज्यालासमेत डलरमा लिन्छन् । एक दिन कोदो रोपेको १० डलर !” हुन पनि कुनै बेला बिहान बेलुका खानसमेत नपुग्ने यहाँका मानिसको जीवनस्तर फेरिएको छ । युवाहरु खाडी मुलुक होइन, युरोप अमेरिका पुगेका छन् । त्यसैले त कोदो रोपेको ज्याला पनि डलरमा !
०००
अबेर राति भोताङ पुग्दा स्थानीय युवाहरु तामाङ सेलो गाइरहेका थिए ।
मकै त भुट्यो फुल उठ्यो
बल्ल पो तामाङको हुल उठ्यो
आशमान लोप्चन, सुन्दर शिरिष, पूजा लामा, प्रदीप लामा आदि युवाहरु मिलेर नेपाल कला साहित्य प्रतिष्ठान स्थापना गरेका रहेछन् । उनीहरु पाँचपोखरीमा लाग्ने मेलामा कार्यक्रम गर्न जाँदै थिए । “लोपोन्मुख स्थानीय कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हामी एकजुट भएका हौं,” संस्था खोल्नुको उद्देश्य खुलाए लोप्चनले । यसका लागि संग्रहालय खोल्ने लक्ष्य उनीहरुको छ । रेडियो कार्यक्रम चलाउने, सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरु गर्ने, स्थानीय चाडपर्वमा कार्यक्रम गर्ने काम उनीहरुले गरिरहेका छन् । “स्रोतसाधन पर्याप्त छैन । ३७ जना सदस्यले तीन महिनामा एक–एक हजार रुपैयाँ उठाउँछौं । केही अन्य व्यक्तिगत सहयोग पनि आउँछ,” लोप्चनले पनि समस्या सुनाए ।
०००
पाँचपोखरी पुग्न भोताङबाट भने हिँड्नुको विकल्प छैन । तर, हिँड्नुको मजा नै बेग्लै । छिनछिनमा भेटिने पानीका मुहान, हिउँजस्तै सेतो पानी बग्ने खोला–खोल्सा र छहराले आँखा लोभ्याइरहन्छन् । ठाउँठाउँमा भेडी गोठहरु छन् । हिउँ नपरुन्जेल त्यहाँ मानिसहरु बस्छन् र हिउँ पर्न थालेपछि बेंसीतिर झर्छन् ।
असार, साउन, भदौमा पाँचपोखरीतिर उक्लिनेहरु थुप्रै भेटिन्छन् । जनैपूर्णिमामा त त्यहाँ ठूलै मेला लाग्छ । मेलामा सिन्धुपाल्चोक तथा आसपासका जिल्लाका साथै राजधानीबाट पनि थुप्रै मानिस पुग्छन् । फाट्टफुट्ट विदेशी पनि उकालो चढिरहेका भेटिन्छन् । बाटोको अधिकांश भागमा ढुंगा ओछ्याइएकाले हिँड्न त्यति गाह्रो हुँदैन ।
प्राकृतिक सुन्दरता र संस्कृतिले भरिपूर्ण ट्रेकिङ गन्तव्य हो पाँचपोखरी । यात्राभरि इन्द्रावतीले पछ्याइरहन्छ । जति माथि गयो, इन्द्रावती त्यति कञ्चन सेतो देखिँदै जान्छ ।
इन्द्रावतीको मुहान नै पाँचपोखरी हो । त्यसो त सिन्धुपाल्चोकमा थुप्रै पर्यटकीय स्थलहरु छन् र तिनको प्रवद्र्धनमा स्थानीय लागिपरेका पनि छन् । “सिन्धुपाल्चोकको ह्योल्मो क्षेत्र बुद्धिस्ट महायान सम्प्रदायको पवित्र तीर्थस्थल हो । यसको प्रचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्न सक्ने हो भने हजारौं बुद्धमार्गी यो क्षेत्रमा आउँछन्,” सिन्धुपाल्चोकका युवा सामाजिक अभियन्ता मिङ्मार ग्याल्पो लामा भन्छन्, “बहुचर्चित मेलम्ची खानेपानी आयोजना, भोटेकोशीमा राफ्टिङ, बन्जीजम्प, पाल्चोकी भगवती मन्दिरजस्ता थुप्रै पर्यटकीय स्थलहरु यहाँ छन् । पाँचपोखरी टे«क, हेलम्बु ट्रेक, ट्रेल रनिङ, यहाँको बौद्ध संस्कृति पर्यटकका लागि आकर्षण बन्न सक्छन् ।
०००
पाँचपोखरी पुगुन्जेल नै बाटोमा खाना र बासका लागि छाप्राहरु भेटिन्छन् । दाल, भात र आलुको तरकारी त्यहाँका अस्थायी छाप्रे होटलको कमन मेनु । चाउचाउ त हुने भइहाल्यो । एउटा होटलमा त बोकाको मःमसमेत खान पाइयो ।
भोताङदेखि माथि मोबाइलमा टावर देखिँदैन । छिनछिनमा परिरहने सिमसिम पानी र हुस्सुले नजिकैको साथी चिन्न पनि गाह्रो पर्छ । फटाफट हिँड्न सक्ने हो भने त्यसैदिन बेलुका पाँचपोखरी पुगिन्छ, हैन भने मानेखर्कमा बास बस्नुपर्छ । भुइँमा स्याउला र त्यसमाथि म्याट्रिस ओछ्याएपछि बेड तयार । स्लिपिङ ब्याग बोक्नुभएको छैन भने तपाईंले दुःख पाउन सक्नुहुन्छ ।
जति गन्तव्य नजिकिन्छ, उत्तिकै चिसो बतास चल्न थाल्छ । सुन्दर दृष्यहरुले थकाइ भने महसुस हुँदैन । पाँचपोखरी पुग्नै लाग्दा लौराहरुको थुप्रो देखिन्छ । त्यहाँ आफूले टेकेर गएको लौरो फ्याँक्ने प्रचलन छ । पहाडहरुको बीचमा अवस्थित छ पाँचपोखरी ।
चिसो हावा, पहाड र हिमालको काख, हरियाली वातावरण र एकै स्थानमा पाँचवटा पोखरी ।
इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ ।
मौसम सफा भएका बेला सबै पोखरीमा निलो आकाश र त्यसका बादलहरू ऐनाजस्तै सजिएका देखिन्छन् । पूरै पोखरी घुम्न झन्डै एक घण्टा लाग्छ । पोखरीबाट करिब आधा घण्टा हिँडेर माथि डाँडामा पुगेपछि आँखैअगाडि हिमालहरु देखिन्छन् ।
पाँचपोखरीमा भगवान शिवको मन्दिर छ । त्यहाँको ढुंगामा बयान गरिएको किंवदन्ती निकै रोचक छ ।
झन्डै २३ सय वर्षअगाडि प्रख्यात सिकारी बुम्वा बाइवा सिकार खेल्दै हाल पाँचपोखरी रहेको स्थान पुग्दा धान खेती गरिरहेको देखेछन् । यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला अलप भएछन् । यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याई मन्दिरको स्थापना गरी फर्केछन् ।
त्यसयता हरेक वर्ष साउन शुक्ल एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म यहाँ मेला लाग्ने गर्छ । पाँचपोखरीमा रहेको शिवको मन्दिरलाई मनोकांक्षा पूरा गर्ने मन्दिरको रुपमा लिइन्छ ।
यात्रा गर्नु भनेको मनोरञ्जन गर्नुमात्र होइन । पर्यटक भएर कुनै ठाउँमा पुग्नु भनेको त्यस ठाउँको प्रकृति, कला–संस्कृति, जीवनशैली, रहनसहनसँग आबद्ध र साक्षात्कार हुनु पनि हो । आन्तरिक पर्यटनले यो अवसर दिन्छ । पहिले नेपालीले नै आफ्नो देश चिन्नुपर्छ, त्यसपछि मात्र विदेशीलाई चिनाउन सकिन्छ । ।
पाँचपोखरी आइटिनरी
पहिलो दिन– भोताङ (बस र पदयात्रा)
दोस्रो दिन– पाँचपोखरी (पदयात्रा)
तेस्रो दिन– पाँचपोखरी बसाइ
चौथो दिन– भोताङ (पदयात्रा)
पाँचौं दिन– काठमाडौं (पदयात्रा र बस)
के के बोक्ने ?
स्लिपिङ ब्याग
रेनकोट
म्याट (अप्सनल)
बाक्लो ज्याकेट
क्याप
पानी बोत्तल
ड्राइ फ्रुट्स
हेड ल्याम्प
पावर बैंक
औषधिहरू
खर्च कति लाग्छ ?
जोरपाटी–मेलम्ची बस भाडा– १२० रुपैयाँ
मेलम्ची–तिपेनी बस भाडा– १०० रुपैयाँ
बाटोमा खान बस्न प्रतिव्यक्ति– ४ सय रुपैयाँ
चाउचाउ– ६० रुपैयाँ