ब्लग

हामी कता लाग्ने ?

म्यान्मारमा अहिले (थपनाकै भए पनि) जननिर्वाचित सरकार छ । लोकतन्त्र र अहिंसाप्रतिको अविचलित निष्ठाका कारण नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङसाङ सु ची त्यस सरकारकी मूल हर्ताकर्ता छिन् । यस्तो अवस्थामा कुनै जाति विशेषलाई लक्षित उनैको शासनमा धर्मका आधारमा यसरी जातीय संहार हुन्छ भनेर सायद कसैले कल्पना पनि गरेका थिएनन् । म्यान्मारका सैनिक शासक बेलाबखत रोहिंग्याहरूलाई देशबाट लखेट्ने गर्ने । अधिनायकवादीहरू सत्ताका लागि यस्ता प्रपञ्च गरिरहन्छन् । तर, सु ची त लोकतन्त्रवादी हुन् । उनलाई अहिले जनताले नै सत्तामा पु¥याएका हुन् । सु चीलाई सत्य र मानवीयताका पक्ष लिन सत्ताको लोभ लागेको हो कि डर लागेको हो ? लोभ र डरले विवेकलाई जितेकै हो भने उनको पतन सुरु भयो । सत्तामा रहलिन् तर संसारभरका मानिसहरूको मनमा रहनेछैनन् । 

यति नै बेला भारत सरकारले रोहिंग्या मुसलमानलाई म्यान्मार फिर्ता पठाउने निर्णय गरेको छ । रोहिंग्याहरू शरणार्थीका रूपमा भारत पसेका थिए । अहिले पनि म्यान्मारबाट रोहिंग्याहरू ज्यान जोगाउन भागिरहेका छन् । संसारभर रोहिंग्या मुसलमानहरूमाथि भएको दमनको निन्दा भएको छ । तर, भारतमा शरण लिइरहेका रोहिंग्यालाई भने भारत सरकार देश निकाला गर्ने प्रक्रियामा लागेको छ । शरणार्थीलाई फिर्ता पठाउने सरकारको निर्णयविरुद्ध भारतको सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । तर, अदालतले अन्तरिम आदेश दिएन । यसैले रोहिंग्याहरूलाई मृत्युको मुखमा फर्काउने नरेन्द्र मोदीको निर्णय सायद कार्यान्वयन हुनेछ । यसै पनि प्रधानमन्त्री मोदी बुधबार म्यान्मार पुगेका छन् । उनले त्यहाँ रोहिंग्या समस्याका लागि उग्रवादीलाई दोष दिएका छन् । अर्थात्, मोदीलाई थाहा छ रोहिंग्याहरूलाई फर्काउने हो भने तिनको ज्यान जान सक्छ । तैपनि, उनको सरकार रोहिंग्यालाई फर्काइछाड्न कटिबद्ध छ ।  वाह रे मोदीको हिन्दुत्व !

गौरीको हत्या  
 

भारतको कर्नाटक प्रदेशको बेंगलोर सहरमा पत्रकार गौरी लंकेशको हत्या भएको छ । गौरी निडर पत्रकार मानिन्थिन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दुत्ववादी नीतिकी प्रखर आलोचना गर्ने गौरी ’गौरी लंकेश पत्रिके’की सम्पादक थिइन् । 

गौरीको हत्याबाट भारतीय बौद्धिक समुदाय विचलित भएको देखिएको छ । एनडीटीभीका पत्रकार रवीश कुमारका अनुसार पत्रकारहरू विशेषगरी सरकार र धार्मिक कट्टरताका आलोचकहरू भित्रभित्रै छटपटाइरहेका छन् । परिवारजन र शुभेच्छुकहरूले ’चुप लाग्न’ सल्लाह दिन थालेका छन् रे । रवीश कुमारको कार्यक्रम प्राइमटाइममै अर्की पत्रकार आरफा खानमले भनिन् सबैभन्दा अल्पमतमा त ’लिबरल’हरू छन् । वायरका सम्पादक सिद्धार्थ बरदराजन भन्छन् — प्रश्न उठाउने केहीलाई हिंसाका माध्यमबाट चुप लगाउन सकिन्छ भन्ने मानसिकता समाजमा बढ्दै गएको छ । निरजा चौधरी भन्छिन् — उनी स्तब्ध भएकीछिन् भारतीय समाजको पतनमा । पहिले आलोचकलाई बोलाएर चिया खुवाउने चलन थियो अहिले गोली हानेर आवाज बन्द गरिन्छ ।  

रवीश कुमारका अनुसार गौरीको हत्यापछि एउटा क्रुर प्रवृत्ति सामाजिक सञ्जालमा प्रकट भएको छ । भाजपा वा राष्ट्रिय स्वयंसेवक संगठनको समर्थन गर्दै आएका केही पत्रकार र प्रधानमन्त्री मोदीका समर्थकले गौरीको हत्याको प्रशंसा गरेका छन् । छुद्र शब्द प्रयोग गर्ने यस्ता केही व्यक्तिलाई प्रधानमन्त्री मोदीले ‘फलो’ गरेका छन् रे । रवीशलाई यसमा आश्चर्य र गुनासो छ । तर, घृणा र कट्टरताको ‘मार्केटिङ’ गरेर सत्तामा पुगेका मोदीले कट्टरपन्थीलाई काखी च्याप्दा आश्चर्य लाग्नु पर्ने हो र ? 
भारतको समाज पनि शासनसँगै बिस्तारै अधिनायकवादी हुँदैगएको छ । यसैले त ऐन बनाउँदा नै शरण दिनका लागि व्यक्तिको जीवन संकटमा भए नभएको आधार लिनुको साटो धर्मका आधारमा निर्णय लिने कानुन बनाइएको छ भारतमा !

दुई सय वर्षभन्दा लामो दासत्वबाट भारत स्वतन्त्र भयो १५ अगस्ट १९४७ मा । बेलायतको उपनिवेशबाट भारतलाई स्वतन्त्रता दिलाउन सबैभन्दा धेरै र उल्लेखनीय योगदान मोहनदास करमचन्द गान्धीको थियो भन्छन् भारतीयहरू । गान्धीलाई जीवित छँदै, महात्मा, बापु, राष्ट्रपिता भन्न थालिएको थियो । तिनै महात्मा गान्धीलाई स्वतन्त्रताको वर्ष दिन नहुँदै १९४८ जनबरी ३० का दिन नाथुराम गोड्सेले गोली हानेर मारे । गोड्सेका मानसपुत्रहरू अहिले भारतमा सत्तामा छन् । यसैले भारतीय शासकबाट मानवीय दृष्टिकोण र व्यवहारको अपेक्षा गर्नु अनुचित नभए पनि नभएकोमा  चित्त दुखाउनुको खासै अर्थ छैन । 

अर्कातिर, शासकको व्यवहारबाट जति नै दिक्क माने पनि भारतीय जनतासँगको सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध तोड्न त नेपालीले सक्तैनन् । यसैगरी भारतीय समाजमा देखिने परिवर्तन र प्रवृत्तिबाट पनि नेपाली समाज जोगिन सक्तैन । दुई देशका सरकारबीच सम्बन्धी जति बिग्रे पनि हिन्दी सिनेमाका ’हिरो’हरूको नक्कल गर्न नेपाली युवकहरूले छाड्दैनन् । बसदेखि रेस्टुराँसम्म हिन्दी गीत घन्किरहन्छ । यसैले भारत सरकारको नीति र भारतीय जनमानसको सोचका बारेमा नेपालमा छलफल हुनुपर्छ । कम्तीमा भारत गलत बाटोमा जान लागेको थाहा पाउन त पक्कै पर्छ ।

हाम्रोमा पनि रोहिंग्या मुसलमान बसिरहेका छन् । अहिले पनि भारत आएकाहरू नेपाल पस्न सक्छन् । भारतले जस्तै उनीहरू हिन्दु हैनन् भनेर यहाँ भएकालाई लखेट्ने वा ज्यान जोगाउन नेपाल पस्नेहरूलाई शरण दिने ? अर्थात्, मानवीय धर्म पालना गर्ने कि मोदीको पछि लागेर ’राष्ट्रवादी’ हुने ? 

कुनै बेला आफूले आदर्श ठानेको व्यक्तित्वको निन्दा गर्नु पर्दा भने चित्त दुख्दो रहेछ । मोदी मलाई कहिल्यै मन परेनन् । नेपाली मिडियामा मोदीको पहिलो नेपाल भ्रमण ताका उनको सराहना नगर्ने पत्रकार भेट्नै गाह्रो थियो । म त्यति बेला पनि उनको प्रशंसक भइन । त आङसाङ सु चीको प्रशंसामा दुई अक्षर लेखेर समर्थन गरेको छु । अहिले तिनै सु ची यसरी नरसंहारको तमासेमात्र हैन किनाराकी साक्षी बनेको देख्दा चित्त दुखेको छ । मलाला युसुफजाईले मुख खोली सकिन् सु चीका विरुद्ध । कैलाश सत्यार्थी पनि बोल्नु पर्ने हो ।  

भारतमा सन् १९७४ मा संकटकाल लाग्यो । यति नै बेला नेपालमा संविधान संशोधनका लागि आयोग गठन भएको थियो । पञ्चायतलाई खुकुलो बनाउने गरी संविधानको मसौदा तयार भइसकेको थियो । तर, भारतमा संकटकाल लाग्नेबित्तिकै २०३२ सालको संविधान थप अनुदार बनाइयो । 

यसैले डर लाग्छ कतै नेपाली सरकार र जनमानस पनि भारतकै बाटामा लाग्ने त हैन ? 

सरकार पक्कै बोल्नेछैन । हुनत, मानव अधिकार हननका बेलामा त बोल्नुपर्ने हो तर बोल्नेछैन । नागरिकहरू त बोल्नुपर्ने हो ? सामाजिक सञ्जालमा समेत नेपाली समाजले रोहिंग्या वा गौरीको हत्यामा खासै चासो राखेको देखिन्न । हामी पनि मोदीवादी भारतकै पछि लागेका हौँ त ?       

तपाईंको मत