ad

साहित्य र कला

कार्टुनिस्टसँग कत्रो रिस ?

– रवि मिश्र


अचेल केही अनलाइनहरूले दैनिक पत्रपत्रिकामा छापिएका कार्टुनहरू प्रकाशित गर्छन्, जुन राम्रै पनि हो । अनलाइनमा यसरी कार्टुन प्रकाशित हुँदा कार्टुनहरू सम्बन्धित पत्रिकाका निश्चित पाठकबीच मात्रै सीमित हुन्नन्, विशाल इन्टरनेट दुनियाँभित्र प्रवेश गर्छन् । कार्टुनले धेरै पाठकबीच पुग्ने अवसर प्राप्त गर्छ ।

तर, अनलाइनले कार्टुन प्रकाशित गर्दा पत्रिकाको मात्रै नाम उल्लेख गर्छन्, कार्टुनिस्टको गर्दैनन् । कार्टुनहरू अनलाइनका पाठकसम्म पुगिरहँदा कार्टुनिस्टहरू भने अखबारकै कोलममा छुटिरहेका हुन्छन् ।

पाठकहरूले कार्टुनको, व्यंग्यको मजा लिइरहँदा उसलाई हँसाउने, रमाइलो दिने सर्जक उसबाट गुमनाम रहन्छन् । सम्बन्धित पत्रिकाका नियमित पाठकहरूले त शैली, रङ्ग संयोजन, रेखाले नै पनि कसको कार्टुन हो, ठम्याउन सक्लान् । तर, अनलाइनका पाठकहरू पत्रिकाका वितरण क्षेत्रभन्दा निकै परसम्म हुन सक्छन् । यदि कार्टुनिस्ट आफ्ना कार्टुनसँगै त्यहाँसम्म पुग्दो हो त उसको शैलीले नै पनि उसको सिर्जना उसैको हो भनी त्यहाँसम्म पनि ठम्मिएला । तर, ऊ यतै छुट्छ । पत्रिका पुग्छ, कार्टुनिस्ट पुग्दैन ।

कसैको सिर्जना प्रकाशित गरिसक्दा उसको दुई–चार अक्षरको नाम उल्लेख गरेर ‘यो यसको सिर्जना हो’ भनी भन्न किन गाह्रो लाग्छ ? अनौठो छ ।

नेपालका चलेका अनलाइनमध्ये दुईवटाले नियमितजसो पत्रपत्रिकामा छापिएका कार्टुन प्रकाशित गर्छन्, जसमध्ये एउटा यसमा अलि संवेदनशील देखिन्छ । उसले कार्टुन प्रकाशित गर्दा कोलम र कार्टुनिस्टको नामसहितको कटिङ प्रकाशित गर्छ । उसले सिर्जनासँग सर्जकको नाम छुट्नु हुन्न भन्ने हेक्का राखेको देखिन्छ । तर, फलाना पत्रिकामा छापिएको कार्टुनभन्दा फलाना कार्टुनिस्टको कार्टुन भन्न कन्जुस्याइँ गर्छ ।

अर्को अनलाइन भने कार्टुनमा कार्टुनिस्टको नाम हुनु नै अनावश्यक ठान्छ । उसले कार्टुन प्रकाशित गर्दा कार्टुन कोलमको नाम, कार्टुनिस्टको नाम मुठारेर मात्रै प्रकाशित गर्छ । कतिपय अवस्थामा चित्र नकाटिने छ भने क्रप गरेर हस्ताक्षर पनि उडाउन पछि पर्दैन ऊ । आजका यतिवटा कार्टुन भन्यो, ट्याकट्याक पत्रिकाको नाम लेख्यो, सकियो ।

अरू ‘हटन्युज एक्स्प्रेस’ वाला झिल्के अनलाइनहरूका त कुरै नगरौं । ‘आजका कार्टुनहरू’ भनी गुगल गर्दा जति  नतिजा देखा पर्छन्, त्यहाँ झिल्के अनलाइनहरूले माथि उल्लिखित दोस्रो अनलाइनबाट टप्काएर राखेका भेटिन्छन् । उनीहरूले पत्रिका हेर्ने, कटिङ गर्ने, स्क्यान गर्ने लेठो पनि गर्दैनन् । ‘एक्सप्रेस न्युज’को लाखाधुनीमा स्रोत र सर्जकको खोजी गर्ने समय कहाँ ? समाचार धरी टप्काएरै गुजारा चलाउँदै आएकाबाट क्रेडिट स्रेडिटको अपेक्षा गर्नु र स्याललाई श्रीमद्भागवत महापुराण सुनाएर शाकाहारी बनाउन खोज्नु एकै हो ।

सोसल मिडियामा कार्टुन सेयर गर्नेहरूले हत्तपत्त स्रोत तथा सर्जक खुलाउँदैनन् । प्रायः कार्टुनमा रहेका चरित्रहरूको गालीमा दुई शब्द व्यक्त गर्‍यो, ठेल्दियो । लेखिहाले पनि पत्रिकाको नाम हुन्छ तर कार्टुनिस्ट गायब । कार्टुनिस्टकै नाम उल्लेख गर्ने कि त कार्टुनिस्टकै फ्रेन्डलिस्टका साथी हुन्छन्, कि त अधिक चेतनशील मान्छेमात्रै । कतिपय हाइ–प्रोफाइलवालाले पनि कार्टुन सेयर गर्छन् । पढ्ने देखाउन कहाँ छापिएको लेख्न भुल्दैनन् । कसले बनायो भन्ने कुरा धेरैजसो हाइ–प्रोफाइलसमेत भुल्छन् ।

कतिपय कार्टुनहरू सोसल मिडियामा उधुमै चल्छन् । टाइमलाइन, न्युजफिड, इनबक्स र भित्ता–भित्ता दगुर्छन् । केही समयमै कार्टुनिस्ट छुटिसकेको हुन्छ । पत्रिका अलि परसम्म पुग्छ । यसरी अखबारको नाम उल्लेख गर्दा र कार्टुनिस्टको नगर्दा आमबुझाइ ‘कार्टुन कार्टुनिस्टको नभई अखबारको हो’ भन्ने पर्दो रहेछ । भलै कार्टुन छाप्ने पत्रिकाहरूमा कार्टुन कार्टुनिस्टको हो भन्ने बुझाइ छ । पत्रिकाकै आधिकारिक ह्यान्डिल र अकाउन्टहरू कार्टुनिस्टकै कार्टुन भनी पोस्ट गर्छन् ।

नाम राख्नु र छुटाउनुको एउटा पाटो छ । त्योभन्दा पनि फिटिक्कै चित्त नबुझ्ने कुरा एउटाको सिर्जना अरूको भनिदिँदा हो । मलाई भेटमा कतिपय साथीहरू भन्छन्, “कारोबारको कार्टुन चंै सही थियो है आज ।”

हुन त प्रशंसा गरेको हो । तर, मलाई चाहिँ सननन्न रिस उठ्छ । वर्षौं मेहनत गरेर कार्टुन बनाउन सिक्ने म । दैनिक दर्जनौं समसामयिक विषयमा घण्टांै घोत्लिने म । तालु नै खुइलिएला झैं गरेर सोच्ने म । कन्सेप्ट फुराउने म । त्यस्लाई चित्रमा ढाल्ने म । रङ्ग भर्ने म । अन्त्यमा मेरै हो भनेर सही हान्ने म । अनि कार्टुन चैं पत्रिकाको ?

कार्टुन पत्रिकाको हो भन्ने सोचको जननी ‘कार्टुन सम्पादकले फुराइदिन्छन्’ भन्ने बुझाइ हो जस्तो लाग्छ । धेरै मान्छेहरू सोध्छन्, “कार्टुन बनाएसी क्याप्सन चैं कसले लेख्दिन्छ ? कार्टुन बनाउन थिम उनीहरूले दिन्छन् अनि त्यहीअनुसार बनाउने ?”

बुझाइ र सोधाइझैं सम्पादकले कार्टुन फुराइदिन्थे, क्याप्सन लेख्ने अर्कै हुन्थे, कार्टुनिस्ट टाइपराइटरले टाइप गरेझैं पत्रिकाले दिएको आइडिया र थिममा रेखा/रंग भर्थे (भलै रेखा र रंग भर्नु पनि सिर्जनात्मक काम हो । त्यसमा पनि शैली र शिल्प हुन्छ) भने कार्टुन पत्रिकाको हुन सक्थ्यो । तर, कार्टुन सोच्ने ‘कार्टुनिस्ट दिमाग’ कार्टुनिस्टसँगै हुन्छ । उसैले सोच्छ, फुराउँछ, बनाउँछ । कार्टुनमा कला र शैलीसँगै विचार पनि कार्टुनिस्टकै हुन्छ ।

निश्चय पनि पत्रिकाले कार्टुनिस्टलाई ‘प्लेटफर्म’ दिएको हुन्छ । पाठकबीच पुग्ने अवसर दिएको हुन्छ । यसर्थ कार्टुन सेयर गर्दा यो पत्रिकामा प्रकाशित कार्टुन भनी उल्लेख गर्नुपर्छ तर कार्टुन पत्रिकाको होइन, कार्टुनिस्टको हो । जसरी साझा प्रकाशनले छापेको ‘मुनामदन’ साझा प्रकाशनको होइन, लक्ष्मीप्रसाद देवकोटाको हो । जसरी रेडियो नेपालको स्टुडियोमा गाइएका वा रेडियो नेपालमा बजेका ‘म त लालीगुराँस भएछु’, ‘घुम्तीमा नआऊ है’ जस्ता गीतहरू रेडियो नेपालका हैनन्, नारायणगोपाल र प्रेमध्वज प्रधानका हुन् । त्यसैगरी कार्टुनहरू पत्रिकाका होइनन्, कार्टुनिस्टका हुन् । कार्टुनसँग पत्रिकाको हैन, कार्टुनिस्टको नाम लिऊँ ।

तपाईंको मत