ad

विचार

हिज्जे परिवर्तनले बाल अधिकारमा पारेको असर

शर्वराज आचार्य

पण्डित हेमराज पाण्डेको चन्द्रिका व्याकरण (१९६९) बाट नेपाली हिज्जेको औपचारिक मानकीकरण प्रारम्भ भयो । स्थापित मानककलाई सोमनाथ सिग्द्यालयको मध्यचन्द्रिका (१९७६) ले सामान्य परिमार्जन सहित ६० वर्षसम्म नेपाली हिज्जेको मानक निर्माणमा दिशा निर्देशन ग¥यो । यसबिचमा झर्राेवाद (२०१३), जनजिब्रो (२०२१), नेपाली विभेदक वर्णको पहिचान (२०२८) र नेपाली भाषा अधिगोष्ठी (२०३४) ले नेपाली वर्ण विन्यासका क्षेत्रमा परिमार्जनका आवश्यकता र आधारभूत मान्यता औँल्याए । यसमध्ये वि.सं.२०३४ को अधिगोष्ठी शिक्षाक्षेत्रमा काम गर्ने शिक्षकहरु सर्वसम्मत भई नेपाली हिज्जे सुधार गरेको पहिलो घटना थियो । यसलाई वि.सं.२०३६ मा त्रिभुवन विश्व विद्यालयले शैक्षणिक र वि.संं.२०४० देखि नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले देशका अन्य राष्ट्रिय क्षेत्रमा लागु गरे ।  

अहिले विश्व विद्यालयको अनिवार्य नेपाली र विद्यालय तहका नेपाली भाषामा लेखिएका पुस्तकमा यो सुधार देख्न सकिन्छ । सुधारमा साहित्यकार, लेखक, पत्रकार, मन्त्री र प्रशासकहरुको भन्दा  शिक्षाक्षेत्रमा काम गर्नेहरुको योगदान रहेको छ । योगदान दिनेले विद्यालय शिक्षा र बाल बालिकाका समस्यासँग केन्द्रित भई सुधार गरेका छन् । केन्द्रित हुनेहरु बाल मनोविज्ञान, विद्यार्थी लेखन र उच्चारण समस्यासँग जुधेका छन् । विद्यालय तहमा भने मन्दगतिले सुधार गर्न थालेको वि.सं.२०५६, वि.सं.२०६७ र वि.सं. २०६९ देखि हो ।

समग्रमा नेपाली हिज्जे सुधार भएको विश्व विद्यालय तहमा ३६ वर्ष र विद्यालय तहमा सुधार भएको २२ वर्ष भयो । यसबिचका पत्रकारिता र साहित्यिक लेखनमा पर्दै गएका सुधारका प्रशस्त प्रभाव देख्न सकिन्छ । तर शिक्षाक्षेत्रमा भने सुधारको अधिक प्रभाव देखिएको छ । कुनै एक पटक गरिएको  वर्ण विन्यास सम्बन्धी सुधारका निर्णयले यो प्रभाव देखिएको होइन । पटक पटक गरिएका सुधारका पछाडि शिक्षण अनुभव र शोध अनुसन्धानका शृङ्खला छन् ।  वि.सं. २०७३ देखि  जिम्मेवार संस्थाहरुले शिक्षण अनुभव र शोध शृङ्खलाले ल्याएका प्रभावमाथि औँलो ठड्याउन थाले । कुनै व्यक्तिहरु अदालतको ढोका घच्घच्याउन पुगे । नेपाली हिज्जेको सुधारले एउटा कोर्स लिइसकेपछि मात्र औँला ठड्याउने र अदालतको ढोका घच्याउने काम भयो ।

कोर्स लिइ सकेको र हिज्जे सिकाइमा अभ्यस्त भइ सकेका बाल बालिकाहरुको सहज सिकाइ अधिकारमाथि हस्तक्षेप भयो । हस्तक्षेपले गर्दा अहिले सरकारी पाठ्य पुस्तक र व्यावसायिक प्रकाशन गृहबाट प्रकाशित पाठ्य पुस्तकका नेपाली वर्ण विन्यासमा भिन्नता देखिएको छ । शिक्षा मन्त्रालयबाट प्रकाशन गरिने पाठ्य पुस्तकमा परिमार्जन हुँदै र सहज सिकाइ भएका नेपाली हिज्जे देख्न सकिन्छ भने केही व्यावसायिक प्रकाशन गृहका नेपाली पाठ्य पुस्तकमा लहैलहैमा लागेर पुरानै नेपाली हिज्जेको प्रयोग गर्न थालेको भेटिन्छ । 

प्रारम्भदेखि नै परीक्षा, पुस्तक र पत्रिका प्रकाशनमा बाहेक सरकारी र गैरसरकारी निकायका सूचना, विज्ञाप्ति, आदेश, परिपत्र, निर्णय, फैसला, वादी, प्रतिवादी र अन्य लिखत आदिमा नेपाली हिज्जेको शुद्धताप्रति समुचित ध्यान दिएको देखिँदैन । यस्तै हिज्जेमा देशको राजपाठ चलेकै थियो । अदालतका पैmसला र लिखतका अशुद्ध हिज्जेले नेपालीहरुको घर, जग्गा, जमिन, मौलिक हक र अधिकार सुरक्षित भएकै थिए । यस्तै हिज्जेले देशका ठुला कुर्चीमा बसेर काम गर्नेको जागिर पाकेकै थियो  । गाईजात्रे हिज्जेका लिखतले कुनै पनि नेपालीको हक, अधिकार, जागिर र दायित्वमाथि असर परेको थिएन । औपचारिक लिखतहरुमा नेपाली हिज्जेकोे गाईजात्रा देखेर गोपाल पाण्डेले वि.सं.१९९७ देखि नेपाली वर्ण विन्यासको सबाई लेखे । उनले तालिम दिएर, शिक्षण गरेर शुद्ध नेपाली हिज्जे लेखाउने प्रयास गरे । त्यसपछि पनि शुद्ध वर्ण विन्यासका लागि धेरै नियम बने । नियमका जालोमा नेपाली शब्द, शिक्षक र विद्यार्थी फसे ।

यस जालोबाट उतार्न नेपाली विभेदक वर्ण, भाषाका प्रकृति, प्रवृत्ति र शैक्षणिक पक्षलाई ध्यान दिएर वि.सं.२०३६ देखि वि.संं.२०६९सम्म नेपाली हिज्जे सुधारका प्रयास हुँदै आएका देखिन्छन् । यस सुधारको निरन्तरतामा नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालयको पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रको उल्लेख्य भूमिका रहेको छ । 
उल्लिखित सन्दर्भ दिएर नेपाली भाषा शिक्षा सरोकार समूह—२०७४ ले “नेपाली वर्ण विन्यासको शैक्षणिक पक्षमाथि जिम्मेवार संस्थाहरुले गरेको अनावश्यक हस्तक्षेप” भन्ने पुस्तिका हालै प्रकाशित गरेको छ । किनभने आजसम्म भएका सुधारका प्रयासमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेका कानुनी मान्यता प्राप्त विद्वत् भेलाका निष्कर्ष र विश्व विद्यालय एवं शिक्षा मन्त्रालयका पाठ्यक्रम विकास केन्द्रका कानुनी हैसियत भएका समितिबाट सम्पन्न अधिगोष्ठी, गोष्ठी र निर्णयहरुको योगदान रहेको छ ।

पुस्तिकाले नेपाल प्रज्ञा प्रतिष्ठानले वि.सं.२०७२ कार्तिक ३० गते र पूर्वशिक्षामन्त्री धनीराम पौडेलबाट वि.सं. २०७३ चैत्र २९ गतेका दिन लहैलहैमा लागी धेरै वर्षदेखि लागु भएका नेपाली हिज्जेलाई बदर गर्ने निर्णय भएको कुरा उल्लेख गरेको छ । पुस्तिकामा उक्त निर्णयले कानुनी हैसियत नभएको “मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल” नामको संस्थाका अध्यक्षको मागलाई सम्बोधन गरेको र  उक्त सञ्जाल कानुन बमोजिम कतै दर्ता भएको देखिँदैन भन्ने उल्लेख छ । पुस्तिकाले त विनाविद्वत् भेला र विनागोष्ठीबाट पदीय एकाधिकारको प्रयोग गरीे कानुनी हैसियत प्राप्त निर्णयहरु बदर भएका छन् भन्ने ठानेको छ । बदर भएका कारण उक्त पुस्तिकाले जिम्मेवार संस्थाबाट नेपाली हिज्जेको  शैक्षणिक पक्ष र बाल अधिकारमाथि अनावाश्यक हस्तक्षेप भयो र यसले मुख्यतः निम्न समस्या उब्जाएको छ भन्ने दृष्टिकोण प्रकट गरेको छ ः 

(अ) द सँग जोडिएर आउने संयुक्त वर्णभित्र कुद्यो, खेद्यो, खुँद्यो, गोद्यो, आदि पनि पर्दछन् । यिनमा द्य खुट्टा काटेर नै लेख्ने प्रचलन छ । यस्तै उद्धार, उद्घोषण, तद्भव, सद्भाव पद्म, जस्ता शब्दमा दलाई खुट्टो काटेर संयुक्त अक्षर बनाउने चलन बढेको अवस्थामा द्ध, द्व, द्म, द्य जस्ता विशेष वा विकल्प लिपिचिह्नहरुलाई निर्विकल्प बनाउने निर्णयले बाल बालिकाहरुलाई सजिलोसँग सिक्न पाउने अधिकारबाट वञ्चित गरेको छ । प्रचलन विरुद्धको यस्तो विकल्पहीन निर्णयले शिक्षक विद्यार्थी र सर्वसाधारणमा अझ अन्योल थपेको छ । 

(आ) नेपाली तद्भव शब्दहरुको ह्रस्वदीर्घ लेखनमा प्रचलित सामान्य नियमले  अगाडि र बिचमा इकार उकार ह्रस्व र पदान्तमा आउने इकारलाई दीर्घ  र उकारलाई चाहिँ ह्रस्व लेख्ने सामान्य प्रवृत्ति रहेको देखिन्छ । यसरी सामान्यीकरण भर्ई सरलतातिर जान थालेको अवस्थामा उल्लिखित निर्णयको नियमले त्यसको विपरीत पदान्तको इकार पनि ह्रस्व हुने र उकार पनि दीर्घ हुने अपवाद थपेकाले यसबाट अझ भ्रम बढेको छ । 

(इ) समास भएका वा पद समूहले बनेका एकार्थी शब्द (एकल शब्द) लाई पदयोग गरी एउटै डिकामा लेख्ने निर्णयको नियमले अर्को भ्रम सृजना गरेको छ । दुई शब्दबाट बनेका यस्ता एकार्थी शब्द अन्तर्गत नेपाल सरकार, शिक्षा विभाग, मानव अधिकार, कृषि व्यवसाय, सेवा आयोग वा अध्ययन केन्द्र आदि सयौँ शब्दहरु पर्दछन् । यसबाट निर्णय कर्ताहरुले नै पालना नगरेको र गर्न नसक्ने निर्णय हुन पुगेको छ । यसरी नेपाली भाषाको प्रयोग र प्रचलन विरुद्ध भएका निर्णयले यसका शिक्षक, शिक्षार्थी र साधारण प्रयोक्ताहरुलाई विवादको भुवरीमा अल्झाइ राख्ने देखिन्छ ।  

शैक्षणिक प्रयोजनले विगत वि.सं.२०३६ देखि आजसम्म नेपाली हिज्जेको सम्बन्धी सुधारका प्रयासहरु भएका हुन् । त्यसैले सुधार भएको हिज्जे अन्य क्षेत्रमा भन्दा बाल बालिकाका निम्ति शिक्षाक्षेत्रमा धेरै प्रयोग भएको  छ । हिज्जेलाई जति सक्दो सहज र सरल रूपमा सिक्न पाउनु बाल बालिकाको अधिकार हो । शत प्रतिशत बाल बालिका विद्यालयमा नपढ्ने समयमा पुरानो हिज्जे नियम बनेको थियो ।

वर्तमान सुधारिएको हिज्जेको नियम शत प्रतिशत बाल बालिकालाई शिक्षा दिने सरकारी नीति भएको समयमा बनेका हुन् । सो नीति र नेपाली भाषाका विशेषता अनुसार पछिल्ला समयमा हिज्जे सुधार हुँदै परिवर्तन भएका हुन् । पुरानो हिज्जे लेखनका मत्ता, हात्ती, द्वन्द्व, द्वारा, विद्या, उद्धरण, सङ्घ, पद्म, ह्याकुलो उद्भव, तद्भव  र  परिमार्जित नेपाली हिज्जे लेखनका मत्ता, हात्ती, द्वन्द्व, द्वारा, विद्या, उद्धरण, सङ्घ, पद्म, ह्याकुलो, उद्भव, तद्भव जस्ता नेपाली भाषाका शब्दहरु विद्यालयका बाल बालिकालाई शिक्षण गर्दा सरलता, सुगमता, बाल अधिकार र बालमैत्री  परिमार्जित नेपाली हिज्जेसँग रहेको कुरा पत्ता लाग्छ ।  यस्ता उदाहरण ह्रस्व दीर्घ, पदयोग, पदवियोग र सकारहरुमा पनि भेटिन्छन् ।

सैद्धान्तिक दृष्टिले शिक्षणमा अर्थाघात नहुने नेपाली हिज्जे र पदयोेग वा पद वियोगलाई अशुद्ध र दण्डनीय मानिँदैन । शब्दमा अर्थाघात नबाउने हिज्जेहरुलाई लेखन एकरूपताका निम्ति निमयभित्र बाँधिन्छ ।  विगत ७ वर्षदेखि शिक्षण हुँदै आएका नेपाली हिज्जेलाई नेपाल प्रज्ञा प्रतिष्ठान र पूर्वशिक्षामन्त्री धनीराम पौडेलका उल्लिखित मितिमा भएका निर्णयले अशुद्ध र दण्डनीय बनाएका छन् । यसले बाल बालिकाको अक्षर चिनारी, अक्षर र शब्द लेखन सम्बन्धी सिकाइ जस्ता शैक्षणिक पक्षमा असर पारेको छ । त्यसैले झन् शिक्षा मन्त्रालय जस्तो विद्यालय शिक्षामा ज्यादा ध्यान दिने र अन्य बाल अधिकारको वकालत गर्ने निकायले हिज्जेको शैक्षणिक पक्षमाथि गम्भीर हुनु आवश्यक छ । 
(लेखककै वर्ण निन्यास अनुसार)

तपाईंको मत