काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समय भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार गर्न सरकारबाट आवश्यक सबै सहयोग उपलव्ध हुने बताएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारी सँगको भेटमा आयोगलाई २४ सै घण्टा सहयोग गर्न तयार रहेको बताएका हुन् ।
“तपाईहरु तोकिएकै समय भित्र आफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईहरुलाई सरकारबाट चाहिने आवश्यक सहयोग २४ सै घण्टा दिन तयार छ,” प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले माघ ७ गते भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्नको लागि सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गरे ।
आयोगका पदाधिकारीहरुले सबै राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरि छिट्टै विराटनर, जनकपुर, विरगञ्ज, पोखरा, नेपालगंज, सर्खेत र धनगढीमा अध्ययन टोली खटाउने तयारी गरिरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए ।
गत हप्ता बसेको मन्त्रिपरिषद बैठकले २१ दिनको समय अवधि तोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले गत साउन ११ गतेदेखि काम सुरु गरेको छ ।