काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा आज राती नेपालले लेबनानको सामना गर्दैछ । लगातार दुई खेलमा पराजित भएर समूह चरणबाट बाहिरिसकेको नेपालले नेपालले आज मध्यराती लेबनानको सामना गर्न लागेको हो ।
नेपाल र लेबनानबीचको खेल यूएईको तेह्नान विन मोहमद रंगशालामा नेपाली समय अनुसार राति ११ बजे सुरु हुनेछ । एएफसी यू–२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना सकिसकेको नेपाल र लेबनानबीचको खेल प्रतिष्ठाको लडाईमात्र हुनेछ । किनकी आजको खेल जित्दै दुवै टोली प्रतियोगितामा सुखद अन्त्य गर्ने योजनामा हुनछन् ।
समूह डी मा रहेको दुवै टोली अंक बिहिन छन् । नेपाल पहिलो खेलमा युएईसँग ५–० ले पराजित भएको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । लेबनान पहिलो खेलमा उज्बेकिस्तानसँग ३–१ र दोस्रो खेलमा यूएईसँग १–० ले पराजित भएको थियो । यस समूहमा यूएई शीर्ष स्थानमा रहँदा उज्वेकिस्तान दोस्रो स्थानमा छ । यूएई र उज्वेकिस्तान आजै राती प्रतिस्पर्धा गर्नेछन् ।
समूह चरणको खेलपछि समूहको शीर्ष टोलीले चीनमा सन् २०१८ को जनवरीमा आयोजना हुने एएफसी यू २३ च्याम्पियनसिप खेल्न पाउनेछ । यस्तै उत्कृष्ट उपविजेताले पनि चीनको यात्रा तय गर्नेछन् । एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगितामा सहभागी ४० देशलाई १० समूहमा विभाजन गरेर छनोट खेल खेलाइरहेको छ ।
लेबनानविरुद्धको खेलमा २ नेपाली खेलाडी परितर्वत हुने छन् । दुई पहेँलो कार्ड पाएर प्रतिवन्धमा रहेको फरवार्ड अन्जन विष्ट र पुजन उपकोटीले लेबनान विरुद्ध खेल्ने छैनन् । अन्जनको स्थानमा सन्जोग राईले पहिलो रोजाईँमा खेल्नेछन् भने पुजनको स्थानमा सुनिल बलले खेल्नेछन् ।
लेबनानसँग खेल्ने सुरुवाती नेपाली टोली
गोलकिपर: एलन न्यौपाने
डिफेन्डर:अनन्त तामाङ, कमल श्रेष्ठ, दिनेश राजवंशी, गौरब बुढाथोकी
मिडफिल्डरः हेमन गुरुङ, विश्वास श्रेष्ठ, सुनील बल, सुमन लामा
फरवार्ड: विमल घर्ति मगर (कप्तान), सन्जोग राई