काठमाडौं । संघीय संसदका दुई सय तीन सांसदको स्वाब संकलन गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा रहेको ल्होत्से हलमा भएको परीक्षणमा प्रतिनिधिसभाका १७० र राष्ट्रियसभाका ३३ सांसद सहभागी थिए ।
संसद सचिवालयका अनुसार दुई सय तीन सांसदसहित ४३३ जनाको कोरोना परीक्षण गरिएको छ । संकलन गरिएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने सचिवालयले जनाएको छ । अहिले राष्ट्रियसभामा ५८ र प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । उपत्यकामा रहेका सबै सांसदहरू परीक्षणमा सहभागी भएको संसदका सह–प्रवक्ता दशरथ धमलाले बाह्रखरीलाई जानकारी दिए ।
भोलि (शुक्रबार) ४ बजे संसदको बजेट अधिवेशन सुरु हुँदै छ । त्यसअघि सांसदहरूको रिपोर्ट आइसक्ने र पोजिटिभ आए बैठकमा सहभागी नगराने र नेगेटिभ आएकालाई मात्र सहभागी गराइने धमलाले जनाए ।