काठमाडौं । विश्वका २१५ देशमा फैलिएको कोरोनाको प्रभावबाट नवीन के भट्टराई पनि अछुतो रहन सकेनन् । कोरोनाको संक्रमण भएन होला त्यो अलग कुरा भयो, तर यसको प्रभाव आम नागरिकमा जस्तै उनमा पनि पर्यो ।
होली (फागु पूर्णिमा) भन्दा अगाडिबाटै कोरोनाको कहरमा परे नवीन । होलीमा केही स्टेज कार्यक्रम तय भइसकेका थिए, गर्न पाएनन् । नयाँ वर्षमा नेपालमै आधा दर्जन स्टेज कार्यक्रम तय भइससकेका थिए, स्थगित भए । नेपाल बाहिरका कार्यक्रम पनि गर्न पाएनन् ।
त्यसदेखि बाहेक मेलामहोत्सव तथा अन्य सांगीतिक कार्यक्रम पनि भएनन् । यसको प्रत्यक्ष आर्थिक असर गायक÷गायिकालाई पनि परिरहेको उनी बताउँछन् ।
“कार्यक्रम नहुँदा यसबाट हुने आर्थिक लाभ त घाटा भयो नै, यसको मार त हामीले भोग्नु नै प¥यो,” नवीन के भन्छन्, “कोरोना संक्रमण हुन छाडेको कम्तीमा एक वर्षपछि सम्म इन्टरटेन्मेन्ट क्षेत्रमा पर्छ जस्तो मलाई लाग्छ ।” कोरोना संक्रमण रोकिएपछि पनि एक वर्षसम्म सांगीतिक स्टेज कार्यक्रम हुनेमा उनी शंका गर्छन् ।
नवीन के जतिबेला सांगीतिक करिअरको उत्कर्षमा थिए, त्यो समय क्यासेट तथा सीडीको बिक्री पनि उत्कर्ष मै थियो । लाखौं कपी क्यासेट तथा सीडी बिक्री हुन्थे । म्युजिक कम्पनीले नठगे लाखौं रुपैयाँ रोयल्टी आउँथ्यो । तर, समयको गतिसँगै प्रविधिको विकासले सीडी क्यासेट बिक्रीको चलन अन्त्य भयो । डिजिटलाइज भएपछि मोबाइल, पेनड्राइभ र युट्युबमा गीत आउन थाले ।
क्यासेट र सीडीबाट हुने आम्दानी बन्द भयो । युट्युबबाट हुने सीमित आम्दानीबाहेक सांगीतिक कार्यक्रममा निर्भर हुनुपर्ने अवस्था आयो । त्यसमा पनि बेलाबेलामा आउने प्राकृतिक प्रकोप तथा महामारीले असर गर्दा कलाकारले त्यसको प्रत्यक्ष असर भोग्नु परिरहेको छ ।
० ० ०
नयाँ वर्षका लागि उनको विशेष तयारी थियो । स्रोता तथा दर्शकका लागि सांगीतिक कोशेली लिएर आउँदै थिए । ९ वटा गीतसहितको एल्बम सार्वजनिक गर्ने उनको योजना थियो । काम सबै सकिएको थियो । ‘जाऊ तिमी...’ र ‘म त हारिदिन्छु...’ को भिडियो पनि तयार भइसकेको थियो । एल्बमको नाम जुराइसकेका थिए । नाम राखेका थिए ‘३७’ । ३७ उनको लक्की नम्बर हो ।
तर सबै सपना कहाँ पूरा हुन्छन् र ? नहुँदा रहेछन् । ‘३७’ सार्वजनिक गर्ने चाहना अधुरै रह्यो ।
‘जिन्दगीमा कहिले छाया कहिले माया
मुहारमा कहिले हाँसो, कहिले आँशु...’ नवीनको गीतले भने जस्तै त रहेछ जीवन । कहिले घाम त कहिले छाया ।
० ० ०
नवीन केको विचारमा आर्ट भनेको फ्रिडम हो । खुला आकाश जहाँ कसैको रोकतोक हुँदैन । लकडाउनमा कलाकारले फुर्सद पाए । स्वतन्नत्र पनि थिए । तर उनले भने जस्तो स्वतन्त्रता कहाँ छ र । मन अस्थिर छ ।
दिमागमा कोभिड–१९ को त्रास छ । यसको असर कहिलेसम्म निश्चित छैन । यस्तो अवस्थामा साँच्चै भित्री मनबाट कला सिर्जना गर्न कठिन हुने नवीनको अनुभव छ ।
उनले यो लकडाउनमा केही प्रयास नै नगरेका त होइनन् । तर हृदय छुने गरी कुनै सिर्जना भएन । त्यसो त यो उनको पहिलो अनुभव होइन, भूकम्प भोगेको पनि धेरै भएको छैन ।
उनले अहिले त्यति धेरै प्रयास पनि गरेनन् । कारण भर्खरै एल्बम तयार पारेका थिए । दिमागमा त्यसको थकान थियो । लकडाउन लामो समयको थकान मेट्ने अवसर पनि भयो नवीनका लागि ।
दर्जनौं लोकप्रिय गीतका गायक, लाखौंका प्रिय गायक नवीनलाई धेरैले आग्रह गरे, लाइभ आएर गीत गाइदिनु प¥यो । आफ्नै स्रोता तथा दर्शकले गरेको आग्रहलाई कसरी नकार्न सक्थे र उनी । त्यसैले उनी पटकपटक फेसबुक पेजमार्फत् लाइभमा आए र दर्शक तथा स्रोताको आग्रहलाई पूरा गरे ।
० ० ०
लकडाउन सुरु भएको पनि करिब डेढ महिना भयो । जनता आफ्नै स्वास्थ्यका लागि त हो भनेर घरभित्र बसेका छन् । तर, विस्तारै लकडाउनको विकल्प जनताले खोज्छन् जस्तो नवीनलाई लाग्छ । उनले भने जस्तै अमेरिका र ब्राजिलमा दिनहुँ व्यापार व्यवसाय खोल्न माग गर्दै जनता सडकमा उत्रिन थालिसकेका छन् ।
स्पेन, इटली तथा फ्रान्समा तेहोरो अंकमा कोरोना संक्रमणका कारण मृत्यु भइरहँदा पनि लककडाउनमा छुट दिन थालेका छन् । भारतमै पनि दैनिक ४ हजार कोरोना संक्रमित थपिरहँदा पनि लकडाउनमा फरक योजना ल्याइरहेको छ ।
“लकडाउनले कोभिड–१९ को जोखिम त कम होला तर अभाव र घाटामा पनि घरभित्रै थुनिनुपर्दा त्यसले भोलिका दिनमा मानसिक र शारीरिक स्वास्थ्यमा पनि समस्या आउन सक्छ भन्नेमा सरकार सचेत हुनुपर्छ,” नवीन के भन्छन्, “अब लकडाउनको मोडालिटीमा परिवर्तन गर्नुपर्छ ।
संक्रमण देखिएका र भएका जिल्लामा थप कडाइ गर्दै अहिलेसम्म संक्रमण नै नदेखिएका र कम जोखिम भएका जिल्लामा खोल्दै जानु पर्छ । तर बोर्डर भने सिल गर्नुपर्छ ।”