काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला उद्योगलाई कोरोना भाइरसको असरबाट बचाउन आगामी ५ वर्षका लागि सफ्ट लोनको दीर्घकालिन व्ववसाय प्रर्बद्धन कर्जा अपरिहार्य रहेको जनाएको छ ।
कोरोना भाइरसका कारण अमेरिका, युरोप तथा अन्य पश्चिमी मुलुकहरुमा बढी आश्रित हस्तकला उद्योग ब्यवसायले रोजगारी श्रृजना गरी निर्यात ब्यापारमार्फत बिदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा समेत उल्लेख्य योगदान पुर्याइ रहेकोमा यो भाईरसको असरबाट हस्तकला व्यवसाय धरासायी र अन्धकारमय हुन पुगेको महासंघले जनाएको छ ।
केही हस्तकलाका सामग्रीहरु अन्तर्राष्ट्रिय बजारमा सीपमेन्ट गरि पठाउने क्रममा रहेको अवस्था र केही बजारबाट प्राप्त गरेको अर्डर पुर्ति गर्न बनाउंदै गरिरहेको अवस्थामा स्वदेशी तथा बिदेशी क्रेताहरुको अर्डरहरु पनि रद्द हुन जाँदा आफ्नो लगानी पूँजीको साथै बैंकहरुबाट लिएको ऋण र व्याज समेत तिर्न नसक्ने नाजुक अवस्थामा पुगेको भन्दै महासंघले हस्तकला उद्योग व्यवसाय नै धरापमा पर्ने स्थिती समेत उत्पन्न भएको छ ।
११ लाख भन्दा बढि जनशक्तिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको तथा निर्यात ब्यापार र आन्तरिक बजारको कारोबार समेत गरी २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याई रहेको हस्तकला उद्योग ब्यवसायलाई सरकारबाट घोषित लकडाउन पश्चातका दिनहरुमा आउने समस्या र चुनौतिहरुको परिकल्पना गर्दा समस्त हस्तकलाकर्मी उद्यमी ब्यवसायीहरु आफ्ना भविष्य प्रति चिन्तित र भय्वित भई त्रसित मानसिकतामा जिवनयापन निर्वाह गर्न बाध्य भएको महासंघले जनाएको छ ।
महासंघले बैंकको ब्याज लागतलाई न्यूनिकरण गर्न हस्तकलाको निर्यात, उत्पादन मुलक हस्तकला र कृषि क्षेत्रको कम्पनी तथा फर्महरुको एक वर्षको ब्याज २ दुई प्रतिशत छुटमा पुर्नःकर्जाको व्यवस्था गरिदिनुका साथै सरकारबाट कृषि तथा महिला उद्यमीहरुलाई मात्र प्रदान गर्दै आएको सहुलियत कर्जा सुविधा सम्पूर्ण हस्तकला उद्यमीहरुलाई पनि प्रदान गर्नुुपर्ने माग गरेको छ ।
उक्त ऋण कम्पनी तथा फर्मले किस्ताबन्दिमा दुई वर्ष भित्र तिर्ने व्यवस्था मिलाइनु पर्ने भन्दै महासंघले बैंकहरुले हस्तकला क्षेत्रका साना उद्यमी, ब्यवसायी तथा कलाकार, कालिगढहरुका लागि कम्तिमा पनि २० लाखसम्म बिना धितो नेपाल हस्तकला महासंघको सिफारिशमा बढीमा ६ प्रतिशतसम्म ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ ।