काठमाडौं । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतबारदेखि सुरु गरेको चौबीसै घण्टा हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले नेपाल फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेको संघले जनाएको छ ।
संघका महासचिव हेमराज शर्माका अनुसार संघमा प्राप्त फोनका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेका छन् । हटलाइनमा प्राप्त सूचनाअनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले विदेश जान आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् ।
मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जान तयारी अवस्थामा रहेको देखिएको छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीबारे नेपालमा रहेका अभिवाभकहरू धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्ना छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसका लागि सहजीकरण गरिदिन संघसमक्ष आग्रह गरेका छन् । सोमबार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाणा, नयाँदिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेको जानकारी आएको संघले जनाएको छ ।
यूएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युकेलगायत देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघसमक्ष आ–आफ्ना समस्या राखेको महासचिव शर्माले जानकारी दिए ।
विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिसा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरूले गैरआवासीय नेपाली संघसमक्ष आग्रह गरेको पनि जनाएको छ । गैरआवासीय नेपालीबाट प्राप्त सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कूटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए ।
यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको संघको कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।