पोखरा । सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले यसबारे निर्णय समेत गरेको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मंगलबार आदेश जारी गर्दै सेना परिचालन गरेका हुन् ।
आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसलाई प्रभावकारी बनाउन नेपाली सेनालाई परिचालित हुन अनुरोध गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरी सोही ऐनको दफाको ६ को उपदफा २ बमोजिम नेपाली सेनाको अर्जुनबाण गण घोडाबाँधे ब्यारेकलाई परिचालित हुन अनुरोध गरिएको छ ।
अर्जुनबाण गणका गणपति मिलनध्वज खाँडले आफूहरु प्रजिअको आदेशअनुसार नै परिचालित भएको बताए ।
मंगलबार देशभर लकडाउन भए पनि बागलुङमा त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि निषेधाज्ञा जारी गर्ने र सेना परिचालनको तहमा प्रशासन पुगेको हो । सर्वसाधारणले लकडाउन उलंघन गरेपछि जिल्ला सुरक्षा समितिको बैठकमा त्यसको समिक्षा भएको थियो । बैठकलगत्तै प्रजिअ सैंजुले ९ बुँदे आदेश जारी गरेका हुन् । मंगलबार सर्वसाधारण सडकमा हिँडिरहे भने बाइक, जिप र साना गाडीहरु पनि फाटफुट रुपमा चलेका थिए ।
आदेशमा औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट ननिस्कने, अत्यावश्यक सवारी साधनबाहेका सबै सवारी साधनमा पूर्ण रोक लगाउने लगायतका केन्द्रीय सरकारले जारी गरेका आदेशहरुका विषयवस्तुहरु नै समावेश गरिएको छ ।