काठमाडौं । सैनिक मुख्यालयको भवन निर्माणमा संलग्न ‘पेटी ठेकेदार’ रकम नपाएपछि धर्नामा बसेका छन् । सैनिक मुख्यालय निर्माणको जिम्मा केसी कन्स्ट्रक्सनले पाएको थियो । केसी कन्स्ट्रक्सनले क्वेस्ट इन्फ्रालाई सब–कन्ट्रयाक्टरको जिम्मा दिएको थियो । क्वेस्ट इन्फ्राबाट ‘पेटी कन्ट्रयाक्टर’ का रूपमा काम गरेका निर्माण व्यवसायीले रकम नपाएपछि धर्नामा बसेका हुन् ।
पेटी कन्ट्रयाक्टर, श्रमिक र सप्लायर्सले करिब २५ करोड रुपैयाँ पाउनुपर्ने र उक्त रकम दिलाइदिन सेनाको ध्यानाकर्षण गराउन धर्नामा बस्नु परेको रमेश सिवाकोटीले बताए । सेनाले मध्यस्तकर्ताको भूमिका गरिदिए आफूहरूले रकम पाउने उनीहरूको भनाइ छ । केसी र क्वेस्ट हाल आफूहरूको सम्पर्कमा नआएको सिवाकोटीले बताए ।
‘‘हामीसँग सम्पर्कमा रहँदासम्म केसी र क्वेस्टले सेनाबाट रकम नपाएको बताएका थिए,’’ सिवाकोटीले भने, “ठेकेदार अर्को भए पनि सेनाको अन्डरमा काम गरेका हौं । सेनाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिदिओस् ।”
यता, सेनाले भने मुख्य ठेकेदार कम्पनी केसी कन्स्ट्रक्सनलाई सबै रकम भुक्तान गरिसकेको जनाएको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले केसी कन्स्ट्रक्सनलाई सबै रकम भुक्तानी गरिसकेको जानकारी दिए ।
उनले मुख्य कन्ट्रयाक्टरले सब कन्ट्रयाक्टरसँग गरेको सम्झौता सेनालाई जानकारी नहुने बताए ।
सेनाको मुख्यालय भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको हो ।