site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
हामीले लोकतन्त्र होइन, दलतन्त्रमा पनि नेतातन्त्र चलाइरहेका छौं

संविधान जारी गरिसकेपछि एउटा अवस्था सिर्जना भएको छ । संविधान कार्यान्वयनका लागि जुन जटिलता देखिएको छ त्यो अस्थिरताले मुलुक दुस्चक्रमा फस्दै गइरहेको छ । यसबाट पनि पुष्टि हुन्छ कि हामीले संविधान निर्माण गर्दा एउटा गल्ति गरेका छौं । शासकीय स्वरुपमा चाहे त्यो प्रत्यक्ष राष्ट्रपति होस् वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री गराउन सकेको भए मलाई लाग्छ यो अस्थिरताको दुस्चक्रमा हामी फस्ने थिएनौं । तर के यो कुरा हामीलाई पहिले थाहा थिएन ? प्रश्न यहाँ छ ।

म मेरो पार्टीको तर्फबाट भनिरहँदा साँच्चै भन्ने हो भने अहिलेको अवस्था जे आइरहेको छ यो भन्दा पनि दर्दनाक अवस्था आउँछ भन्ने कुरा राम्रोसँग थाहा थियो र छ पनि । हिजो थाहा नभएको पनि होइन । धेरै पटक बाबुराम भट्टराई, चन्द्र भण्डारी लगायतका धेरै नेतासँग हामीले यसबारेमा छलफल गरेका पनि हौं । 
जतिबेलासम्म हामीले समानुपातिक निर्वाचन प्रणाली अर्थात् मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन । यस्तो अवस्थामा संसद सबैभन्दा बढी उपस्थिति हुने थलो बनोस् । विभिन्न जाती भाषा, धर्म, संस्कृतिको समानुपातिक प्रतिनिधित्व गर्ने थलो बनोस् । र सुशासनका लागि, एउटा राम्रो शासनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी बनोस् । यो दुई ओटाको सन्तुलनबाट मात्रै प्रतिनिधित्व पनि राम्रो हुन्छ ।

शासन र सुव्यवस्था पनि राम्रो हुन्छ । मुलुकले छिटो भन्दा छिटो सम्वृद्वि हासिल गर्न सक्छ । अस्थिरतको दुष्चक्रबाट पनि मुलुकलाई मुक्त गराउनु सकिन्छ । । त्यो थाहा नभएको कुरा हो र ? थाहा भएको कुरा हो । मलाई के लाग्छ भने जानी जानी, थाहा पाएरै हामी अर्काे व्यवस्थामा गयौं । जुन व्यवस्थामा कहिले पनि कसैको बहुमत आउँदैन । कहिले कसैको बुहमत नआउनु भनको कहिले पनि स्थायित्व हुँदैन । कहिले पनि स्थायित्व नहुनु भनेको मुलुकको सम्वृद्वि र विकास हुनै नसक्नु हो । त्यसकारणले यसबारेमा हामीले गम्भिरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।

हामीले त्यतिबेला गल्ति गर्यौं । हाम्रो पार्टीले दुइपटकको संविधानसभाको निर्वाचनमा जाँदा घोषणा पत्रमा राखेकै हो । तर हामीले तर्क के दियौं भने संविधान भनेको सम्झौताको दस्तावेज केही लिन पर्यो केहि छोड्नपर्यो । केही लिन पर्ने केहि छोड्नुपर्ने अवस्थामा जुन कुरा लिनुपर्ने हो त्यो कुरा छोड्ने र जुन कुरा छोड्नुपर्ने हो त्यो कुरा लिने काम भयो । यो कुरा नेकपा एमालेमा मात्र लागु हुँदैन । माओवादी केन्द्रमा पनि लागु हुन्छ । बरु नेपाली कांग्रेस सँधै संसदीय पद्दतीको कुरा ग¥यो । केही साथीहरु कांग्रेसभित्र पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने हुनुहुन्थ्यो । नेपाली कांग्रेस के कारणले हो पटक पटक त्यही भन्यो । पटक पटक अस्थिरता आउँदा पनि यही संसदीय व्यवस्था छाड्दै छाडेन ।
देशको जनमत पनि प्रत्यक्ष कार्यकारी कै पक्षमा थियो । मलाई लाग्छ । पहिलो संविधानसभाको बेला पनि त्यही थियो । दोस्रोपटक पनि त्यही थियो । म रहेको समितिमा छलफल गर्ने बेला पनि प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने भारी मत थियो । दुइ तिहाइ भन्दा बढी मत थियो । तर हामीले त्यसलाई मानेनौं । हामीले संसदमा भएको संख्या र सम्झौतालाई मात्र मान्यौं । 
वास्तवमा लोकतन्त्रमा नागरिक सार्वभौम हो । दल भनेको त नागरिकहरुको प्रतिनिधित्व गर्ने कुरा हो । जुन दलले नागरिकको भावना प्रतिनिधित्व गर्न सक्दैन त्यो दल सार्वभौम हुन सक्दै सक्दैन । नागरिकहरुको भावना प्रतिनिधित्व गर्नका लागि मात्रै दलहरुको व्यवस्था गरिएको हो । लोकतन्त्रको व्यवस्थित सञ्चालनको लागि दलहरुको व्यवस्था गरिएको हो । त्यो दलले नागरिकको सबभन्दा भोट पाएको नागरिकको अभिमत बोक्न सक्नुपर्दछ । विचारको अभिमत लिन सक्नुपर्दछ । हो पछाडि बदलिन्छ अनि फेरि नागरिकले अर्काे मत दिन्छ । हो त्यस्तो भावना दलहरुले बोक्न सक्नुपर्दछ । हामीले यस हिसावबाट भन्ने हो भने लोकतन्त्र चलाइरहेको छेनौं दलतन्त्र चलाई रहेका छौं । फेरि दलतन्त्र पनि चलेको देखिंदैन नेतातन्त्र चलेको छ ।

म उदाहरण दिन चाहन्छु, आज यो मञ्चमा विभिन्न पार्टीबाट आउनुभएको छ । यहाँ सबै पार्टीका टप टप नेताहरु हुनुहुन्छ । प्रत्यक्ष निर्वाचित भयो भने एउटा पार्टीका दुई ओटा तिनओटा टपहरु त छँदैछन् । त्यहाँ के हुन्छ भने एउटा आउँछ, अर्काे बाँकि सबै जान्छन् । अर्काे पाँच वर्ष पछाडि करिब करिब असान्दर्भिक हुन्छन् । पुस्तान्तरण हुन सुरु गर्छ प्रत्यक्ष निर्वाचित कार्यकारीले । अहिले त के रमाइलो छ भने जतिखेर पनि दुध च्यूरा मुछ्न पाइएकै छ । खिचडी बनाउन पाइएकै छ । प्रधानमन्त्रीको सपना देख्न पाइएकैछ । प्रत्यक्ष निर्वाचित भएपछि त एउटा हुन्छ । अनि अरुका सपना सबै हराउँछन् । यसले गर्दा जहिले पनि बिहानदेखि बेलुकासम्म प्रधानमन्त्रीको सपना देखिरहनको लागि हाम्रो ठूला नेताहरु यो चाहनुहुन्न । 
मुलुकको लोकतन्त्रलाई संस्थागत विकास गर्ने हो भने, जनआवाज र जनआवाजलाई मुखरित गर्ने हो भने प्रतिनिधित्वलाई सुनिश्चित गर्न संसद र जनताको अभिव्यक्तिलाई प्रतिनिधित्व गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आजको आवश्यकता हो । यसले मात्र स्थायित्व निर्माण गर्न सक्छ । यसले मात्र मुलुकलाई सम्वृद्वि र विकासमा लैजान सक्छ । आज देश बनाउने कुरा छोड्नुस । एउटा पुल बनाउने मात्र उदाहरण दिन्छु । एउटा अघिल्लो मन्त्री एक ठाउँ पुल बनाउने भन्छ । अर्काे मन्त्री आउँछ डिजाइन गर्न लाइसकेको त्यो पुल हुँदैन भन्छ फेरी अर्को पुल बनाउन लगाउँछ । फेरि अर्काे आइपुग्छ । एउटा सानो पुल र बाटोमा पनि हेर्न सकिन्छ ।

हामी कति धेरे डरलाग्दा छौं भने हाम्रो सरकार एउटा सरकारबाट अर्काे सरकार बदलिन्छ । अघिल्लो सरकारले जुन बजेट ल्यायो त्यो कार्यान्वयन गरिन्न । बरु त्यसलाई पूरक बजेट भन्ने, अर्काे बजेट भन्ने, अर्काे बजेट भन्ने त्यसलाई कार्यान्वयन नगर्ने । नयाँ पनि बनाउन सक्दैन, त्यो पनि कार्यान्वयन गर्दैन । अन्तिममा हात लाग्यो शुन्य । मुलुकको यो अवस्था छ । यसले कम्तिमा यस्तो अस्थिरताबाट स्थिर त बनाउँछ नि ।  हामीले आयोजना बहुबर्षीय बनायौं । चलखेल नहोस् भनेर यस्तो गर्यौं । त्यस्तै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सरकार आउँदा फरक नपार्नको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक छ । 
हामीले प्रत्यक्ष कार्यकारी नबनाएर संविधानको ओज पनि घटायौं । मुलुकको आवश्यकतालाई पनि बुझेनौं । जनताको भावनालाई पनि बुझेनौं । यसकारणले हामी सबै संविधान संशोधनको रडाकोभित्र के प्रत्यक्ष निर्वाचित कार्यकारी पर्न सक्दैन ? के अबको संविधान संशोधन गर्दा एउटा मूर्त विषय प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुन सक्छ कि सक्दैन ? सक्नुपर्दछ, हुुनुपर्दछ । यो मुलुकको भविष्य हो । 
म प्रत्यक्ष निर्वाचित कार्यकारीलाई पार्टीभित्र घुसाउने एक सदस्यको हिसाबले म आज पनि भन्न चाहन्छु हिजो हाम्रो गल्ति भएकै हो । आत्माआलोचना यहाँ गर्न चाहन्छु । यसले मैले जसरी विगतमा भएको गल्तिलाई महसुस गरी सुधार गरौं । हामीहरु मौकामा अप्ठ्यारो पर्दा यो कुरा बोलिहाल्ने पछि पछि सजिलो परिस्थिति आउँदा खेरि छोडिहाल्ने । यस्तो काम पनि गर्न हुँदैन । यो गल्तिमा सबै आत्मआलोचित हुनुपर्दछ । विशेषगरी जसले आफ्नो घोषणापत्रमा लेखेको छ । जसले त्यही एजेण्डमा भोट मागेको छ र त्यसले संविधान निर्माण गर्दा छोडेको छ उसले बढी आत्मालोचना गर्नुपर्दछ । र साँचो कुरा लिएर जनतामा आउनुपर्दछ ।

हामी यसमा तयार छौं । यो गम्भिर कुरा हो । दुनियाँले कति धेरै फड्को मारिसके । हामीलाई समानुपातिक समावेशी पनि चाहिएको छ । हामी विविधतामा पनि छौं । त्यो संसद बन्न सक्छ । तर त्यही कार्यकारी बन्न थाल्यो भने मुलुकको सम्वृद्धि हुन सक्दैन । यसलाई विशिष्ट तरिकाले बुझ्नुपर्दछ । यसप्रति हामी सबै गम्भीर हुनुपर्दछ ।  
मेरो अर्को प्रस्ताव यदि हामी सहमत हुन सक्छौं । यसमा हजारौं तर्क छन् । सबै तर्क आज म दिन चाहन्न । मुलुकलाई सम्वृद्वि, विकास चाहिएको छ । जनताको जीवन सुन्दर बनाउनुपर्नेछ । सबै जनताको भावनाको नेतृत्व हुनुपर्नेछ । सार्वजनिक प्रशासन फितलो छ । विकास प्रशासन फितलो छ । राष्ट्रियता कमजोर हुँदै गइरहेको छ । र हामी संसरमा झन् अरु अगाडि जाँदैछन् हामी पछाडि जाँदैछौं । अहिले यस्तो अवस्था देखिएको छ । 
यो अवस्थाबाट मुलुकलाई मुक्त गरेर प्रगतितर्फ बढाउने हो भने प्रत्यक्ष कार्यकारी अवश्यक छ । यसको लागि हामी क्याम्पेन गर्न तयार छौं । म तयार छु । म मेरो दललाई कति तयार गराउन सक्छु । त्यो गर्छु । 
(राष्ट्रिय युवा अभियानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले युवा नेता रवीन्द्र अधिकारीले राखेको विचारको सम्पादित अंश)
 

प्रकाशित मिति: बुधबार, पुस ६, २०७३  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro