
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह आइतबार (चैत २४) सम्म बिदा लिएको खुलेको छ । बालेन दोलखाको भीमसेन गएकाे उनको सचिवालय स्रोतले जनाएको छ ।
"मेयरसाब आइतबारसम्म बिदामा हुनुहुन्छ, त्यसपछि कार्यालयमा आउनुहोला," सचिवालय स्रोतले भन्यो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने विभागीय प्रमुखहरूसँग बैठकमा छन् । बिहीबार गुरागाईंले बालेनको असहमतिका बीच महानगर पुगेर हाजिर गरेका थिए ।
बिहीबार नगरप्रहरी र कर्मचारीबीच घम्साघम्सी हुँदा बालेन काभ्रेको पाँचखालमा थिए । आज भने उनी दोलखा पुगेको खुलेको हो ।
काठमाडौं टावरको प्रक्रिया नपुर्याएर नक्सा पास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं मेयर शाहको निलम्बनमा परेका थिए । निलम्बनमा परेको तीन महिना १४ दिनपछि बिहीबार (चैत २१ गते) महानगरमा हाजिर गर्न पुगेका थिए ।
तर, उनलाई राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीले कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको थियो । नगरप्रहरीको बल प्रयोगका बाबजुद गुरागाईं महानगरका कर्मचारी र जनतप्रतिनिधिको सहयोगमा कार्यालय प्रवेश गरेका गरेका थिए ।