
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारसँग चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकारबारे जानकारी मागेका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकसँग उनले यस घटनामा सरकार पनि जिम्मेवार हुनुपर्ने बताए ।
“तीनकुने नै किन ठाउँ दिइयो ? मुख्य योजनाकार को हो ? कसले जिम्मेवारी लिने ? राजावादी भनेर सबैलाई लगाएर हुँदैन,” पाण्डले प्रश्न गरे ।
चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रशर्दन हिंसात्मक हुँदा दुईजनाको ज्यान गएको थियो । राजावादीले निजी, संस्था र सरकारी सम्पत्तिमा क्षति पुर्याएका थिए ।
“समाजवादी मोर्चाको एउटा घटकको कार्यालयमा समयमै सुरक्षाकर्मी पुगेको भए आगलागी हुँदैनथ्यो भन्ने छ । किन सुरक्षाकर्मी पुगेन ?,” सांसद पाण्डेले प्रश्न गरे, “दुर्गा प्रसाईंलाई आफ्नै अघि हुँदा नसमाउने, अनि पक्राउ गर्ने योजना ? छानबिन आयोग बन्छ कि बन्दैन ?”