काठमाडौं । लगातार दोस्रो खेलमा पराजय भएसँगै नेपालको एएफसी यु–१६ महिला च्याम्पियनसिपमा छनोट हुने सम्भावना सकिएको छ । घरेलु मैदानमा म्यानमारविरुद्ध आज भएको दोस्रो खेलमा ११–१ गोलको लजास्पद हारसँगै नेपालको सम्भावना सकिएको हो ।
समूह “ई” अन्तर्गतको पहिलो खेलमा फिलिपिन्ससँग पराजय भागेको नेपाली टोली दोस्रो खेलमा लयमा फर्किन सकेन । खेलको ४ औ मिनेटमा गोल खान पुगेको नेपाल एकपछि अर्को गोल खान पुग्यो । नेपालमाथि फराकिलो जित निकाल्न म्यानमारकी खिन म्याट नोइले सर्वाधिक ४ गोल गर्दै टिमलाई ११—१ गोलले जित निकाल्न योगदान गरिन् ।
जित्नैपर्ने दबाबका बीच म्यानमारबिरुद्ध मैदान उत्रिएको नेपाली टोलीका लागि खेलको ७५ औ मिनेटमा निकिता ठोकरले एक गोल फर्काइन् । पहिलो हाफमा १० गोलले पछि परेको नेपालले दोस्रो हाफमा केही सुधारीएको खेल पस्किएपनि गोल गर्न सकेन ।
लगातार दोस्रो खेलमा बिजयीसँगै म्यानमारको एएफसी यु–१६ महिला च्याम्पियनसिप खेल्ने पक्का भएको छ । यस्तै आज भएको अर्को खेलमा फिलिपिन्सले मलेशियालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।