गत हप्ताका दैनिक पत्रिकाको मुख्य समाचार बिम्स्टेकको सम्मेलन भएता पनि पाठकका दृष्टिकोणले अन्य समाचार रोचक देखिएका छन् । गएको हप्ता कान्तिपुरले पप्पु कन्स्ट्रक्सनले गरेको अनियमित कामको पोल खोल्यो भने अन्नपूर्ण पोस्टले नेपाल वायुसेवामा भएका पाइलटको संख्या तथा वाइड बडी जहाज खरिदमा भएको अनियमितताको समाचार प्रकाशित गर्यो ।
कान्तिपुर पप्पु कन्स्ट्रक्सनको पछाडि रौतहटको डुंगा दुर्घटनापछि लागेको देखिन्छ । सो जिल्लाको लालबकैया नदीको टिकुलिया घाटमा एक डुंगा डुब्दा केही व्यक्ति बेपत्ता भएका थिए । सो स्थानमा लामो समय देखि ठेकेदारले पुल नसकाएको र डुबेको डुंगा पनि
निर्माणाधिन पुलको पिलरमा ठोक्किएर डुबेको कारण सर्वसाधारण चिढिएका थिए । यो पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले पाएको हो । सो कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार पर्सा–३ बाट संघीय लोकतान्त्रिक फोरमको टिकटमा संसदमा निर्वाचित सांसद पनि हुन् । देशभर निर्माणाधीन १०० पुलमध्ये पप्पु कन्स्ट्रक्सनले आफू एक्लै र साझेदारसमेत गरेर करिब २५ वटा पुल बनाउन थालेको र सबैको हालत यस्तै लथालिंग भएको पनि सो पत्रिकाले रिपोर्टिंग गरेको छ ।
सोमबार डुंगाको दुर्घटनाबाट शुरु भएको पप्पुको पुलको कथा मंगलबार बर्दियाको बबई नदीको जब्दीघाटको पुलमा पनि आइपुग्यो । सो पुल बीचमा भासिएको १ वर्ष भएको छ । कान्तिपुरले गौरमा ठेकेदारविरुद्ध भएको आन्दोलन र भासिएको पुलको फोटोसहित अलपत्र योजनाको सूचीनै प्रकाशित गरेको छ ।
सो समाचारका अनुसार डुडुवा नहर, हरिवन–कौडेना सडक कालोपत्रे, टिकुली पुल, कमला पुल, रातु पुल, आरही पुल, तिलावे पुल, नारंगिया पुल तथा फुलजोर पुल अलपत्र अवस्थामा रहेका छन् । यी आयोजनाको ठेक्का रकम २ करोड देखि ९८ करोडसम्म छन् । बुधबार बिम्स्टेकको मन्त्रिस्तरीय बैठक शुरु हुँदै गर्दा एक कोलममा कान्तिपुरले पप्पुको पुलको समाचारलाई निरन्तरता दियो । सो समाचारका अनुसार ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा बबई नदीको पुल भासिएको निश्कर्ष छानबिन समितिले दिएको छ ।
पप्पुको पुलको सन्दर्भमा कान्तिपुरले मंगलबारको पत्रिकामा सम्पादकीय पनि लेख्यो । ‘ठेकेदार किन ठगदार’ शीर्षकमा लेखिएको सो सम्पादकीयमा कान्तिपुर लेख्दछ, गलत काम गर्ने ठेकेदार सरकारी कार्यालयलाई टेरपुच्छर नलगाउने र कारवाहीको चेतावनी दिएका अवस्थामा पनि भाका नाघेपछि चेतावनीको म्याद थप्न निवेदन हाल्छन् । समयमै ठेक्का सक्नुभन्दा नेताकहाँ धाउने वा अदालतबाट अन्तरिम आदेश ल्याएर पनि काम नगरी बस्छन् । सडक विभागबाट सबैभन्दा बढी पुलको इजाजत लिने पप्पु कन्स्ट्रक्सनको कूल ठेक्का रकमनै १० अर्ब रुपैयाँ बढी छ । कान्तिपुर लेख्छ, कानुनी शासनलाई खिसी गर्नेगरी यस्ता ठेकेदार आफैँ कानुन निर्माण गर्ने थलोमा पुगेका छन् । यिनमा नैतिकता भए आफूले बनाउने पुल, बाटो आदी आफू र आफ्ना सन्ततिले पछिसम्म प्रयोग गर्छन् भनेर राम्रो काम गर्थे ।
तर नैतिकता भएन भने उ राज्यलाई ठग्न सकेकोमानै दंग पर्छ । पहुँचले सबैथोक बिगारेको भन्दै कान्तिपुर लेख्छ, राजनीतिक संरक्षणले गर्दा नै ठेकेदारहरू ठगदार भएका हुन् ।
नेपाल वायुसेवा विरुद्ध अन्नपूर्ण
अन्नपूर्ण पोस्टले गएको हप्ता नेपाल वायुसेवामा देखिएको अनियमिततामा प्रश्न उठाएको छ । नेपालको झण्डाको प्रतिनिधित्व गर्ने सरकारी एयरलाइन्सविरुद्ध अन्नपूर्णको यो हप्ताको समाचार सोमबार प्रकाशित भयो । सो समाचारमा अन्नपूर्णले निगमसँग रहेको चालू हालतको नौ मध्ये सात जहाज थन्किएको समाचार प्रकाशित गरेको थियो । पोस्टका अनुसार ल्याएको जहाज नउडाएर गत आर्थिक वर्षमा निगमलाई ३५ करोडभन्दा बढी घाटा लागेको थियो । पोस्ट लेख्छ–निगमसँग रहेको तीनवटा ट्विनअटर जहाज उडाउन १० जना पाइलट छन्, जसमध्ये तारा एयरबाट पनि मासिक १० लाख तलबमा दुईजना ल्याएको छ । यो संख्या अत्यन्त बढी भएको पनि पोस्टले आफ्नो समाचारमा लेखेको छ ।
पाइलट संख्याको भोलिपल्ट नेपाल वायुसेवा निगमले किनेको दुईटा एयरबस ए ३३० को विषयमा सो दैनिकले समाचार प्रकाशित गर्यो । पोस्टका अनुसार पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले सो जहाजको खरिद प्रकरणमा देखिएको अनियमिततामाथि छानबिन शुरु गरेको छ । सिधै जहाज खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको हुनाले छानबिन शुरु भएको मन्त्रालयले गठन गरेको समितिका अध्यक्ष सुरेश आचार्यले पोस्टलाई बताएका छन् ।
अन्नपूर्णले पहिल्यै प्रकाशित गरेको समाचारका अनुसार छानविन समिति खडा भएको सो पत्रिकाले जनाएको छ । सो पत्रिकाका अनुसार जहाज खरिदमा ५२ लाख अमेरिकी डलर बढी तिरिएको तथा अन्य मुद्दा रहेका छन् ।
बुधबार अन्नपूर्ण पोस्टले वाइड बडी जहाजको प्रकरणमा बनेको छानविन समितिलाई नै ‘ढाकछोप’ समिति भनेर मुख्य समाचार बनायो । पोस्टका अनुसार निगमले गरेको निर्णयको छानबिन गर्न बहुमत संख्या त्यहि समितिकै राखिएको कारणले यो एक ढाकछोप समिति मात्रै हो । समितिका संयोजक सुरेश आचार्यनै निगममा सञ्चालक रहेको र उनी सञ्चालक हुँदै ठूलो पैसा तिर्ने निर्णय भएको कारणले सो छानबिन समितिमा विश्वास नभएको सो पत्रिकाले जनायो । साथै समितिका अन्य सदस्यको निगमसँग कस्तो सम्बन्ध छ भन्ने पनि सो पत्रिकाले स्पष्ट पारेको छ ।
अन्य समाचार
नेपालका दैनिक पत्रिकाले बिम्स्टेक सम्मेलनलाई सकारात्मक रुपमै लिएको देखिएको छ । बैठक सुरु हुँदादेखिनै मन्त्रीस्तरिय बैठक र अन्य समाचारलाई नेपाली पत्रिकाले महत्वका साथ प्रकाशित गरे । सबै पत्रिकाले बिम्स्टेकबाट नेपालले फाइदा लिन सक्नुपर्छ भन्ने व्यहोराका सम्पादकीय लेखे ।
आइतबारदेखिनै बिम्स्टेकको समाचारलाई अन्नपूर्ण पोस्टले सकारात्मक रुपमा पहिलो पृष्ठमा प्रकाशित गर्दै आयो । हिमालय टाइम्सले मंगलबार विदेश सचिवहरूको समाचारलाई मुख्य बनायो । नयाँ पत्रिकाले भने मंगलबार नै सम्मेलनको सुरक्षाका लागि १७ हजार सुरक्षाकर्मी परिचालित भएको र सुरक्षाको नेतृत्व नेपाली सेनाले गरिरहेको चाखलाग्दो समाचार प्रकाशित गर्यो । बुधबारदेखि शनिबारसम्म सबैजसो दैनिकमा बिम्स्टेक मुख्य समाचारको रुपमा छायो । कान्तिपुरले बुधबार प्रकाशित गरेको सैन्य अभ्यासको समाचार अन्य समाचार भन्दा अलि फरक थियो ।
यही समाचारका बीच चीन पश्चिम सेती ७५० मेगावाटको आयोजनाबाट बाहिर निस्कने समाचार आयो । नेपालको जल विद्युत विकासको लागि यो अप्रत्यासित र गतिलो झट्का साबित भयो । चीनको थ्री गर्जेज कम्पनीले ६ वर्ष आयोजना ओगटेपछि यसबाट हात झिकेको हो । यसअघि पश्तिम सेती अस्ट्रेलियन कम्पनी स्मेकले १७ वर्षसम्म ओगटेर बसेको थियो । यो समाचारलाई नयाँ पत्रिका, अन्नपूर्ण तथा नागरिकले महत्वका साथ प्रकाशित गरे । कान्तिपुरबाहेक समीक्षित दैनिक सबैले यो समाचारलाई सोही दिन स्थान दिए ।
यस हप्ताको अर्को समाचार कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते बलात्कार तथा हत्या भएको समाचारमा आएको नयाँ पाटो हो । यो समाचारलाई दैनिक पत्रिकाले महत्वका साथ प्रकाशित गरे । सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तथा एसपीलाई फिर्ता बोलाएर एसपी डिल्लीराज विष्टलाई निलम्बित पनि गरेको छ । अब निर्मला पन्त घटनाको सुरुदेखि अनुसन्धान हुने समाचारले आइतबारका पत्रिकामा महत्वपूर्ण स्थान पायो ।