काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पछिल्लो समय नर्सिङ पेसा छाडेर विदेश पलायन हुनेको संख्या बढेको छ । अस्पतालले राखेको पछिल्लो ४ वर्षको रेकर्डअनुसार दुई सय नर्स विदेश पलायन भएका छन् । २०७१ सालमा २२ जना, ०७२ सालमा ५७ जना, ०७३ सालमा ६९ जना र २०७४ साल पुससम्ममा ४५ जना नर्स बाहिरिएका छन् । अझै करिब ५० जना नर्सहरु विदेश जाने प्रक्रियामा रहेको बताइएको छ ।
राजीनामा दिएकामध्ये केही नर्स स्थायी दरबन्दीमा नाम निकालेका र स्थायी रुपमा काम गरिरहेका पनि रहेको शिक्षण अस्पताल नर्सिङ विभागकी निर्देशक कोपिला श्रेष्ठले बताइन् । उनी भन्छिन्, “नेपालका नर्सहरुको पहिलो गन्तव्य विदेश नै हो अनि दोस्रो चाहिँ त्रिवि शिक्षण अस्पताल ।” नेपालमा पेशागत सुरक्षा, सम्मान र सुनिश्चित भविष्य नदेखेका कारण नर्सहरु पलायन हुने क्रम बढिरहेको उनी बताउँछिन् ।
त्रिवि शिक्षण अस्पताल अन्य सरकारी अस्पतालको तुलनामा राम्रो सेवा–सुविधा दिने अस्पतालको रुपमा चिनिन्छ । तर यही अस्पतालका नर्स राजीनामा दिँदै विदेश पलायन भइरहेको तथ्यांकले देखाउँछ । अन्य सरकारी अस्पताल तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सको सेवा–सुविधा त अझ दयनीय छ ।
हरेक महिना स्थायी र करारमा राखिएका नर्सले राजीनामा दिने क्रमले अस्पतालमा नर्स व्यवस्थापन गर्न निकै समस्या भएको निर्देशक श्रेष्ठ बताउँछिन् । स्थायी नर्स काम छाडेर विदेश पलायन हुन थालेपछि अस्पताललाई हरेक ६ महिनामा करारमा नर्स राख्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रशासन प्रमुख गोविन्दबहादुर प्रधानले बताए ।
उनले भने, “टिचिङ अस्पतालमा अन्य अस्पतालको भन्दा राम्रो सेवा सुविधा छ । नेपाल सरकारले तोकेको सेवा सुविधामा पनि अतिरिक्त १० प्रतिशत तलब थपेर दिइन्छ । तैपनि विदेश पलायन हुने क्रम बढ्दो छ ।” हाल टिचिङ अस्पतालमा तीन सय १७ जना स्थायी दरबन्दीमा र २ सय ८३ जना करारमा नर्स कर्मचारी छन् ।