काठमाडौं । नेपाली काँग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशी पार्टी हित विपरित गएको ठहर गर्दै तनहुँ काँग्रेस नेताहरुले वक्तव्य जारी गरेका छन् ।
जोशीले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालासँगको बैठकमा देखाएको व्यवहारप्रति असन्तुष्ट तनहुँ कांग्रेसका नेताहरुले विज्ञप्ती जारी गरेका हुन् । उनीहरुले ‘टिकट नपाए स्वतन्त्र उमेदवारी दिने’ पूर्व सह–महामन्त्री जोशीको अभिव्यक्तिको विज्ञप्ती मार्फत खेद प्रकट गरेका छन् ।
तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने इच्छा राख्दै आएका जोशीलाई सभापति देउवाले बैठकमा प्रतिनिधि सभामा समानुपातिकका तर्फबाट प्रतिनिधित्व गराउने बचन दिएका थिए । गत कात्तिक ११ गते सभापति देउवा, वरिष्ठ नेता पौडल र महामन्त्री कोइरालासँगको भेटमा जोशीले रुख चिन्ह नपाए आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिने र यस विषयमा आफूसँग फेरि फोन नगर्नु भन्दै बैठक स्थलबाट बाहिरिएका थिए ।
पूर्व सह–महामन्त्री जोशीको पछिल्लो अभिव्यक्तिको विरोधमा केन्द्रीय सदस्य, निवर्तमान सांसद्हरु, पार्टीका वर्तमान जिल्ला सभापति, क्षेत्रीय सभापति र पूर्व सभापति गरेर १६ जनाले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र प्रदीप पौडेल लगायतका नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीका आधिकारिक उमेदवारका पक्षमा दृढ संकल्प रहन तनहुँका लोकतन्त्रका पक्षधरहरुसँग आग्रह गरिएको छ ।