काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार कुमार थापालाई राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले थापालाई काठमाडौंमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
नेपाली राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर थापाले यसअघि सशत्र प्रहरी बल (एपीएफ)मा प्रशिक्षण गरेका थिए । आगामी सेप्टेम्बर ६ देखी ९ सम्म हुने प्रतियोगतिाका लागि एन्फाले पूर्व महिला खेलाडी संघकी अध्यक्ष बृन्दा देवानलाई टिम व्यवस्थापकको जिम्मेवारी दिएको छ । साथै एन्फाले बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति गठन गरेको छ । जसमा सबै उपाध्यक्ष र कार्यसमिति सदस्य रहेनेछन् ।
त्यस्तै रवीन्द्र चन्दलाई ‘भेन्यू’ व्यवस्थापनको जिम्मेवारी दिइएको छ । विजय घलेलाई ‘लोकल जेनेरल कोअर्डिनेटर’ र दिनेश व्यञ्जनकारलाई सुरक्षा प्रमुखको जिम्मेवारी तोकिएको छ । सञ्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकाष्टिङ र डिजिटल राईट्स हेर्ने जिम्मेवारी दिइएको छ ।
महिला साफ सुरुमा यसअघि २९ देखी सेप्टेम्बर १० का लागि तय गरिएको थियो । तर, प्रतियोगिताको मिति परिवर्तन गरी ६ सेप्टेम्बर देखी १९ सम्मका लागि तय गरिएको हो ।