काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति पुँजी बजारप्रति कसिलो हुने डरमा सेयर लगानीकर्ता देखिएका छन् । शुक्रबार दुई घण्टाको कारोबार अवधिमा यस्तो देखिएको हो । उक्त अवधिमा नेप्से परिसूचक २७.२६ अंक घटेको छ । गत कारोबार दिनको तुलनामा परिसूचक १.३३ प्रतिशत घटेर २०१७.४६ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.३८ प्रतिशत घटेर ३८६.२४ विन्दु कायम भएको छ ।
पछिल्लो समय अर्थतन्त्रमा दवाव परेको भन्दै कसिलो मौद्रिक नीति ल्याउन विज्ञहरूले सुझाव दिँदै आएका छन् । बढी कस्नसक्ने क्षेत्र तुलनात्मक रूपमा सेयर बजार, आयात निर्यात र घरजग्गा कारोबारमा रहेको देखिन्छ । त्यसैले आज सार्वजनिक हुने मौद्रिक नीतिले सेयर बजारलाई प्रभाव पार्ने सेयर लगानीकर्ताको आंकलन छ ।
शुक्रबारको कारोबारमा २१२ धितोपत्रको ३३ लाख २० हजार ५१२ कित्ता सेयर एक अर्ब ४४ करोड रूपैयाँमा खरिद–बिक्री भएको छ । सर्वाधिक रकमको सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको केहीदिन अघिदेखि लगातार बढी रकमको सेयर खरिद–बिक्री हुँदै आएको छ । आज यो कम्पनीको २१ करोड रूपयाँभन्दा बढीको सेयर खदिर–बिक्री भएको छ । यो काम्पनीको प्रतिसेयर मूल्य ७७७ रुपैयाँ कायम भएको छ ।
सर्वाधिक सेयरमूल्य वृद्धि हुनेमा किसान लघुवित्त वित्तीय संस्था रहेको छ । यो कम्पनीको सेयरमूल्य ८.४१ प्रतिशतले वृद्धि भएको छ । सेयरमूल्य सर्वाधिक घट्नेमा सप्तकोशी डेभलपमेण्ट बैंक रहेको छ । यो बैंकको सेयरमूल्य ५.७९ प्रतिशतले घटेर २२६ रुपैयाँ १० पैसा कायम भएको छ ।
कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ । सर्वाधिक उपसूचक घट्नेमा व्यापार समूह छ । यो समूहको उपसूचक २.४८ प्रतिशत घटेको छ ।
उत्पादन तथा प्रशोधन समूहको उपसूचक २.१४ प्रतिशत, ‘अन्य’ समूहको उपसूचक २.१४, होटल तथा पर्यटन समूहको उपसूचक २.१३ र विकास बैंक समूहको उपसूचक २.०१ प्रतिशत घटेको छ । बाँकी समूहको उपसूचक २ प्रतिशतभन्दा कम घटेको छ ।