काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् । तीन दिने भारत भ्रमण गरेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भ्रमण कतिपय सन्दर्भमा सोचेभन्दा राम्रो भएको बताए ।
"अहिले राम्रो कुराकानी भयो सबै पक्षमा । वर्तमान समस्या र समाधानका बारेमा कुरा भयो । खुला कुराकानी भयो । राम्रो कुराकानी भयो । थिङ्क ट्याङको कार्यक्रम थियो । सीमासम्बन्धी समस्या, डुबानका समस्या, व्यापार घाटाका समस्याका कुराहरू भए," उनले भने ।
प्रचण्डले पहिले प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए । उनले भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टी(भाजपा)का विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए ।
उनले भारतमा विदेशमन्त्री एस जयशंकर, भारतका विदेश सचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डा लगायतका पदाधिकारीसँग भेट गरेका थिए ।
"न्यानो स्वागत भयो । नेपालीहरूमा पनि धेरै चासो र उत्सुकता देखियो । पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा अहिले फरक लागेन । त्यस्तै सुरक्षा दिनुभयो," उनले भने ।