काठमाडौं । टिम भित्रको वैमनश्य कायम हुँदा निरन्तर कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
कमजोर तयारीका साथ स्कटल्यान्ड पुगेको नेपाली टोली त्रिदेशीय शृंखलाको पहिलो खेलमा कमजोर मानिएको नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्ड अहिले अंक तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डले २१ खेलबाट ३० अंक जोडेको छ । नेपाल भने पुछारबाट दोस्रो स्थानमा छ । नामिबियासँग पराजित भएपछि नेपाल एक स्थान तल खस्किएको थियो ।
आज स्कटल्यान्डलाई घरेलु मैदानको फाइदा पनि हुनेछ । साथै पहिलो खेलमा नामिबियामाथि हासिल गरेको ७७ रनको विजयले पनि उनीहरूको मनोबल उच्च छ । पछिल्लो पाँच खेलमा स्कल्यान्डले तीन खेल जितेको छ । दुई खेल हारेको छ ।
नेपाल र स्कटल्यान्डले नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे प्रतिस्पर्धा गर्नेछन् । टिम भित्रको आन्तरिक वैमनश्यका कारण नेपाली टोलीको प्रदर्शन एक रुपको हुन सकेको छैन । कप्तान सन्दीप लामिछानेले नै भनिरहेका छन्, ‘‘हामीले जित्नु पर्ने खेल हारिरहेका छौं ।’’
आज स्कटल्यान्डविरुद्धको खेलमा पनि नेपाल प्रदर्शन अप्रत्यासित हुन सक्छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पछिल्ला दुई खेलमा नेपाल पराजित छ । पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने एक खेलमात्र जितेको छ । एक बराबरीमा टुंगिएको थियो भने तीन खेलमा नेपाल पराजित छ ।
निरन्तर एकरुपको प्रदर्शन गर्न नसक्दा नेपालको शीर्ष तीनमा रहेर विश्वकप छनोटमा आगनडिको यात्रा तय गर्ने सम्भावना कमजोर बन्दै गएको छ । त्यो सम्भावना जिवित राख्न पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ ।