काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार हजारौँ प्रदर्शनकारीले राष्ट्रपति गोटाबय राजपक्षेको सरकारी निवास घेरे । राष्ट्रपति त्यहाँबाट भागे ।
शनिबार नै प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा प्रदर्शनकारीले आगजनी गरे । श्रीलंकाको राजनीतिक अवस्था निकै अस्थिर छ ।
उच्च नेता र सांसदहरूलाई जनताले लखेटेका छन् । कुटपिट गरेका छन् । श्रीलंकामा राजपक्षे परिवारले पछिल्ला दुई दशक लामो समयदेखि शासन गरिरहेको छ ।
लामो समय चलेको गृहयुद्धमा तमिल पृथकतावादी सन् २००९ मा पराजित भएको थियो । त्यसपछि महिन्द्रा राजपक्षे प्रभावशाली बनेका थिए । अहिले राजापक्षकै भाइ गोटाबय राष्ट्रपति छन् ।
कोरोना महामारीपछि सुषुप्त अवस्थामा रहेको श्रीलंकाको आर्थिक संकट बाहिरियो । जनस्तरमै त्यसको भयावह प्रभाव पर्यो ।
महँगी चुलिएको छ । खानेकुरा, औषधि र इन्धनको चर्को अभाव छ । लोडसेडिङ बढेपछि आन्दोलित जनताले राजपक्षे परिवार र उनले नेतृत्व गरेको सरकारलाई अहिलेको अवस्थाको मुख्य दोषी मानिरहेका छन् ।
पछिल्लो समय नेपाल र श्रीलंकाको अवस्थालाई तुलना गरिँदै आएको छ । नेपाल पनि श्रीलंकाको बाटोमा जाने चिन्ता गर्नेहरूको संख्या बढ्दो छ ।
श्रीलंकामा सल्किएको विद्रोहको 'आगो' नेपालसम्म आइपुग्ने विश्लेषकहरूले दाबी गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खड्ग केसी अनुत्तरदायी र अपारदर्शी नेतृत्वका कारण श्रीलंकामा विद्रोह भएको बताउँछन् ।
उनको बुझाइमा नेपालमा पनि पारदर्शी नेतृत्वको अभाव छ । उच्च तहकै राजनीतिक नेतृत्वमा दण्डहीनता, कानुनको पालना नगर्ने, लोकतान्त्रिक आचारण र व्यवहारको कमी भएको प्रा. डा. केसीको बुझाइ छ ।
उनले भने, “श्रीलंकाको लोकतन्त्र र अर्थतन्त्र दुवै नेपालको भन्दा उन्नत थियो । राजपक्षे सत्तामा पुगेपछि उनको स्वेच्छारिता बढ्यो । अन्तर्राष्ट्रिय सहयोगर र ऋण लिँदा भविष्यको ख्याल गरिएन । अपारदर्शी ढंगले शासन चलाउँदा यो अवस्थामा आइपुग्यो, जुन नेपालसँग पनि मिल्दोजुल्दो छ ।”
नेपालको नेतृत्वप्रति पनि जनतामा आक्रोश बढ्दै गएको उनी बताउँछन् । बढ्दो आक्रोश निर्वाचनको माध्यमबाट व्यक्त भए त्यो उत्तम हुने उनको धारणा छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीलंकामा बिरामीका लागि बजारमा औषधिको समेत अभाव भएको छ । खाद्यान्नको अभाव छ । खाना पकाउन ग्यास छैन । डिजेल तथा पेट्रोलको अभावमा गाडी चलेका छैनन् । सामान किन्नका लागि सरकारसँग आवश्यक पैसा (विदेशी मुद्रा) समेत छैन । पछिल्ला केही महिनायता श्रीलंकामा हजारौँको प्रदर्शन निरन्तर जारी छ ।
अहिले नै नेपाल श्रीलंकाको अवस्थामा नपुगेको र तत्काल त्यो सम्भावना नदेखिएको राजनीतिक विश्लेषक डा. विष्णु दाहाल बताउँछन् । नेपालको कृषि जीविका चलाउने अवस्थामा र पर्यटन विदेशी मुद्रा पाउने आधार रहेको उनको बुझाइ छ । प्राकृतिक स्रोत–साधनमा पनि नेपाल श्रीलंकाभन्दा माथि रहेको र सामारिक महत्त्व पनि फरक भएको उनी बताउँछन् ।
तर, परिवारवाद, नातावाद दुवै देशको मिल्दोजुल्दो भएको दाहालको तर्क छ । नेपालले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर योजना बनाउन नसकेको भन्दै भविष्यमा यस्ता कुराले अर्थतन्त्रमा संकट पर्न सक्ने उनको चिन्ता छ ।
उनले भने, “हामी उत्पादनवादी नभएर उपभोक्तावादी भइरहेका छौँ । बद्लिँदो विश्व परिवेश छ । जसको असर हामीमा पनि पर्छ । अर्थतन्त्र बलियो बनाउनेतर्फ लागेनौँ भने दिन प्रतिदिन अवस्था कस्टकर बन्दै जान सक्छ ।”
दलहरू नसच्चिएको अवस्थामा जनआक्रोश विद्रोहका रूपमा देखिन सक्ने डा. दाहालको आकलन छ ।
नेपालमा पनि सत्तामा रहेका र नरहेका उच्च राजनीतिक नेतृत्वप्रति जनताको आक्रोश बढ्दो छ । यसले नेताहरूको ‘थ्रेट’ बढाएको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । नेपालको शान्ति सुरक्षामा पनि श्रीलंकाको पछिल्लो घटनाले चुनौती थपेको उनीहरूको बुझाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राई प्रहरी हरेक घटनाप्रति चनाखो रहेको बताउँछन् । “राष्ट्रिय–अन्तर्राष्ट्रिय घटनाको विश्लेषण, अध्ययन प्रहरीको छुट्टै विभागले गर्छ । त्यसको असर नेपालमा के पर्छ भनेर पनि हेरिरहेका हुन्छौँ,” उनले भने, “त्यही आधारमा सुरक्षा योजना पनि हामीले बनाइरहेका छौँ ।”