नझस्कनोस् ! बगलीमारा आउन आँट्यो भनेर तपाईंलाई सतर्क गराइ कुनै विवेकशील बगलीमारा झैँ तपाईंकै बगलीतिर हात लम्काउने मेरो योजना छैन । न त दुव्र्यसन र दुराचारले जरो गाड्न आँट्यो भन्ने पीरले सतर्कताको आग्रह नै गरेको हुँ ।
किनभने दुराचार भरसक हाम्रोतर्फबाट नहोस् भन्ने पुनीत भावना राखी हामी त सधैँ सतर्क नै रहन्छौं, हाम्रो मति भ्रष्ट गरिदिने त आधुनिक तिलोत्तमाहरू पो हुन् ! यी प्रशंसा अथवा गुनासा होइनन् न त नीतिशास्त्रका कुनै सात सूत्रहरू नै हुन् । यो त एउटा सानो गन्थन मात्र हो ।
एक देशबाट अर्को देशमा शिष्टमण्डलको आदान–प्रदान गर्ने प्रचलन (हुन त यो रोग हाम्रो देशमा चाहिँ, जिल्लाबाट शिकायतको पोको लिएर राजधानीमा बिसाउन आउनेसम्ममा मात्र धेरैजसो सीमित छ) नेपालमा कुन सालदेखि चलेको हो, त्यो त इतिहासकारहरूले पत्ता लगाउन्; यहाँ मेरो चासो त्यस्ता शिष्टमण्डलहरूसँग नभइ बेग्लै भेराइटीका शिष्टमण्डलहरूसँग छ । त्यसमध्ये एउटा हो हिप्पी शिष्टमण्डल र अर्कोचाहिँ हो शिवरात्री शिष्टमण्डल ।
जहाँसम्म ‘हिप्पी शिष्टमण्डल’को सम्बन्ध छ, यसले ठोस रूपमा (मनोवैज्ञानिक रूपमा कुन्नि) हाम्रो देशको केही नोक्सान गरे–गराएको कुरा न त खबर कागतमा नै देखिएका छन् न कुनै नेताले नै यस सम्बन्धमा वक्तव्य दिएको छ ।
बरु उपलब्धिको रूपमा स्थानीय जाँड र गाँजा, भुटेको मकै, केराउ, भटमास एवं बकुल्लाको बिक्री–वितरणमा योगदान नै गरिआएको छ । यसो हुँदा विदेशी मुद्रा आर्जन गर्ने स्रोतको चानचुन संस्करणको रूपमा उहाँहरूले महत्त्वपूर्ण स्थान प्राप्त गर्नुभएको छ ।
उहाँहरूको सादा जीवन र उच्च विचारको मर्मप्रति चुनदाम पनि सहानुभूति नदेखाई केही राष्ट्रवादी भनाउँदाहरू यी हिप्पीहरूलाई विदेशी गुप्तचरको उपाधिले विभूषित गरी नीच र आधारहीन लान्छना लगाउँदछन् जसबाट मेरो मनमा उच्चकोटिको पवित्र ग्लानि उत्पन्न हुन्छ ।
तर, यो कहाँसम्म तथ्य हो भन्ने ज्ञान त राजधानीका सी.आई.डी.हरूलाई नै होला । हामी पीपलबोटे राजनीतिज्ञलाई यस्ता फोस्रा कुरा सोचेर कपाल दुखाउने फुर्सत नै कहाँ छ र ?
एक दिन पीपलको बोटमुनि एक जना सी.आई.डी. (उहाँ सी.आई.डी. भन्ने कुरो मैले अनुसन्धान गरेर पत्ता लगाएको होइन, उहाँकै मुखारविन्दबाट निस्केको वीरत्व हो) एउटी भटमास पसल्नीलाई धक्कू लाउँदै हुुनुहुन्थ्यो : “मलाई चिनेकी छेस् ? म को हुँ ? म सी.आई.डी. हुँ, बुझिस् ! तेरो बास र गाँस उठाउन सक्तछु, होश गरेर र मान्छे चिनेर कुरा गर् ? आदि... आदि...।”
एकछिनको पर्यवेक्षणबाट उहाँको रौद्ररूपको कारण पत्ता लाग्यो । पसल्नी आमैले ‘आसा’ चुरोटको एक बट्टा उधारो दिन इन्कार गरी अड्डी लिएकी रहिछन् । प्रभुत्वप्रदर्शनको क्षेत्र व्यापक भएर भटमास पसलसम्म पुगेको देख्न पाउँदा म गद्गद भएँ । स्वघोषित सी.आई.डी. महोदयको आदर्श र अनुकरणीय रूपप्रति मेरो शिर श्रद्धाले निहुरियो ।
अँ त, म गर्दै थिएँ शिष्टमण्डलको कुुरा, र पुगेँ सी.आई.डी.को यशोगान गर्न । सराद्दे खान कालिमाटी हिँडेको बाहुन त झण्डै भाषण सु्न्न वानेश्वर पो पुग्न आँटेको ।
यो (हिप्पी) शिष्टमण्डलको राजधानी पस्ने कुनै निश्चित कार्यक्रम हुँदैन । उहाँहरू सधैँका पाहुना झैँ भइसक्नुभयो । निश्चित कार्यक्रम मुताबिक तोकिएको समयमा राजधानीको ‘शोभा बढाई कृतकृत्य गराउने’ एउटा अर्को शिष्टमण्डल छ, जो हाम्रा अनुहारहरूसँग मिल्दा–जुल्दा छन् र हाम्रा परम छिमेकी मित्र–मुलुकबाट प्रत्येक वर्ष शिवरात्रीको शुभमुहुर्तमा पशुपतिनाथको दर्शन र बगलीको बेपार गर्न पदार्पण गर्दछ ।
उहाँहरूलाई मोटामोटी हिसाबमा सिजनल फलफूल भने पनि फरक पर्दैन । उहाँहरू राजधानीमा यसरी देखापर्नु हुन्छ जसरी भारतीय माछा सिजनमा मात्र तरकारी बजारमा देखा पर्दछन् ।
शिष्टमण्डलको सम्मानमा स्वागत समारोहको आयोजना गर्नु शिष्टाचारको ‘रिन’ हो तापनि उहाँहरूको सम्मानमा स्वागत समारोहको आयोजना गर्ने सट्टा हाम्रा प्रहरीहरूले ‘सीमाना कटाउने’ समारोहको आयोजना गरिआएको खबर सुनिन्छ ।
शिष्टमण्डलको कुनै–कुनै सदस्य महोदय त अन्नको सट्टा सुन–चाँदीका गहनाहरू पो जिउनार गर्नुहुँदो रहेछ । एउटा कर्मठ सदस्यले सुनको सिक्री उदरस्थ गरेपछि अस्पताल लगी एक्सरे गराई जवरजस्ती बिसर्जित हुन बाध्य गराई हाम्रा प्रहरीले सम्पूर्ण सिक्रीलाई नै बिसर्जित मलबाट थुत्त तानी उहाँको चोरी कार्यमा हस्तक्षेप गरी दसीसाथ पक्राउ गरेको नरमाइलो खबर पत्र–पत्रिकामा पाएँ ।
भातेकौशीमा काट्न लग्दा त अपराधीलाई सुखसित दही च्यूरा खान दिने चलन थियो अरे भने, तटस्थताको सिद्धान्तको विपरीत खान दिन त परै जाओस् खाएको छेराउनु हाम्रो प्रहरीको लिँडेढिपी नै हो ।
शिवरात्रीको ‘सिजन’ सकिएपछि उहाँहरूको सम्मानमा एउटा बिदाइ समारोहको आयोजना गरिने चलन छ र सो बिदाइ समारोह त्रिभुवन विमानघाटको सट्टा थानकोट चेकपोस्टमा गरिन्छ ।
रक्सौलको प्रहरी चौकीले उहाँहरूको सम्मानमा अन्तिम रूपले भावपूर्ण बिदाई गर्दछ र यस प्रकार एक वर्षको मीठो अनुभवपछि पुनः अर्को वर्ष उहाँहरूको शुभागमन हुन्छ ।
यो त भयो बाहिरिया शिष्टमण्डलको कुरो । यहीँको हावापानीमा हुर्केको शिष्टमण्डलको सम्बन्धमा पनि केही भनुँ । एक दिन शनिबार पशुपति दर्शन गर्ने योजना बनाई शहीद गेटको बस बिसौनीमा बस कुरिरहेको थिएँ । केही रमाइला नानीहरू पनि उतैतिर (?) जान बस कुरिरहेका रहेछन् । बस आयो । चढ्नका लागि रेलम्पेल हुन थाल्यो ।
एउटी हिसी परेकी नानी पनि बस चढ्ने दाउ गरिरहेकी थिइन् । अब लाक्षणिक कुरा त के भने, नानी नचढुन्जेल मजस्तो स्मार्ट व्यक्ति किन चढ्ने ? त्यही उद्योगमा म जस्ता अन्य रसिकहरू पनि ‘वेट’ गरिरहेका थिए ।
एउटी नानी चढिन् उनको अनुसरण गर्दै म चढेँ (किनभने म त उनलाई नै पर्खिरहेको थिएँ, उनको सामीप्य–लाभको लागि) ।
म पछि अर्की हिसी परेकी नानी चढिन् । अगाडिको नानी बसको ठाडो लिंगो समाई उभ्भिइन्, टाउकोमाथि तेर्सो डण्डा समाई म उभिएँ र म पछाडिकी नानी मेरै पोजिशनमा उभ्भिइन् ।
एउटा स्मार्ट ठिटोले म पछाडि उभिएकी नानीलाई आफू उभ्भिएरै भए पनि आफ्नो सीट अफर गरी (कत्रो समाजसेवी !) लभको उद्घाटन गर्ने असफल प्रयास गर्यो । उसको असफलता नै मेरा विजय महसूस गरी म मख्ख परेँ ।
बस हिँड्यो । दुई नानीहरूको बीचमा म उभ्भिएको थिएँ, दुवैतिरको पाउडर र अत्तरको सुगन्धले म त स्वर्ग पुग्न आँटेको । कति दिव्य थियो त्यो यात्रा ! (हुन त एक दुई पटक निःशुल्क दुर्गन्ध सुँघ्नु नपरेको त होइन) ।
मैतीदेवी कति चाँडै आइपुग्यो मलाई थाहै भएन । मलाई त ध्याउन्नै यति मात्र थियो र म भगवान्सँग रिक्वेस्ट गरिरहेको थिएँ : ‘हे भगवान् ! यी दुई देवीहरू नओर्लियून ! मेरो यात्रालाई बोर नबनाऊ हे भगवान् ।’
गौशाला आखिर आइपुग्यो (जो कि म कहिल्यै नआओस् भनी कामना गर्दै थिएँ) । बसबाट ओर्लेर टिकटको पेमेन्ट गर्न हिप पाकेटमा हात घुसारेको त हिप पाकेट खाली (धन्न हिपचाहिँ बाँकी नै रहेछ) ।
यस्सो फर्केर हेरेको त नानीहरू त अन्तध्र्यान भइसकेका । बस कण्डक्टर (जसलाई मैले दानवीर कर्णको उपाधि दिन कर लाग्यो) रसिक रहेछ, उसले कुरो बुझ्यो र मसँग टिकटको पैसा माग्ने ‘नीचता’ देखाएन ।
अस्ति मूलसडकमा एक जना घडी र कण्ठलगोँटी लगाएका महानुभावलाई प्रहरीहरूले डोर्याइरहेको देखेँ । एकछिनको चियो चर्चाे (यो मेरो पुख्र्यौली गुण हो) गर्दा पत्ता लाग्योः उहाँ स्वदेशी बगलीको बेपार गर्नुहुँदो रहेछ ।
म बडो खिन्न भएँ । उहाँको इन्सल्ट गरेको देख्दा मेरो रगत उम्लिएर आयो । विचार गरेँ : यो संसारमा न्याय कहीँ पनि छैन । बगली लगायत दिलसमेत मार्नेलाई भने हाम्रो समाज पछ्याउन खोज्दछ र बगली मात्र मार्नेलाई भने यत्रो सजाय दिने ?
न्यायको यो विषमता देखेर झण्डै बी.एल. क्लास ज्वाइन गरूँ कि जस्तो लाग्यो । तर गम खाएँ किनभने बी.ए.मा पाँचौं पटक ड्रप गरेको वर्ष यही नै थियो मेरो ।
सतर्क हुनुहोस् । दिल मात्र होइन बगली पनि जोगाउनुहोस् । बाहिरबाट आएका शिष्टमण्डललाई बगली ‘प्रेजेन्ट’ गरेर लाछी बन्नुभन्दा भित्रिया नानी र बाबुहरूलाई प्राथमिकता दिनु कता–कता बेश हुनेछ । कमसेकम देशको नगद देशमा त रहन्छ ? कसो ?
(प्रतिध्वनि अंक—६३)
(प्रसिद्ध व्यंग्यकार श्याम गोतामेकी पत्नी पद्मादेवी गौतमको स्वीकृतिमा प्रकाशित गोतामेको ‘मपाईं’ व्यंग्यसंग्रहको अर्को व्यंग्य । यस संग्रहका सम्पूर्ण व्यंग्यहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)