काठमाडौं । नगर सभामा पेस भएको काठमाडौं महानगर राजस्व ऐन २०७५ को संशोधन प्रस्ताव पारित भएको छ ।
आज (बुधबार) महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा सम्पन्न नगरसभा ११ औँ अधिवेशनको ५ औँ बैठकले संशोधन प्रस्ताव पारित गरेको हो ।
प्रस्तावका विषयमा नगर सभा सदस्यहरू सन्तोष ढुङ्गेल, अनिलबाबु श्रेष्ठ र आशा श्रेष्ठले धारणा राखेका थिए ।
सभामा आर्थिक वर्ष २०७९/०८० को विस्तृत बजेट तथा कार्यक्रम पेस भएको छ । आजको कार्यसूचीमा विनियोजन विधेयक २०७९ सम्बन्धमा छलफल र पारित गर्ने विषय समावेश थियो ।
सभामा विस्तृत बजेट तथा कार्यक्रम पेस भएपछि असार २४ गते यसका विषयमा छलफल हुने गरी आजको बैठक स्थगित भएको छ ।
सभाले महानगरका निर्देशक दीपक अधिकारीलाई न्यायिक समितिको सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकेको छ ।असार १७ गते सम्पन्न अधिवेशनको चौथो बैठकले संशोधनसहित आर्थिक विधेयक पारित गरिसकेको छ । ११ औँ अधिवेशनको पहिलो बैठक असार ५ गते बसेको थियो ।
बैठकमा प्रमुख शाहले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक नीति तथा कार्यक्रम पेस गरेका थिए । यो प्रस्ताव असार ७ गते बसेको सभाको दोस्रो बैठकले सर्वसम्मत पारित गरेको थियो ।
असार १० गते सम्पन्न सभाको बैठकमा उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी थिइन् । त्यसै बैठकमा प्रमुख शाहले आर्थिक विधेयक र उपप्रमुख डंगोलले विनियोजन विधेयक पेस गरेका थिए ।
यसरी पेस गरिएका विधेयकमध्ये असार १७ गते बसेको चौथो बैठकले आर्थिक विधेयक पारित गरिसकेको छ । नगर सभाको अर्को बैठक असार २४ गते शुक्रबार हुनेछ ।