विराटनगर । प्रदेश नम्बर–१ सरकारले आफ्नो पहिलो संरचनाका रूपमा निर्माण गरेको प्रदेशसभा भवनको गुणस्तरका विषयमा ध्यानाकर्षण गराइएको छ ।
नयाँ निमाण भई सञ्चालनमा आएको प्रदेशसभा भवनमा यसपटकको बर्खाको पानी चुहिएपछि प्रदेशसभा बैठकमै सांसदले भवनको गुणस्तरको विषयमा प्रश्न उठाएका हुन् । नेपाली कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीले प्रदेशले पहिलोपटक बनाएको आफ्नो पहिलो संरचना सानो बर्खाको पानी समेत थेग्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
आइतबार प्रदेशसभा बैठकको शून्य समयमा सांसद कार्कीले भनिन्, “हामी जहाँ बहस गरिरहेका छौँ, त्यो भवनमा रिबन काट्न धेरै हतार गरेजस्तो भएको छ । पानी चुहिन थालेको छ । बैठक कक्षभित्रै च्याउ उम्रिएको छ । हामीले कस्तो भवन बनाएका हौँ ?”
सांसद कार्कीले भवन बने पनि कस्तो बनेको हो भन्दै आफूहरूले नै प्रश्न उठाउनुपर्ने अवस्था सिर्जना भएको बताइन् ।
प्रदेशसभाको नयाँ भवन तत्कालीन मुख्यमन्त्री भीम आचार्यले उद्घाटन गरेका थिए । यसको निर्माण लागत पाँच करोड रुपैयाँ हो ।
सांसद कार्कीले विराटनगर विमानस्थल विस्तारका नाममा जग्गा अधिग्रहण गरिएको तर स्थानीयले राहत नपाएको भन्दै ध्यानाकर्षण गराइन् ।