बाह्रखरी मिडियाले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिताको आयोजना गर्दै आएको छ । बाह्रखरी कथाको चौथो संस्करण तयारीको अवस्थामा छ । कथा लेखनमा रुचि राख्नेहरूलाई सहयोग पुगोस् भन्ने हेतुले बाह्रखरी कथाका पूर्वनिर्णायकहरूसँग कुराकारी गरेका छौँ । प्रस्तुत छ, बाह्रखरी कथा प्रतियोगिताको दोस्रो संस्करणका निर्णायकमण्डलका सदस्य तथा चर्चित आख्यानकार अमर न्यौपानेसँगको अन्तर्वार्ता :
कथा के हो ? यसको रूप कस्तो हुनुपर्छ ?
मानिसको जीवन र ध्यानले जन्माउने जीवित शब्दहरूको खेल, जहाँ एउटा विचित्र घटना अनुभूतिको रसले भरिएको हुन्छ— कथा त्यही हो । जहाँसम्म रूपको कुरा छ, कथाको रूप यस्तै हुनुपर्छ भन्ने छैन, जसरी मानिसको रूप यस्तै हुनपर्छ भन्ने छैन । संसारमा प्रत्येक मानिस फरक छन् । अब जन्मिने अरबौँ मानिसको रूप अहिले भएकाहरूको जस्तो हुने छैन ।
कथा किन लेखिन्छ ?
आमाको पाठेघरबाट सुरु भएको मानिसको कथा यो संसारको घरमा रहेसम्म जीवनका पाइलाहरू लेखिरहेका हुन्छन् । जीवन नश्वर छ । तर, मानिस आफू नरहे पनि आफ्नो कथा संसारमा राख्न चाहन्छ । यसरी राख्ने क्रममा मानिसले कथाहरू विभिन्न रूपमा लेख्दै गए । पछि यसलाई साहित्यको स्वरूप दिइयो । मानिस विविध काम गरेर आफ्नो अस्तित्व र इतिहास राख्न चाहन्छ । कथा मानिसको अस्तित्व राख्न पनि लेखिन्छ ।
कथा कसरी लेख्ने ?
एउटा गीत जुन लयमा गाइन्छ, अर्को गीत उही लयमा गाइँदैन । त्यस्तै कथामा पनि लय हुन्छ । एउटा कथा जुन लयमा लेखिन्छ, अर्को कथा उही लयमा लेखिँदैन । लय सिर्जना गरिन्छ । लय भन्न सकिँदैन, गाएरै सुनाउनुपर्छ । त्यस्तै कथाको लय पनि भन्न सकिँदैन, लेखेरै देखाउन सकिन्छ ।
कथाका तत्त्वहरूले मात्र कथा जीवित हुँदैन, जसरी सबै अंगहरू हुँदैमा प्राण छैन भने मानिस जीवित हुँदैन । प्राण कसरी हाल्ने भन्ने कुरा भन्न गाह्रो छ, जसरी लय भन्न गाह्रो छ । गीतका शैली विविध भएजस्तै कथाका शैली पनि विविध हुन्छन् । कतिपय परम्परागत हुन्छन् भने कतिपय प्रयोगमूलक ।
कथा लेख्दा के कुरामा विशेष ध्यान दिनुपर्छ लेखकले ? शिल्प, कलात्मकता, विषयवस्तु, पात्र, प्रस्तुति या अनुभव ?
सबैभन्दा पहिला विषयवस्तु नै चाहियो, जसरी घर बनाउन सबैभन्दा पहिला घडेरी चाहिन्छ । विषयवस्तु कथा होइन, कथा त घर हो । जसरी घर बनाउन विविध सामग्री चाहिन्छ, कथा लेख्न पनि विविध सामग्री चाहिन्छ । यी सबै कुरा जीवनको अनुभव र अध्ययनले जन्माउँछन् । जसरी घरको डिजाइन विभिन्न प्रकारले गरिन्छ, त्यसरी नै कथाको डिजाइन पनि विभिन्न प्रकारले गरिन्छ । घर बनाउँदा संरचनात्मक इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, मिस्त्री, मजदुर लगाइन्छ । कथाकारले यी सबैको भूमिका एक्लैले निर्वाह गरेर कथा लेख्नुपर्छ । सुन्दर कथा सिर्जना गर्न कथाका सबै तत्त्व चाहिन्छन् । सबैभन्दा नभई नहुने भनेको कथाको प्राण नै हो ।
कथाको प्राण के हो त ?
कथाका मूलतत्त्वहरू कथावस्तु, पात्र, चरित्रचित्रण, संवाद, द्वन्द्व, भाषाशैली, उद्देश्य, दृष्टिविन्दुहरू नै हुन् ।
विश्वविद्यालयमा नभनिने तर सबैभन्दा महत्त्वपूर्ण तत्त्व हो, प्राण । जसरी शरीरका सबै अंग भएर पनि प्राण भएन भने मानिस जीवित हुँदैन, त्यसैगरी कथाका सबै तत्त्व भएर पनि प्राण भएन भने कथा जीवित हुँदैन । कथा पनि जीवित प्राणी हो । किनभने, कथा मानिसको जीवन र हृदयको अंश हो । त्यसैले राम्रा र स्वस्थ कथाहरूको आयु मानिसको भन्दा कैयौँ गुना धेरै हुन्छ । त्यसैले त महाभारत र पुराणका कथाहरू अहिले पनि जीवित छन् ।
कपितयले कथा एकै बसाइमा लेख्न हुन्न भन्छन् । तपाईं के भन्नुहुन्छ ?
एकै बसाइमा कथा लेख्न नहुने भन्ने हुँदैन । तर, एकै बसाइमा लेखेर छापिहाल्नु हुँदैन । त्यसलाई केही दिन या महिना पकाउँदा राम्रो हुन्छ । जीवन त सम्पादन गर्दै बाँच्न मिल्दैन, बाँचेपछि बाँचिहालियो । कथा त लेखेपछि सम्पादन या पुनर्लेखन गर्न सकिन्छ नि ।
कथा लेखनमा हतारोको अर्थ छ ?
कथा लेख्न बस्दा आएको प्रवाहलाई बग्न दिनुपर्छ । तर, बग्न दिइसकेपछि बाँध बाँधेर त्यसबाट बिजुली निकाल्नुपर्छ । कथा बगाइ मात्र होइन, बिजुली पनि हो, अर्थात् उज्यालो । पढेपछि मनोलोकको अँध्यारो कोठामा झिलिक्क बत्ती बलोस् ।
त्यसो भए राम्रो कथा लेख्न के गर्ने ?
म पनि राम्रो कथा लेख्न प्रयास गर्दै छु । एउटा कथा लेखिसकेपछि अर्को कथा कसरी र के लेख्ने भनेर सोच्छु । कतिपय कथा अहिलेका भन्दा पहिलेका राम्रा लाग्छन्, कतिपय कथा पहिलेका भन्दा अहिलेका राम्रा लाग्छन् । यत्ति भन्छु— कथामा पनि अर्गाजम पोइन्ट हुन्छ । अर्गाजममा पुगेपछि कथा रोक्नुपर्छ । अर्गाजमअघि नै रोकिएको कथा पनि कमजोर हुन्छ । अर्गाजमपछि पनि कथा लेखिरहे बोरिङ हुन्छ ।
कथाको आकारले कतिको महत्त्व राख्छ ?
मानिस कति उचाइ र मोटाइको हुनुपर्छ ? संसारमा दुई–तीन फिटका मानिस पनि छन् । बीस–बाइस किलोका मानिस पनि छन् । तिनलाई मानिस होइनन् भन्न मिलेन त ! तिनले नै कीर्तिमान पनि राखेका छन् । सात–आठ फिट अग्ला र दुई–तीन सय किलोका मानिस पनि छन् । तिनलाई पनि मानिस होइनन् भन्न मिलेन । यो त अपवादको कुरा भयो । जसरी आम मानिसको उचाइ र मोटाइको एउटा औसत आकार छ, त्यसरी नै कथाको पनि औसत आकार छ । औसत कथा तीन–चार पृष्ठदेखि बीस–बाइस पृष्ठसम्मका हुन्छन् । यसको अर्थ यो होइन कि चालीस पृष्ठको कथा हुँदैन ।
कथालाई छोटो वा लामोको मापदण्डमा राख्न सकिन्छ ?
नेपालीमा लघुकथा, कथा र लामो कथाको परम्परा छ । लघुकथा आधा पृष्ठदेखि दुई–तीन पृष्ठसम्मका, कथा तीन–चारदेखि बीस–बाइस पृष्ठसम्मका र लामो कथा बीस–बाइसदेखि चालीस–पैँतालीस पृष्ठसम्मका लेखिएका छन् । पश्चिमतिर सर्ट स्टोरी भनेर पैँतीस–चालीस पृष्ठको सम्म मैले पढेको छु । ‘अ लेडी विद अ डग’ भन्ने चेखबको कथा नै पैँतीस पृष्ठको छ क्यारे !
मलाई चाहिँ के लाग्छ भने, यति नै आकारको भन्दा पनि कथाले कति लम्बाइ माग्छ भन्नेमा भर पर्छ । जस्तो किः नदी हुन कति लामो हुनुपर्छ भन्ने केही नियम छैन । कुनै नदी लामा छन्, कुनै छोटा छन् । हामी तिनलाई लघुनदी र दीर्घनदी भन्दैनौँ, नदी नै भन्छौँ ।
कतिपयले कथोपन्यास पनि लेखेका छन् । यो किन ?
यो एउटा प्रयोग हो । कथा र उपन्यासका तत्त्वहरू मिसाएर फ्युजन गरी लेखिएकाले कथोपन्यास भनिएको होला । नौलो प्रयोगले साहित्य समृद्ध बन्छ । अरूको जस्तै राम्रो लेख्नुभन्दा अरूको भन्दा फरक कम राम्रो लेख्नु राम्रो हो ।
प्रतियोगिताका लागि शब्द संख्यालाई मानक बनाउनु ठिक हो ?
शब्दलाई मानक बनाउनु नराम्रो होइन । कथाको एउटा मोटामोटी आकार त हुन्छ नि । मानिस २० फिट अग्लो हुँदैन नि । रूख हजार फिट अग्लो पनि हुँदैन ।
कथा लेख्न रुचि राख्नेहरूले अरूका कथाबाट कति प्रभावित वा प्रेरित हुन मिल्छ ?
प्रभावित हुनु राम्रो कुरा हो । तर, नक्कल गर्नु राम्रो कुरा होइन । प्रभावबिना त केही पनि गर्न सकिँदैन । सूर्यको प्रकाशको प्रभावले संसारमा यति धेरै सृष्टि सम्भव भएको छ । सूर्यको प्रभावले धरतीमा सूर्य होइन, सृष्टि भएको छ । प्रकाशका कारण हिउँ पग्लिएको छ, बीउ उम्रिएको छ, फूलहरू फुलेका छन्, फलहरू फलेका छन् ।
म कथामा प्रभावलाई प्रकाश मान्छु । त्यो प्रकाशले आफूभित्रको हिउँ पगाल्नु र कथाको नदी बगाउनु, तर सूर्यको प्रभावमा बत्ती बालेर नबस्नु, हावाले निभाइदिन्छ ।
कथा लेखनमा सिद्धान्त कति आवश्यक मानिन्छ ?
सिद्धान्त जानेको राम्रो तर सिद्धान्त अगाडि राखेर लेखेको नराम्रो । नदी कुन सिद्धान्तले बग्छ ? फूल कुन सिद्धान्तले फुल्छ ? त्यसैले सिद्धान्त अगाडि राखेर कथा लेखिँदैन । तर, कथा लेखेपछि समालोचकले सैद्धान्तिकृत गर्नुपर्छ । सैद्धान्तिकृति हुँदा बलियो निस्किएको कथाको आयु लामो हुन्छ ।
वादको घेरामा उत्कृष्ट कथा लेखिन्छ ?
वादले कथा जन्माउने होइन, कथाले वाद जन्माउने हो ।
कथामा प्रयोग कत्तिको जरुरी हुन्छ ? सिद्धान्तलाई पन्छाउन मिल्छ वा मिल्दैन ?
प्रयोगले कथामा नयाँ स्वाद दिन्छ । प्रयोग एउटा कथा भन्ने शैली हो । गहुँको पिठोलाई हामी कति परिकार बनाउँछौँ ? आलुलाई हामी कति परिकार बनाउँछौँ ? अझ कति नयाँनयाँ परिकार आविष्कार होलान् । त्यस्तै कथा लेखनमा पनि उही आलुलाई विभिन्न परिकार बनाउन सकिन्छ । अर्थात्, उही विषयवस्तुलाई विविध संरचना, शैली र प्रस्तुति दिन सकिन्छ, जसले नयाँ स्वाद दिन्छ । नयाँ स्वाद मस्तिष्कको जिब्रोलाई मन पर्न सक्छ ।
तपाईं बाह्रखरी कथाको दोस्रो संस्करणमा निर्णायक हुनुभयो । सैद्धान्तिक र प्रयोगका दृष्टिले प्रतियोगितामा छानिएका कथाको सबल र दुर्बल पक्ष के–के पाउनुभयो ?
यसको व्याख्या लामो हुनसक्छ । तर, छोटकरीमा भन्दा धेरैजसो कथा थिएनन्, कथाका कच्चापदार्थ थिए । सबैभन्दा सबल पक्ष विविधता थियो भने सबैभन्दा दुर्बल पक्ष शैली र भाषिक शुद्धता थियो । कमसेकम आफूले सबैभन्दा बढी जानेको या आफूले साहित्य लेख्ने भाषा शुद्ध त लेख्नुपर्ने हो । धेरैको न भाषा शुद्ध थियो न वाक्यगठन । करिब आधा दर्जन कथा भने अब्बल थिए । तर, निखार बाँकी थियो ।