काठमाडौं । नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) नेपाल टुरमा आउने भएका छन् । उनी ‘नेपाल टुर’का लागि नेपाल आउन लागेको सांगीतिक कार्यक्रम आयोजक ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनले जानकारी दिए ।
“उहाँ नेपाल टुरका लागि नेपाल आउन लाग्नु भएको हो । उहाँले आफ्नो जन्म सहर कलंकीलगायत देशका विभिन्न सहरुमा प्रस्तुति दिनुहुनेछ । हालसम्म ५/६ वटा सहरहरूको नाम निश्चित भैसकेको छ,” संस्थापक महर्जन भन्छन्, “तर सहरुको नाम थपघट भैरहेका कारण अहिले नै हामीले यतिवटा सहरमा उहाँको प्रस्तुति हुन्छ भनेर यकिन गर्न सक्दैनौं ।”
अमेरिकन आइडलपछि पहिलो पटक नेपाल आउन लागेका उनको स्वागतमा अहिलेदेखि नै कलंकीमा आकाशमा एउटा ठूलो बेलुन उडिरहेको छ । जसमा अर्थर गनको फोटोसहित ऊ घर आइरहेको छ भन्दै लेखिएको छ ।
कार्यक्रम यही भदौमा हुने जानकारी दिँदै ब्रेनसर्भिसिङका संस्थापक रिशम भन्छन्, “हाम्रो कार्यक्रम भदौको पहिलो सातादेखि सुरु हुन्छ । यसका लागि उहाँ साउनको अन्तिम साता नेपाल आउँदै हुनुहुन्छ । उहाँ केही समय नेपालमा रहनु हुनेछ ।”
पोखरेल सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका थिए । उनले आफू नेपाल आउन लागेको जानकारी आफ्नै सामाजिक सञ्जालबाट पनि दिएका छन् ।