वीरगन्ज । पर्सामा बालिकाको शवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका–७, ढोंगीखोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्थानीय १८ वर्षीया किशोरी, ४० वर्षीया आशा देवी र ५० वर्षीया उर्मिला देवी रहेका छन् ।
बुधबार बहुदरमाई–७ की १४ वर्षीया बालिकाको विष सेवनका कारण मृत्यु भएको थियो । उक्त घटनाबारे प्रहरीलाई जानकारी नदिई गोप्य रूपमा अन्त्येष्टि गर्न लागेको अवस्थामा प्रहरीले तीनैजनालाई मसानघाटबाट शवसहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा लगेर शव जलाउन लागेका तीनैजनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । रासस