गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङखण्डमा सुरुङमार्ग बनाउन अध्ययन थालिने भएको छ ।
बागलुङको काठेखोलास्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटीसम्मको सुरुङमार्ग अध्ययन गरिने भएको छ । यसका लागि संघीय सरकारले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग अध्ययनका लागि ५० लाख रुपैयाँ रकम विनियोजन गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९÷८० का निम्ति २४ नयाँ सुरुङ सम्भाव्यताका लागि नयाँ आयोजना छनोट गरेको छ । तीमध्ये मध्यपहाडी लोकमार्गको अछेते–गलकोटखण्डको सुरुङमार्ग समावेश भएको हो ।
गएको फागुनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग छलफल गरी बागलुङको अछेत–बिहुँदेखि गलकोटको नरेठाटीसम्मका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि योजनामा समावेश गरिदिन आग्रह गरेका थिए । आउँदो आर्थिक वर्षमा सम्भाव्यताको काम अगाडि बढ्ने उनले जानकारी दिइए ।
अछेते, बिहुँ घोडाँबाधे, नरेठाँटी हुँदै गलकोट पुगेको सडकमार्गमा सुरुङमार्ग बनाउँदा करिब डेढ घण्टा यात्रा छोट्टिनेछ । रासस