काठमाडौं । राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनले भक्तपुर क्यान्सर अस्पतालसँगको संयुक्त आयोजनामा ‘पाठेघर तथा स्तनसम्बन्धी जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ । बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले क्यान्सर रोकथामका लागि जनचेतना नै महत्त्वपूर्ण काम भएको उल्लेख गरे ।
उनले ‘रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम’ हुने भएकोले आफ्नो शरीरप्रति हरेकले ध्यान दिनुपर्नेमा जोड दिए । डा. पौडेलले भने, ‘पाठेघरको मुखको क्यान्सरविरुद्धको भ्याक्सिन आइसकेकोले महानगरलगायत सम्पूर्ण स्थानीय निकायहरूले त्यसतर्फ गम्भीरतापूर्वक सोची भ्याक्सिनेसनलाई प्रभावकारी रूपमा परिचालित गर्नु आजको आवश्यकता हो । त्यसो हुनसकेमा आगामी दिनमा पाठेघरको क्यान्सर तुलनात्मक रूपमा घटेर जाने विश्वास गर्न सकिन्छ ।’
डा. पौडेलले फाउन्डेसनको प्रशंसा गर्दै अस्पतालले यस किसिमका सेवा कार्यमा सहयोग गर्ने बताए । कामनपा वडा नं. ३१ का वडाध्यक्ष सरोज ढकाल सेवामूलक काममा आफ्नो सधैँ साथ रहने बताए । फाउन्डेसनका अध्यक्ष पूर्वबैंकर जनार्दन आचार्यले फाउन्डेसनले क्यान्सर अस्पतालको सहयोगमा यस वर्ष १४ वटा क्यान्सर स्कृनिङ क्याम्प र १४ वटा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
दुई वर्षअघि आफ्ना छोरा डा. राजेश आचार्यको क्यान्सरबाट निधन भएपछि क्यान्सरका क्षेत्रमा केही सेवामूलक कार्य गर्ने उद्देश्यले फाउण्डेशनको स्थापना गरिएको आचार्यले बताए । कार्यक्रममा सुरज लामिछानेले फाउण्डेसनका बारेमा बोले ।
कार्यक्रममा डा. सृष्टी प्रजापतिले स्तन क्यान्सर र पाठेघरको क्यान्सरका विषयमा स्लाइड शो गर्दै रोगका बारेमा विस्तृत जानकारी दिइन् । उनले समयमा नै थाहा पाएर उपचार गर्न सके क्यान्सर निको हुनेमा जोड दिँदै समय समयमा अस्पताल गएर स्वास्थ्य जाँच गराउन उनले उपस्थित सबैसँग आग्रह गरिन् ।