काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन भन्दै दिएको आदेशको स्वागतस्वरूप दीप प्रज्वलन गरिएको छ । टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चको अगुवाइमा दीप प्रज्वलन गरिएको हो ।
शनिबार काठमाडौंमा सर्वोच्चको पछिल्लो आदेश स्वागतयोग्य रहेको भन्दै दीप प्रज्वलन गरियो । कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरूले अघि सारेको माग र आवाज आज आएर पूरा भएको बताए ।
उनले सर्वोच्चको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको टिप्पणी गरे । विकल्प हुँदाहुँदै पनि निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजिएकामा आफूहरूले धेरै पहिलेदेखि नै विरोध जनाएको उनले उल्लेख गरे ।
उनले तत्काल सामुदायिक वन समिति बनाएर टाँगियावासीलाई वनको उपभोग गर्ने वातावरण राज्यले बनाइदिनुपर्नेमा जोड दिए ।
यस्तै, वातावरणविज्ञ बाबुराम यादवले निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल खारेज नगरेर त्यसको विकल्प खोज्न सर्वोच्चले आदेश गरेको बताए ।