काठमाडौं । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहँदा आज बिहान प्रदेश–१ का केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुनेछ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति प्रदेश–१ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।