काठमाडौं । सेयर लगानीकर्ताले बजेटलाई पर्खिंदा सेयर बजार सुस्त देखिएको छ । साताको चौथो कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से उतारचढावबीच ८.०३ अंकले वृद्धि भएर २२३९.६० अंकमा बन्द भएको छ ।
नेप्सेमा समान्य वृद्धि भए पनि कारोबार रकम भने एक अर्बभन्दा तल झरेको छ । आउँदो आइतबार नयाँ बजेट आउने हुँदा सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । अत्यावश्यकबाहेकको अवस्थामा सेयर लगानीकताले बजारमा बिक्री पनि नगर्ने र खरिदकर्ता पनि सक्रिय नहुँदा बजारमा सक्रियता देखिएको छैन ।
आज बजारमा होटेल तथा पर्यटन, विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर र अन्य उपसूचकमा गिरावट हुँदा बैंकिङ, बिमालगायत उपसूचक भने बढेका छन् ।
आज बजारमा ८८ करोड ९८ लाख रुपैयाँको कारोबार हुँदा मेगा बैंकको सर्वाधिक पाँच करोड ४२ लाखको कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावरको चार करोड चार लाखको कारोबार हुँदा नबिल बैंकको तीन करोड ५७ लाखको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९३ कम्पनीका सेयर कारोबार भएकामा १०३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७८ कम्पनीको सेयर मूल्यमा गिरावट भयो । १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज कारोबार भएकामध्ये मेगा बैंकको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । मर्जरको चर्चा चल्दा बैंकको सेयर मूल्यमा उच्च वृद्धि भएको हो । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.२० प्रतिशत र ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य ४.०३ प्रतिशतले बढेको छ ।
गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.४७ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावरको सेयर मूल्य ३.७६ प्रतिशत र रूरू हाइड्रोपावरको सेयर मूल्य ३.६१ प्रतिशतले गिरावट भएको छ ।