काठमाडौं । नेपालमा पहिलोपटक मेडिकल म्युजियम बन्ने भएको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका ऐतिहासिक उपकरण तथा अन्य सामग्रीहरू संकलन गरी नेपाल चिकित्सक संघले एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागेको हो ।
संग्रहालयका लागि सामग्री संकलनको काम भइरहेको र अबको दुई महिनाभित्रै संग्रहालयको उद्घाटन गर्ने तयारी भइरहेको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।
डा. कार्की भन्छन्–“नेपालको स्वास्थ्य क्षेत्रमा प्रयोग भएका ऐतिहासिक सामग्रीको खोजी र संकलन भएको अहिलेसम्म कतै पाइएन, हामी त्यस्ता सामग्री, फोटो आदिबाट नेपालको स्वास्थ्य सेवा विकासको इतिहास खोजिरहेका छौँ, यसले स्वास्थ्य क्षेत्रमा कार्यरत अहिलेको पुस्तालाई थप हौसला पुग्नेछ ।”
संग्रहालय नेपाल चिकित्सक संघको भवनमै रहने बताइएको छ ।