मस्को, स्टिभ रोजनबर्ग । यदि तपाईं रुसको राजधानी मस्कोदेखि आठ घन्टा लामो ड्राइभ गरेर जानुभयो भने 'रुस्सको– भिसोत्स्कोय' नामक एउटा सानो सहरमा पुग्नुहुने छ । त्यहाँ तपाईंले दोस्रो विश्व युद्धमा ध्वस्त पारिएको चर्चको भग्नावशेष र कुखुरापालन गरिएका दृश्यबाहेक खासै हेर्नेलाई केही देख्नुहुने छैन ।
तर, त्यहाँ सबैको आँखा तान्ने एउटा स्थानीय सपिङ सेन्टरमा छ । त्यो घर दिमित्री सुरिखिन नाम गरेका व्यक्तिको हो । उनले यसै भवनको अग्रभागमा गरेको एउटा काम झनै सबैका आकर्षणको केन्द्र बनेको छ ।
उनले त्यहाँ ठुलठुला अक्षरमा 'युक्रेनमा शान्ति र रुसमा स्वतन्त्रता !' लेखेका छन् । साथै चहकिलो रातो पेन्टमा उनले रुसी फौजद्वारा आक्रमण गरिएका युक्रेनी सहरहरूको सूची पनि उल्लेख गरेका छन् । उल्लेखित नाममा मारिउपोल, बुचा, खेर्सोन, चेर्निहिभ आदि रहेका छन् ।
दिमित्रीले मलाई भनेका छन्, "मेरो विचारमा सूचना प्रवाह गर्ने यो राम्रो उपाय हुनसक्थ्यो । किनभने युद्ध सुरु भएको केही सातासम्म त हाम्रा मानिसहरूलाई के भइरहेछन् भन्ने केही थाहा नै थिएन । रुसी जनताले त केही लागुऔषध दुर्व्यसनीहरूलाई युक्रेनी सरकारबाट हटाउन केही विशेष अभियान चलाइँदै गरेको सोचेका थिए । उनीहरूलाई रुसले युक्रेनी सहरहरूमा बमबारी गरिरहेको थाहा थिएन ।"
दिमित्रीले आफ्नो पसलको छानालाई रंग्याएर युक्रेनी झण्डाको पहेँलो र निलो स्वरूपमा ल्याएका छन् । अचानक पेन्टको भाँडो र ब्रस लिएर निस्केका दिमित्रीले थप नामहरू बोरोद्यान्का, ओडेसा, इर्पिन आदि लेख्न थाले । रगतजस्तो रातो पेन्ट पर्खालबाट तपतप चुहिन थालेको दृश्यले थप शक्तिशाली बयान दिइरहेको भान हुन्थ्यो ।
तर, दिमित्रीलाई आफूले गरिरहेको काम खतरारहित नरहेको सत्यता थाहा छ ।
रुसमा प्राय: सार्वजनिक विरोध गर्नेहरू कि त जेल जान्छन् कि उनीहरूले डर धम्की झेल्नुपर्ने हुन्छ । कि यी दुवै समस्या भोग्नुपर्ने हुन्छ । कसैले त उनको ढोकामा विशाल अक्षरमा 'धोकेबाज' लेखेर गइसकेका थिए । प्रहरी पनि बारम्बार उनको कामको चियो गर्न आइरहने गरेको थियो । अन्तत: उनलाई पनि रुसी फौजको छविमा आँच आउने काम गरेको अरोपमा जरिबाना तिराइसकेको छ ।
उनी भन्छन्, "म केही पनि नगरी बस्नै सक्तिन । त्यसै बस्दा म भित्र ठुलो छटपटी लाग्ने गर्दछ । तर, अहिले म जे गर्दैछु त्यो चिन्ताको उपज हो । अहिले रुसीहरू एक्लिएका छन् । यस्तो त हुनु नै थियो । यस आक्रमणका कारण हामीमाथि लामो समयसम्म कालो धब्बा लाग्ने छ ।"
क्रेमलिन राष्ट्रपति भ्लादिमिर पुटिनलाई जनताद्वारा समर्थित नेताको रूपमा प्रस्तुत गर्न चाहन्छ । सरकारी निकायले युक्रेन युद्धलाई लिएर रुसी जनताले पुटिनलाई समर्थन गर्न दबाब दिने गरेको छन् । दिमित्री भने यसलाई भ्रमको संज्ञा दिन्छन् ।
दिमित्रीको भित्तेलेखन कार्यबारे सोध्दा मैले बटुवाहरूबाट मिश्रित प्रतिक्रिया पाएँ । यसकार्यबारे दिमित्रीका विद्यालयकालका पूर्व जीवविज्ञान विषयका शिक्षिका ८७ वर्षिया मारिया निकोलाइभ्ना भन्छिन्, "कोही पनि युद्ध चाहँदैनन् । म अझै पनि दोस्रो विश्वयुद्ध सम्झन्छु । दिमित्रीसँग आफ्नो विचार पोख्ने अधिकार छ ।"
एन्तोन नामक अर्को एक युवकले आफूलाई छिमेकी मुलुक युक्रेनमा भइरहेको बमबारीलाई लिएर निकै चिन्ता लागेको बताएका छन् । तर, दिमित्रीलाई आफूले यसरी भित्तेलेखन गर्दैमा मात्र शान्ति आउँदैन भन्ने वास्तविकता थाहा छ ।
बीबीसीबाट ।