काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । शुक्रबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पुनः मतदानको माग गरिएको हो ।
नगरका विभिन्न मतदान केन्द्रमा नेकपा (एमाले)का कार्यकर्ताले आफ्ना उमेदवार र प्रतिनिधिहरूलाई आक्रमण गरेको तथा बुथ कब्जा गरी फर्जी मत हालेको कांग्रेसको दाबी छ । उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
‘भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेका तर्फबाट सो नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जाजस्तो अलोकतान्त्रिक कार्यको पार्टीले भर्त्सना गरेको’ छ ।
विज्ञप्तिमार्फत कांग्रेसले निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, विभिन्न राजनीतिक दलका उमेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कर्फ्यु) जारी गर्नुपरेको घटनाप्रति दुःख प्रकट गरेको छ ।
“बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजीनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरू बुझ्न बाध्य पारिएकोले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निस्पक्ष निर्वाचन हुन नसकेको स्पष्ट हुन आउछ,” विज्ञप्तिले लेखिएको छ, “निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घटनामा संलग्नउपर कानुनबमोजिम कडा कारबाहीको माग गर्दै नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोगसमक्ष अनुरोध गर्दछ ।”