काठमाडौं । भोजपुरका ९ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले अघिल्लो निर्वाचनको तुलनामा एक/एक पालिका गुमाएका छन् ।
नेकपा (माओवादी केन्द्र)ले थप एक पालिका जितेको छ । एक पालिकामा स्वतन्त्र उमेदवार विजयी भएका छन् । यसअघि, आमचोक गाउँपालिका जितेको माओवादी केन्द्रले यसपटक रामप्रसाद राई गाउँपालिका आफ्नो हातमा लियो ।
अघिल्लो चुनावमा कांग्रेस र एमालेले चार/चार पालिका जितेका थिए । ०७४ को निर्वाचनमा कांग्रेस भोजपुर र षडानन्द नगरपालिका तथा अरूण र साल्पासिलिछो गाउँपालिकामा विजयी भएको थियो । यस्तै, एमालेले टेम्केमैयुम, पौवादुङमा, रामप्रसाद राई र हतुवागढी गाउँपालिका नेतृत्व गर्ने अवसर पाएको थियो ।
टेम्केमैयुम कांग्रेसलाई र रामप्रसाद राई माओवादी केन्द्रलाई सुम्पिएको एमालेले षडानन्द भने कांग्रेसबाट खोस्यो ।
कांग्रेसले पनि यसअघि नेतृत्व गरेको साल्पासिलिछो जोगाउन सकेन । त्यहाँ स्वतन्त्र उमेदवार दौलथ कुमार कुलुङ (राई) निर्वाचित भए । १,८१४ मत प्राप्त गरेका कुलुङले कांग्रेसका महेश राईलाई पराजित गरे । राइले १,७८६ प्राप्त गरे ।
रामप्रसाद राई गाउँपालिकामा माओवादीका थामबहादुर राईले एमालेका बल राम राईलाई पराजित गरे । थामबहादुरले ३,०७७ मत प्राप्त गर्दा बल रामले २,८५१ मत लिए ।
अरूण गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम खत्रीले २,८८७ मत प्राप्त गर्दै २,४२४ मत प्राप्त गरेका एमालेका नारायण प्रसाद घिमिरेलाई पराजित गरे ।
आमचोक गाउँपालिकामा माओवादी केन्द्रका अशोक राई दोहोरिए । उनले एमालेका वसन्त राईलाई ४२८ मतले हराए । अशोकले ३,६८६ मत प्राप्त गर्दा वसन्तले ३,२५८ मत पाए ।
टेम्केमैयुङ गाउँपालिकामा कांग्रेसका सरोज बस्नेतले एमालेका ध्रुवराज राईलाई हराए । बस्नेतले ३,९८० मत पाउँदा ध्रुवराजले ३,२५५ मत पाए ।
पौवादुङमा गाउँपालिकामा २,४९९ मत पाएका एमालेका किरण राईले १,६८८ मत पाएका माओवादी केन्द्रका नगेन्द्रबहादुर भुजेललाई पराजित गरे ।
भोजपुर नगरपालिकामा कांग्रेसले विरासत जोगायो । त्यहाँ कांग्रेसका कैलाशकुमार आलेले ५,६१५ मत पाउँदा एमालेका भरत कुमार तामाङले ५,१०० मत पाए ।
षडानन्द नगरपालिकामा एमालेले कांग्रेसका विरासत भत्कायो । एमालेका सुरेन्द्रकुमार उदासले ६,७७२ मतसहित निर्वाचित हुँदा कांग्रेसका बीरबल राई ५,७५७ मतमा सीमित भए ।
हतुवागढी गाउँपालिकामा यसपालि पनि एमाले विजयी भयो । एमालेका प्रेम कुमार राईले ४,०४२ मत पाएर विजयी हुँदा कांग्रेसका गजेन्द्र कार्कीले ३,३५३ मत पाए ।