काठमाडौं । यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आइरहेको छ । मंगलबार बिहान करिब ८ बजेसम्म ७५३ मध्ये २२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस ८८ गाउँपालिकाका अध्यक्ष र एउटा नगरपालिकाको प्रमुखसहित १०६ पालिकाका नेतृत्वमा विजयी भएको छ ।
नेकपा (एमाले) दोस्रो स्थानमा छ । ५७ गाउँपालिकाका अध्यक्ष र ६ नगर प्रमुखसहित ६३ पालिकाको नेतृत्वमा एमाले उमेदवार निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र) ४४ गाउँपालिकाका अध्यक्ष र चार नगर प्रमुखसहित ४८ पालिकाका नेतृत्वमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
चार गाउँपालिकाका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उमेदवार निर्वाचित भएका छन् । ६ वटा पालिकामा अन्य पार्टीका उमेदवार निर्वाचित भएका छन् ।
यस्तै, भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका उमदेवार विजयी भएका छन् । एउटा नगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।
उपप्रमुख/उपाध्यक्ष
उपप्रमुख र उपाध्यक्षमा पनि कांग्रेसको नै अग्रता छ । १४ उपप्रमुख र ९० उपाध्यक्षसहित १०४ पालिकाका नेतृत्वमा कांग्रेस उमेदवार निर्वाचित भएका छन् ।
आठ उपप्रमुख र ५५ उपाध्यक्षसहित एमालेका ६३ उमेदवार निर्वाचित भएका छन् । माओवादी केन्द्रका उमेदवार पाँच उपप्रमुख र ४२ उपाध्यक्षसहित ४७ स्थानीय तहमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
दुई नगरपालिकाका उपप्रमुख र ६ गाउँपालिकाका उपाध्यक्षमा एकीकृत समाजवादीका उमेदवार निर्वाचित भएका छन् ।
यस्तै, एक उपप्रमुखमा नेपाल मजदुर किसान पार्टीका उमेदवार निर्वाचित भएका छन् । ६ वटा पालिकाको उपाध्यक्षमा अन्य उमेदवार निर्वाचित भएका छन् ।