पोखरा । पार्टीको नीतिप्रति असहमति जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा ‘बागी’ उमेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।
कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उमेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उमेदवारी निष्क्रिय भएको बताएका छन् ।
“साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उमेदवारलाई सघाउने निर्णय लिएको छु,” प्रेस विज्ञप्तिमा उनले भनेका छ्, “मेरो उमेदवारी आजैदेखि निष्क्रिय भएको छ ।”
यसैबीच, नेपाली कांग्रेस कास्कीले पनि नेता विमलबहादुर कार्कीलाई धन्यबाद ज्ञापन गरेको छ । पार्टीभित्र असन्तुष्टि भए पनि आन्तरिक रुपमा मिलाउने र गठबन्धनका उमेदवारलाई जिताउने गरी कार्कीले उमेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको कांग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताए ।
“बिमलबहादुर कार्कीज्यूले पार्टीलाई सघाउने काम गर्नुभएको छ । र, यो उदाहरणीय काम पनि हो,”’ कास्की कांग्रेस सभापति बरालले भने ।
गठबन्धनको साझा उमेदवारलाई बागी उमेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की कांग्रेसले बताएको छ । पोखरा १४ स्थानीय घर भएका कांग्रेस नेता कार्कीले गठबन्धनका उमेदवारलाई सघाउने भएपछि पोखरा महानगरको निर्वाचन जित्न गठबन्धनलाई अझै बढी सजिलो भएको नेपाली कांग्रेस कास्कीको बुझाई छ ।