काठमाडौं । स्थानीय तह निर्वाचन आउन चार दिन मात्र बाँकी छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् । आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् ।
मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।
मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
“पहिले बाँडिसकेको मतदाता परिचपत्र हुनेले सोही परिचयपत्रबाट मतदान गर्ने हो,” उनले भने ।
हराए वा नष्ट भएकाको हकमा के हुन्छ ?
निर्वाचन आयोगले गत फागुन ५–२० गतेसम्म परिचयपत्र नष्ट भएको वा हराएको भए वडा कार्यालयको सिफारिसमा प्रदेश वा जिल्ला निर्वाचन कार्यलयमा निवेदन दिन मतदातालाई आग्रह गरेको थियो । आयोगले दिएको समयमा निवेदन दिएका त्यस्ता मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपि पाउने प्रवक्ता शर्माले जानकारी दिए ।
“परिचयपत्र हराएकाका हकमा प्रतिलिपि लिनका लागि निवेदन दिने म्याद दिइएको थियो । निवेदन दिनुभएको छ भने प्रतिलिपि आउनेछ । सोही प्रतिलिपि वितरण हुनेछ,” उनले बाह्रखरीसँग भने ।
निवेदन नदिएका र मतदाता परिचपत्र नभएका हकमा के गर्ने भन्ने निर्णय भइसकेको छैन ।
अघिल्लो निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि नागरिकतालगायत परिचयपत्रबाट मतदान गर्न पाइने व्यवस्था गरिएको थियो ।
“अघिल्लो निर्वाचनमा मतदाता नामावलीमा नाम भएकाहरूलाई नागरिकतालगायत परिचयपत्रबाट भोट हाल्न दिइएको थियो । तर, अहिले कुनै निर्णय भइसकेको छैन । अन्तिमतिर कुनै निर्णय हुन्छ,” आयोगका एक पदाधिकारीले भने ।
नयाँ मतदातालाई २८ र २९ गते परिचयपत्र बाँडिने
योपटक ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातालाई वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने उनले जानकारी दिए ।
“थपिएका मतदातको हकमा वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण हुनेछ,” उनले भने ।
मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्नेछन् । मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ ।