काठमाडौं । ‘उपलब्धि आख्यान दिवस–२०७९’ को अवसर पारेर उपलब्धि साहित्य उपसमितिले ‘उपलब्धि आख्यान दिवस सम्मान–२०७९’ घोषणा गरेको छ । उपसमितिले सो साहित्य सम्मान आख्यानकार मञ्जु काँचुलीलाई प्रदान गर्ने भएकोे हो ।
सोही कार्यक्रममा ‘दीप–गोविन्द स्मृति कोष’बाट प्रदान गरिने सम्मान तथा पुरस्कारको घोषणा पनि गरिएको छ । आख्यानकार डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित उक्त कोषले ‘दीप–गोविन्द स्मृति सम्मान–२०७८’ विशिष्ट आख्यानकार परशु प्रधानलाई प्रदान गरिने निर्णय गरेको हो ।
त्यस्तै, कोषले ‘ध.च. गोतामे स्मृति सम्मान–२०७८’ ‘अनन्त यात्रा’ उपन्यासका लागि सुमन वर्षालाई, ‘गोपाल गोतामे स्मृति सम्मान–२०७८’ सिर्जनशील पत्रकारिताका लागि सन्त गाहा मगरलाई र ‘ध.च. गोतामे/गोपाल गोतामे शिक्षा पुरस्कार–२०७८’ जेहेन्दार विद्यार्थी श्रीया श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।
घोषणा गरिएका सम्मान तथा पुरस्कार उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस, २०७९ साउन ७ गतेका दिन प्रदान गरिने बताइएको छ ।