काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चारवटा हिमालको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सञ्चालित “सफा हिमाल अभियान २०२२” मा खटिएका सेना तथा सेवा प्रदायकका टोली वेश क्याम्प पुगेका छन् ।
सफाइ अभियान अन्तर्गत सगरमाथा÷ल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएका टोली ८ गते र मनास्लुमा खटिएका टोली ९ गते आधार शिविरमा पुगेका हुन् । आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरेपछि स्थानीय संस्कार अनुसारको पूजाआजा सम्पन्न गरेका छन् । वेश क्याम्प पुगेपछि उक्त टोलीहरुले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन् ।
हिमाल सफाईमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीहरुसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य जेठ २२ गतेसम्म सञ्चालन गर्नेछन् ।