जनकपुरधाम । मधेस प्रदेशका थप एक सांसदले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका हुन् ।
सांसद कुशवाहा सर्लाहीको निर्वाचन क्षेत्र ४ (ख)बाट निर्वाचित भएका हुन् । उनले गोडैता नगरपालिकाको प्रमुखमा लड्न राजीनामा दिएका हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा २२८ मत अन्तरले मेयरमा पराजित भएका थिए ।
आफूलाई जनताले मेयरको रूपमा हेर्न चाहेकाले सांसदबाट राजीनामा दिएर उमेदवारी दिएको उनले बताए ।
यसअघि रौतहटका प्रदेशसभा सदस्य शेष अबुल कलाम आजाद(फुलबाबु) ले राजीनामा दिएर गढीमाई नगरपालिकाको मेयरमा उमेदवारी दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)का सांसद दिलीप साहले पनि राजीनामा दिने तयारी गरेका छन् । उनी पार्टीबाट टिकटको पर्खाइमा छन् ।